स्वस्थानी व्रत सुरु हुदै , यस्तो छ स्वस्थानी माधवनारायण व्रतको महत्व

पवन लाल श्रेष्ठ प्रकाशित मिति : २०७३ पौष २५ सोमबार , ४,४८८ पटक हेरिएको
काठमाडौं । स्वस्थानी माधवनारायण व्रत अन्तर्गत महत्वपूर्ण चाडहरुको वर्णन तल गरिएको छ । यस दिन सम्पूर्ण व्रत बस्न इच्छुक महानुभावहरुले सफा सुग्घर भएर चोखिईसकेपछि चिभ्वय् (नुन भएको भोज) खाईसकेपछि ज्योतिर्लिङ्गेश्वर परिसरको राजकूलोमा नुहाएर साल्खाटोलस्थित ब्रम्हपुर (बलंपुली जहाँ ११ महिनासम्ममाधवनारायणको बास हुन्छ) मा गएर मूल पूजारी बाजेबाट जल ग्रहण गरिसकेपछि व्रत सुभारम्भ भएको मानिनेछ । व्रत सुभारम्भ भएपछि व्रतालुहरुले जे छुन हुन्छ जे खान हुन्छ त्यही चीजको मात्र उपभोग गर्नुपर्दछ । व्रत नियमको पूर्ण रुपमा पालना गर्नुपर्दछ । यस दिन साँवा गण, व्रत नाईके (कजी) र देवता बोक्ने एकै लहरमा बसेर कजीको घरमा भोजन गर्दछन् । पुरुष व्रतालुहरुले कपाल खौरेर नुहाईसकेपछि मात्रै चिभ्वय् ग्रहण गर्नुपर्दछ । साँवागण, कजी र देवता बोक्नेले कजीको घरमै शंखद्वारा जल ग्रहण गर्दछन् । यसपछि उनीहरुलाई पनि व्रतसम्बन्धी सम्पूर्ण नियम लागू हुन्छ ।
 
छ्यालापुन्हि पर्व : यस दिन व्रतको पहिलो दिन हो । प्रथम दिनलाई छ्यालापुन्हि अर्थात् पुराना माटाका भाँडाकुँडाहरु फालेर नयाँ फेर्ने दिनका रुपमा नेवार समुदायले मान्ने पर्व । यस दिन माधवनारायण साँखु साल्खाटोलमा पुग्नासाथ साल्खाटोलमा राखिएका पुराना भाँडाकुँडाहरु फुटाल्दछन् । त्यसैगरी माधवनारायण नगर परिक्रमा गराउँदा साँखु नगरका आठवटै टोलका टोलगणेश नजिकै माधवनारायण रोकेर शंख बजाउनासाथ पुराना भाँडाकुँडाहरु फुटाल्ने गरिन्छ ।
 
