धुर्मुस सुन्तलीद्वारा निर्माण हुनलागेको मुसहर बस्ती 'मह'ले शिलन्यास गर्ने

प्रकाशित मिति : २०७३ पौष २५ सोमबार , ३,०३० पटक हेरिएको
फाईल तस्विर ।
बर्दिवास। हास्य कलाकारद्वय धुर्मुस(सीताराम कट्टेल र सुन्तली कुञ्जना घिमिरे) महोत्तरीको बर्दिवासमा सम्मानित हुनुभएको छ । 
 
धुर्मुस–सुन्तली आबद्ध धुर्मुस सुन्तली फाउन्डेसनले बर्दिवास–२ को मुसहर बस्तीलाई सडक, बिजुली, खानेपानी र सरसफाइको पूर्वाधारसहितको एकीकृत नमुना बस्ती रु चार करोड ७८ लाखको लागतमा निर्माण गर्ने भएको छ । बस्तीका ५० परिवार मुसहरका लागि निर्माण हुने यी पूर्वाधारसहितका पक्की घर निर्माण कार्यको आज दिउँसो हास्य कलाकारकै अर्को जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह जोडी)ले शिलान्यास गर्ने कार्यक्रम रहेको छ । 
 
बर्दिवास–२ को मुसहर जातिको बसोबास रहेको दलित बस्तीलाई नमुना बस्ती बनाउन जुट्नु भएका हास्यकलाकारद्वय लाई बर्दिवास नगरपालिकाले आइतबार आफ्नो तेस्रो नगर परिषद्को अवसरमा सम्मानित गरेको हो । 
 
कार्यक्रममा पूर्वमन्त्री तथा महोत्तरी–१ का सांसद गिरिराजमणि पोखरेल र राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले हास्यकलाकारद्वयलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्दै सम्मानित गर्नुभएको थियो । 
 
मानवीय करुणा र सामाजिक सद्भावका क्षेत्रमा निरन्तर लागि पर्नुभएका धुर्मुस र सुन्तलीले चरम गरिबी र अशिक्षाको भूमरीमा रुमल्लिएका मुसहरको उत्थानका लागि थाल्नुभएको प्रयत्नको कदरको सम्मान गर्दै सम्मानित गरिएको बर्दिवास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्कीले बताउनुभयो । सामाजिक सेवाको क्षेत्रमा क्रियाशील यो जोडीलाई बर्दिवास नपाले मायाको चिनो पनि प्रदान गरेको थियो । 
 
हास्यकलाकारद्वय धुर्मुस र सुन्तलीले आफ्नो बस्तीका दलित समुदायका मुसहरका लागि नमुना बस्ती निर्माणको थालनी गरेर हिमाल, पहाड र तराईबीच सद्भाव वृद्धिमा योगदान गर्नुभएको बर्दिवासबासी बताउँछन् । चरम गरिबीले पिल्सिएका मुसहरको उत्थानका लागि मानवता र सद्भावको मूलमन्त्र बनाएर पहाडबाट तराईको बर्दिवास झर्नुभएका धुर्मुस सुन्तलीलाई मन, वचन र कर्मले साथ दिने कार्यक्रममा बर्दिवासबासीले सामूहिक उद्घोष गरेका थिए । 
 
कार्यक्रममा हास्य कलाकार धुर्मुसले एकीकृत मुसहर नमुना बस्ती निर्माणमा बर्दिवासबासीले देखाउनुभएको आत्मियता र सहयोगले आफूहरुलाई थप ऊर्जा प्राप्त भएको बताउनुभयो । “हामी तपाइँहरुसँगै सिमेन्ट, बालुवा, गिट्टी, इँटा बोक्छौँ, अराइपराइ र रेडिमेट भाषणले अब मुलुक बन्दैन” धुर्मुसले भन्नुभयो–, “हामी सबैले हातमा हात र काँधमा काँध जोडेर अघि बढे मात्रै मुलुक बन्छ ।” रासस 
नयाँ