दुंदनेगु (अष्टाङ्ग दण्डवत गर्दै हिँड्ने) अर्थात् शरीरले भ्याएसम्मको भाग नाप्दै जानेः दुंदनेगु भनेर पुरुष व्रतालुहरुमध्ये साँवागण बाहेक सबैले सधैँ माधवनारायण, पीठ देवता स्थानसम्म सधैँ विहान माधवनारायणसँग नुहाईसकेपछि माधवनारायणको मूर्ति र पीठ देवतासम्म खोलाको किनारबाट दुदनेगु गरेरै देवी देवताको दर्शन गर्नुपर्दछ यसक्रममा देवताको दर्शन गर्दा उठेर नभई अष्टाङ्ग दण्डवतकै अवस्थामा गर्नुपर्दछ । त्यसैगरी शनिबार भीमसेन स्थानसम्म र श्रीपञ्चमी एवं बिहीबार सरस्वतीस्थानसम्म यस कार्यलाई निरन्तरता दिनुपर्दछ । तर यस व्रतका क्रममा माघ कृष्ण त्रयोदशीका दिन शालिनदी किनारबाट बज्रयोगिनी मन्दिर परिसरको बाहिरको मूल ढोका सम्म र भोलिपल्ट बज्रयोगिनी मन्दिर परिसर दुंदनेगु कार्य गरेरै पुरुष व्रतालुहरुले परिक्रमा गर्नुपर्दछ । जुन व्रतालुहरुले यस कार्यलाई निरन्तरता दिन सक्दैन वा कुनै एकजना सहस्रधारा बोक्नेलाई यस कार्यबाट अलग गरिन्छ उसले चतुर्दशीको दिन शालिनदी तिरमा अवस्थित बासुकी नागस्थानबाट सहस्रधारा बोकेरै बज्रयोगिनी स्थान पुगी बज्रयोगिनी मन्दिर परिसर घुमेर त्यहाँ रहेको बासुकी नागमा अन्तिम सहस्रधारा जल सेचन गराईसकेपछि मात्रै अन्य व्रतालुहरुलाई सोही सहस्रधारा दिएर पालैपालो जल सेचन गर्ने गरिन्छ । एकजना व्रतालुले त्रयोदशीको दिन साँखु नगरपरिक्रमा गर्दा सहस्रधारा उसले मात्रै बोक्ने हुँदा महिला व्रतालुहरुले पालैपालो सहस्रधारामा जलसेचन गर्दछन् । यस दुंदनेगु कार्यबाट आफ्नो जन्मदाता आमाको सहस्रधारा दूध खाएको ऋणबाट मुक्त हुने जनबिश्वास रहेको छ । यस वर्ष तीन जोडी मात्रै पुरुष व्रतालुहरु भएको सन्दर्भमा यस दुंदनेगु कार्यमा कजीले समेत भाग लिएमा पनि ६ जना भन्दा बढ्ता हुनेछैन । तर यस दुंदनेगु कार्यको लागि सहस्रधारा बोक्ने व्रतालु नगएपछि गुल्टेर व्रत बस्ने व्रतालुहरु भने अनिवार्यरुपमा जानै पर्ने हुन्छ ।
 
श्रीपञ्चमी पर्वः यस दिन सम्पूर्ण व्रतालुहरुले विशेष रुपमा सरस्वतीको समेतपूजा आराधना गर्दछन् । श्रीपञ्चमीको अघिल्लो दिन व्रतालुहरु पनौतिबाट साँखु आईपुग्दछन् ।
 
लगला सप्तमी पर्वः यस दिन साँखुबासी सबैले बिहानै आफ्नो परिवारसंख्या अनुसार नरिवलको बोक्रा वा टपरीमा दिप बाली पैसा चढाएर शालिनदीमा बगाउँछन् । उक्त कार्यले आफ्नो घर परिवारमा आउने अनिष्ट टर्दछ भन्ने जनविश्वास रहेको छ । यस दिन माधवनारायणको विशेष जात्रा भएको कारण गत वर्ष व्रत बसेका पुरुष व्रतालुहरु र कोही कोही महिला व्रतालुहरु समेत थप एक दिन व्रत बस्न आउँदछन् । यस दिन थप व्रत बस्दा गत वर्ष आफूले बसेको व्रतको पूर्ण फल मिल्ने बिश्वास गरिन्छ । साथै यस दिनको थप व्रतले पूर्व व्रतालुहरुलाई पुनर्मिलन पनि गराउँदछ । ती थप व्रत वस्न आउने व्रतालुहरुले माधवनारायणको स्नान गराउनु अगाडि साँवागणबाट शंख जलसेचन गरि व्रत आरम्भ गर्दछन् । यिनीहरुले पनि अघिल्लो दिन जसरी नियमित व्रतालुहरुले चिभ्वय्को दिन जुन जुन कार्य गर्दछन्, यी व्रतालुहरुले समेत सोही कार्य
गर्नुपर्ने हुन्छ । यस दिन बिहानको नियमित व्रत पूजा सकिएपछि माधवनारायणको मूर्तिलाई चाँदीको आसनमा राखेर साँखु बजारको साल्खाटोलमा ल्याईन्छ । त्यसपछि सबै पुरुष व्रतालुहरु फेट्टा (कपडाको पगरी) धोतीमात्रै लगाएर नगर परिक्रमा गर्दछन् । यसक्रममा यस दिन कजी र देवता बोक्नेले समेत सहस्रधारा बोकेर नगरपरिक्रमा गर्नुपर्दछ । यस दिन गुल्टेर ब्रत बस्ने व्रतालुहरुले गुल्टेरै नगर परिक्रमा गर्नुपर्दछ । यदि विरामी भएमा उनीहरुलाई स्टेचरमा राखेर भएपछि घुमाईन्छ । गुल्टेर व्रत बस्ने व्रतालु नगरपरिक्रमा नसकिएसम्म उठ्न पाउँदैनन् ।
आरामको लागि बस्न भने सकिन्छ । यस दिन थप व्रत बस्न आउने व्रतालुहरुले समेत यो नियमलाई पालना गर्नुपर्दछ । सहस्रधारा बोक्ने व्रतालुहरुले पनि नगरपरिक्रमाका क्रममा सहस्रधारा नगरपरिक्रमा नसकिएसम्म आफ्नो शीरबाट निकाल्न पाउँदैनन् । यसदिन माधवनारायणलाई बजार परिक्रमा गराउँदा देवता बोक्नेले बोकेर हैन रथमा सवार गराएर बाजागाजा र भजन किर्तनसाथ नगर परिक्रमा गराईन्छ । माधवनारायणको विशेष जात्रा हुने भएकोले यस दिन सम्पूर्ण महिला व्रतालुहरुले सकेसम्म राम्रो लुगा लगाएर अप्सराजस्तै सजिएर आउँदछन् । तर कुनै पनि व्रतालुहरुले मेकअपका सामान क्रीम पाउडर लगाउन पाउने छैनन् । जुरो बनाउने, जडिभएको लुगा लगाउने आदि मात्रै गर्न पाउँछन् । सहस्रधारामा समेत यस दिन फूल एवं कागज वा प्लास्टिकका मालाले सजाएर ल्याईएको हुन्छ । स्वस्थानी माधवनारायण व्रत अन्तर्गत महत्वपूर्ण चाडहरुको वर्णन तल गरिएको छ ।
 
लगला सप्तमी पछिको पर्व यस प्रकार रहेको छ ।
द्रोण नवमी पर्व : यस दिन सम्पूर्ण व्रतालुहरुलाई गुठी संस्थानको रोहबरमा सरकारी तसमी (खीर भोजन) खुवाउने चलन रहेको छ । यस कार्यको लागि तसमी खुवाउन मूल पूजारी बाहेकका अन्य उपाध्याय ब्राम्हणहरुले व्रतालुहरुलाई तसमी, केराउको दाल, पालुङ्गोको साग आदि खुवाउने गरिन्छ । यस दिन व्रतपूजा सकिएपछि बेलुका यस तसमी भोजनका क्रममा व्रतालुहरु लहरै खोला छेउमा पराल ओछ्याएर बस्दछन् र उनीहरुलाई पातमा तसमी राखेर खुवाईन्छ । कजी, देवता बोक्ने एवं साँवागण भने धलंपुली सँगैको बासुकी नागको छेउमा बसेर तसमी भोजन गर्दछन् । यस क्रममा भोजन अगाडि सबै व्रतालुहरुलाई साँवागणले शंख जल सेचन गराईन्छ । त्यसपछि कजी र कजीनीले भोजनको सुरुवात गरिसकेपछि मात्रै अन्य व्रतालुहरुले भोजन गर्दछन् ।
 
एकादशी पर्व यस दिन दुई पटक व्रत पूजा गरिने चलन रहेको छ । पहिलो व्रत पूजा मूल पूरोहितले गराउँदछन् भने दोस्रो व्रत पूजा कजीले गराउँदछन् । दोस्रोपटक माधवनारायणको स्नान गर्नु अगाडि महिला व्रतालुहरुले कमेरो माटोले नुहाउन पाउँदछ। यस दिन बाहेक कुनै पनि दिन सादा पानीले बाहेक अन्य कुनै पनि वस्तु लिएर नुहाउन पाउने छैनन् । यस दिन दोस्रो पटक व्रतपूजा सकिएपछि घरमा गएर फलफूल भोजन गर्दछन् । जसमा तरुल, पिँडालु, सुन्तला, रातो मूला, केराउ, लप्सी आदिको भोजन गर्दछन् । दूध भने यस दिन पनि खान सकिन्छ । तर यस दिन अन्न भोजन गर्न वर्जित छ। यस दिनको दोस्रो पटकको व्रत पूजा साँवागण र कजीले सञ्चालन गर्दछन् । तर देवता परदेश लैजाने क्रममा पनौतीमा समेत साँवा नाईके र कजीले व्रत पूजा सञ्चालन गर्दछन् । एकादशीको दिन फलफूल भोजन गरिसकेपछि चाँगुनारायणको लागि प्रस्थान गर्दछन् । चाँगुनारायणस्थानमा पुगेर व्रतालुहरुले भजन किर्तन गरिसकेपछि व्रतालुहरुमध्ये जस जसलाई इच्छा लाग्दछ उनीहरुले चाँगुनारायण मन्दिर परिसरमा गुल्टेर परिक्रमा गर्दछन् । जहाँ परिक्रमा गर्दा पुरुष, महिला जोसुकैले पनि गुल्टेरै परिक्रमा गर्न पाउँछन् । तर व्रतालुहरुले एकले अर्कोलाई खुट्टाले भने छुनु हुँदैन ।
 
व्रत साङ्गे पर्व (अश्वमेघ जज्ञ) : यस दिन व्रत पूजाको अन्तिम दिन भएकोले कागले ननाघेको जल लिएर आईसकेपछि मात्रै माधवनारायणको स्नान गराईन्छ । बिहानको पूजा साँवागण र कजीले गर्दछन् भने रातिको पूजा मूल पुरोहित सहित ७ जना जोशी पुजारीसमेतको उपस्थितिमा अश्वमेघ जज्ञ गराईन्छ । यस क्रममा माधवनारायणलाई ईही (बेलविवाह), कय्तापूजा (व्रतबन्ध) र बाह्रा तय्गु (गुफा राख्ने) कार्य समेत गरिन्छ । होममा व्रतालुहरुले आफूले लगाएको घीउले भिजाएको कपडा (सर्ट, रुमाल आदि) होम गर्दछन् र त्यस होम गरेको कपडाको खरानीको कालो टिका बनाई लगाउने चलन छ । यही कालो टिका अन्य आफना् साथी संगी ईष्टमित्रलाई प्रसाद दिँदा समेत लगाईदिने गरिन्छ । यही कपडा होम गर्ने समयमा साँवागण कजी र देवता बोक्ने पुरुष व्रतालुहरु एक महिना सुत्ने एवं भजन गर्न प्रयोग गर्ने धलंपुली गएर विशेष पूजा
गर्न जान्छन् । यत्तिबेला देखि नै साँवागणले भने चुरोट सल्काउन पाउने प्रचलन रहेको छ । त्यहाँ विशेष पूजा गरि कालो टिका लगाईसकेपछि त्यसरी चुरोट फुकेको मानिन्छ । अन्य व्रतालुहरुको हकमा भने यो नियम लागू हुँदैन । यसरी कपडा जलाउने होम कार्य सकिनासाथ माधवनारायण, मूल पुरोहित बाजे र कजीलाई पुरुष व्रतालुहरुले कलश गोम्प चढाउँछन् भने महिला व्रतालुहरुले माधवनारायण, मूल पुरोहित बाजे र कजीनीलाई कलश गोम्प चढाउँछन् । यसरी कजी÷कजीनी र मूल पुरोहितलाई एक महिना अवधिभर व्रत पूजा कार्य सम्पन्न गरेकोमा धन्यवादस्वरुप यसरी कलश गोम्प चढाउने कार्य गरिएको मानिन्छ । यसरी चढाउनेमा साँवागणले समेत कलश चढाउनै पर्ने प्रचलन छ । अन्य दिन भने साँवागणले प्रसाद चढाउने हैन चढाएको प्रसाद आफूले ग्रहण गर्दछन् अर्थात् उनीहरु माधवनारायणका सेवक भएको कारण उनीहरुले व्रत पूजा अवधिभरको बाहेक माधवनारायणलाई चढाएको दान दक्षिणा, फलफूल जेसुकै भएपनि साँवागणले आफूमा बाँडेर लिन्छन् । यस दिन व्रत साङ्गे पूजा सकिँदा कुखुरा बासेमा भोजन वर्जित छ ।
 
मित लाउने पर्व : व्रत साङ्गेको दिन व्रतालुहरुमध्ये कसैलाई मित लगाउन मन परेमा आफूलाई मिल्ने साथिसँग मित लाउने कार्य गर्दछन् । यसको लागि व्रतालुहरुले एक आपसमा कलश साटासाट गर्ने गर्दछन् । यस दिन मित लाउँदा शुभ मानिन्छ ।
 
मिगाः पूजा पर्व : यस दिन व्रतालुहरु बिहान ज्योतिर्लिङ्गेश्वर परिसरमा जम्मा भई कजी, साँवागण सहित सम्पूर्ण व्रतालुहरुले राजकूलोमा नुहाएर हरेशिव शंकर भजन गाउँदै ज्योतिर्लिङ्गेश्वर परिसर परिक्रमा गरि चलाखुटोलको अजिद्यःसम्म पुगेर भजन बिसर्जन गरिन्छ । त्यसपछि व्रतालुहरु बसेको स्थानको टोल गणेश पूजा गरिसकेपछि आ–आफ्नो मिगाः÷अजिंगा (महिला व्रतालुहरुको लागि मिगाः र पुरुष व्रतालुहरुको लागि अजिंगा जुन अजिंगाःमा व्रत अवधिभर आगो निभ्न दिनुहुँदैन । यदि कुनै पनि दिन आगो निभेमा बज्रयोगिनी स्थानको धुनीबाट आगोको बीउ ल्याएर मात्रै आगो जलाउनुपर्ने नियम रहेको छ । मिगाः पूजा सकिएपछि व्रतालुहरुको व्रत फुकुवा भएको मानिनेछ । यस पूजाका क्रममा आफ्नो मिगाःमा अण्डा पकाएर खाने र त्यही प्रसाद स्वरुप नुन भएको खानेकुरा खाने चलन रहेको छ । यस दिन व्रतालुहरुको
परिवारजन नै शालिनदी परिसर पुगी भोजन गर्ने चलन रहेको छ । तर कजी÷कजीनी, देवता बोक्ने र साँवागणले भने पीठ देवता र गणेश पूजा गर्दछन् । साथै उनीहरुले धलंपुलीको मिगाः पनि पूजा गर्दछन् भने कजीनीले व्रत पूजा गर्ने परिसरको कजीगाःमा पूजा गर्दछन् । यस दिन साँवागणमध्ये दुईजना चावहिल गणेशस्थानमा गएर गणेश पूजा गरेर आउने चलन छ । यसैले यस पूजालाई गणेश पूजा पनि भनिन्छ । यस दिन साँवागण र कजी÷कजीनी, देवता बोक्ने सबै लहरै बसेर भोजन गर्दछन् । माथि उल्लेखित विषयबारे नबुझेमा वा आफूलाई विस्तृत जानकारी चाहिएमा मूल पुरोहित, साँवागण र कजि (व्रत नाईके)सँग सोधपूछ गर्नुपर्नेछ ।
 
श्री स्वस्थानी माधवनारायण व्रतका प्रमुख दिनहरु
चिभ्वय् नयेगु २०७३ पौष २७ गते
व्रत सुरु २०७३ पौष २८ गते
शालिनदीबाट – बज्रयोगिनी ढोकासम्म दुंदनेगु (अष्टाङ्ग दण्डवत गर्दै जाने (माघ १२ गते)
परदेश यात्राका दिनहरु :
साँखुबाट बज्रयोगिनी र पशुपति – माघकृष्ण चतुर्दशी (माघ १३ गते)
पशुपतिबाट फर्पिङ्ग – (माघ १४ गते)
फर्पिङ्गबाट साँखु – (माघ १५ गते)
साँखुबाट पनौति – (माघ १७ गते)
पनौतिबाट साँखु – (माघ १८ गते)
श्री पञ्चमी शालिनदी परिसरबाट सरस्वती स्थानसम्म दुंदनेगु (अष्टाङ्ग दण्डवत गर्दै जाने) (माघ १९ गते)
लगला सप्तमी सम्पूर्ण व्रतालुहरु झकिझकाउ भई माधवनारायण जात्रामा सहभागी हुने पुरुष व्रतालुहरुमध्ये गुल्टिने व्रतालुले गुल्टिँदै नगर परिक्रमा गर्ने, सहस्रधारा बोक्ने व्रतालुले सँगसँगै सहस्रधारा बोक्दै नगर परिक्रमा गर्ने महिला व्रतालुहरुले सहस्रधारामा जल चढाउँदै नगर परिक्रमा गर्ने (नगरका १०८ स्थानमा जल चढाउने)
एकादशी– यस दिन दुईपटक व्रत पूजा हुने । दोस्रो पटक माधवनारायण सँग नुहाउनु अगाडि महिला व्रतालुहरुले भित्ता रंगाउने कमेरो माटोले नुहाउन मिल्ने त्यस पछि फलाहार गरी साँखुबाट चाँगुनारायण स्थान प्रस्थान – (माघ २५ गते)
चाँगु बाट साँखु – (माघ २६ गते)
भीमसेन द्वादशी (माघ २७ गते) साँखु बजारमा भीमसेनको जात्रा हुने
३३ कोटी देवतालाई अश्वमेघ यज्ञमा निमन्त्रणा गरिने २०७३ माघ २७ गते
व्रत साङ्गे २०७३ माघ २८ गते
मिगाः पूजा २०७३ माघ २९ गते (व्रतालुहरुले माघ गाउने)
शिवरात्रि २०७३ फाल्गुण १३ गते (व्रतालुहरु जाग्राम बस्ने दिन)
 
स्वस्थानी माधवनारायण व्रतका केही नियमहरु
चिभ्वय् नयेगु २०७३ पौष २७ गते
व्रत सुरु २०७३ पौष २८ गते
सनातनदेखि चलिआएको यस व्रतका नियमहरु यसप्रकार छन्–
१. सम्पूर्ण व्रतालुको हकमा छुन नहुने विषयहरुः
  •  नुन, माछा, मासु, मरमसला (नाम समेत लिन नहुने)
  • अन्य पशुपंक्षी तथा जनावरहरु (नाम समेत लिन नहुने)
  • जुत्ता, मोजा, मगन्तेहरु, रजस्वला भएकी महिला ।
  • जुत्ता, चप्पल लगाएका कोहीपनि मान्छेसँग भेटघाट गर्दा नछोईकन कुराकानी गर्ने।
  • दुध र पानी बाहेक अन्य कुनै किसिमका पेय पदार्थ सेवन गर्न नहुने ।
२. सम्पूर्ण व्रतालुको हकमा भोजन गर्न हुने वस्तुहरु
  • दुध, चामलको भात, घ्यु, चाकु, चिनी, चिउरा, केराउ, सुन्तला, लप्सी, उखु,अदुवा, रातो मुला र पाटने पालुङ्गो । भिमा एकादशीको दिनमा दुई पटक व्रत वसिसकेपछि त्यो एक दिन फलाहार गर्ने (फलफूल मात्र खाने– सुन्तला, उखु, तरुल,पिँडालु तथा दुध मात्र ।
३. सम्पूर्ण व्रतालुहरुले भोजन छोड्नुपर्ने अवस्था
  • भोजनमा कपाल, जौ, तिल, कोदो, मकै, गहुँ, भटमास तथा अन्य भोजन गर्न बर्जित गरिएका वस्तुहरु आएमा भोजन छोड्नुपर्दछ । यस्तो अवस्थाको लागि पहिल्यै चिउरा, चाकु, घ्यु आदि नजिकै आफूले भ्याउने ठाउँमा राख्ने र अर्कै थालमा बसेको स्थानबाट नउठीकन लिएर खान सकिने छ ।
  • फाटेको दुध सेवन गर्नु हुँदैन ।
  • भोजन गर्दागर्दै बीचमा उठ्नु हुँदैन । यदि उठेमा सँगै छोएर भोजन गरिरहेका अन्य व्यक्तिले समेत भोजन छोड्नुपर्ने हुन्छ र उठिसकेपछि फेरि भोजन गर्नु हुँदैन ।
  • भोजन पकाउँदा र भोजन गर्दा व्रत नबसेका मानिसहरुले नछुने ठाउँमा बस्ने ।
४. दैनिक व्रत बसिसकेपछि शंखरापुर (साँखु) नगर परिक्रमा गर्ने क्रममा सहस्रधारामा जलसेचन गरिसकेपछि मात्र फेरि चोखो पानी ल्याएर भोजन तयार पारी भोजन गर्ने र सोही दिन भोजन पश्चात् जुठो भाँडा माझ्नुपर्ने ।
५. व्रतालुहरुले केही गर्न नहुने तथा बार्न नहुने विषयहरुः
  •  गाडी चढ्न नहुने, विरामी भएमा औषधी सेवन गर्न नहुने ।
  • आफन्तको जुठो, सुतक बार्न नहुने ।
  •  साबुन तथा अन्य कुनै पनि वस्तुहरु छुन तथा प्रयोग गरि नुहाई धुवाई गर्न नहुने।
  • गोल तथा अन्य दन्तमञ्जनहरु प्रयोग गर्न नहुने ।
  • सम्पूर्ण व्रतालुहरुले उपरखुट्टी लगाएर बस्न नहुने साथै मेचमा र खाटमा बस्न नहुने ।
  • व्रतालुहरुले खुट्टामा लगाउने कुनै पनि गहना लगाउन नहुने ।
६. खीर (तस्मी) भोजन खुवाउने दिनमा सम्पूर्ण व्रतालुहरुले घरमा भोजन गर्न नहुने र सो दिन आफ्नो घरमा चुल्हो समेत बाल्न नहुने । तस्मी खान साँवा गणबाट शंख बजाउँदै आएपछि मात्र शालिनदी परिसरमा जाने । शालिनदीमा तस्मी भोजन गर्ने दिन आफूलाई आवश्यक दुध तताउनु परेमा मकलमा गोलको सहायताले तताएर थर्मस वा भाँडामा राखेर लान सकिन्छ । तर बाटोमा कसैलाई पनि छुन दिनु हुँदैन । घरमा तस्मी भोजन वर्जित छ । माघ शुक्ल नवमीका दिन तस्मी भोजन गराउने परम्परा रही आएको छ । यस पछाडि अन्य भक्तजनहरुले समेत तस्मी भोजन गराउन सक्छन् यसको लागि साँवागण र मूल पुरोहित बाजेसँग सरसल्लाह गर्नुपर्नेछ ।
 
७. परदेश यात्रामा सबै व्रतालुहरु जम्मा भईसकेपछि साँवा गणबाट श्री माधवनारायणको शंख जल सेचन पछि मात्र भोजन गर्नुपर्ने । परदेशमा भोजन गर्ने स्थानहरुःपशुपतिबाट फर्पिङ्ग जाँदा सानो गौचरणमा । फर्पिङ्गबाट साँखु आउँदा शंखमूलमा । पनौतीबाट साँखु आउँदा भोखुसीमा र चाँगुबाट साँखु आउँदा साँखुमा । (परदेश यात्रामा चिउरा, सुन्तला, चाकु, घ्यु, चिनी, लप्सी, रातो मुला, अदुवा आदि आफैले व्यवस्था गरेर लानुपर्नेछ । साथै दुधको लागि पनि नजिकका आफन्तले निराहार बसी दुध पकाएर लगिदिएमा खान हुनेछ ।
शालिनदीबाट – बज्रयोगिनी ढोकासम्म दुंदनेगु (अष्टाङ्ग दण्डवत गर्दै जाने (माघ १२ गते)
 
परदेश यात्राका दिनहरु
साँखुबाट बज्रयोगिनी र पशुपति – माघकृष्ण चतुर्दशी (माघ १३ गते)
पशुपतिबाट फर्पिङ्ग – (माघ १४ गते)
फर्पिङ्गबाट साँखु – (माघ १५ गते)
साँखुबाट पनौति – (माघ १७ गते)
पनौतिबाट साँखु – (माघ १८ गते)
श्री पञ्चमी शालिनदी परिसरबाट सरस्वती स्थानसम्म दुंदनेगु (अष्टाङ्ग दण्डवत गर्दै जाने (माघ १९ गते)
 
लगला सप्तमी सम्पूर्ण व्रतालुहरु झकिझकाउ भई माधवनारायण जात्रामा सहभागी हुने । पुरुष व्रतालुहरुमध्ये गुल्टिने व्रतालुले गुल्टिँदै नगर परिक्रमा गर्ने, सहस्रधारा बोक्ने व्रतालुले सँगसँगै सहस्रधारा बोक्दै नगर परिक्रमा गर्ने महिला व्रतालुहरुले सहस्रधारामा जल चढाउँदै नगर परिक्रमा गर्ने (नगरका १०८ स्थानमा जल चढाउने)
एकादशी– यस दिन दुईपटक व्रत पूजा हुने । दोस्रो पटक माधवनारायण सँग नुहाउनु अगाडि महिला व्रतालुहरुले भित्ता रंगाउने कमेरो माटोले नुहाउन मिल्ने त्यस पछिफलाहार गरी साँखुबाट चाँगुनारायण स्थान प्रस्थान – (माघ २५ गते)
चाँगु बाट साँखु – (माघ २६ गते)
भीमसेन द्वादशी (माघ २७ गते) साँखु बजारमा भीमसेनको जात्रा हुने
८. स्त्री व्रतालुहरुले पालना गर्नुपर्ने नियमहरु
  • स्त्री व्रतालुहरुले बिहान शंखध्वजपछि शालिनदी जानुपर्दछ, साथै पूजाको सामान (धलंपिच्चा) सहित रातो टिका (धलंपटा), रातो ओढ्ने र रातै वस्त्र धारण गर्नुपर्नेछ ।
  • रजस्वला भएकी महिला व्रतालुहरुले अरु व्रतालुहरुलाई छुन हुँदैन साथै पूजा सामग्री समेत छुन हुँदैन । तर माधवनारायण देवताको स्नान गराउने समयमा छुट्टै स्थानमा बसी अन्य व्रतालुहरुसँगै स्नान गर्ने र व्रत पूजा गर्दा समेत छुट्टै स्थानमा बसेर आफ्नो पछ्यौरामा भगवान सम्झी पूजा गरि नदिमा लगेर सेलाउनु पर्दछ ।
  • रजस्वला भएकी महिला व्रतालुहरुले चौँथो दिन घरमा नुहाएर शालिनदी जाने । शालिनदीमा पुनः नुहाईवरि धलंपुली बाहिर गई साँवागणबाट जलसेचन गरिसकेपछि मात्र शुद्ध हुने परम्परा रही आएको छ । त्यसअघि व्रतपूजा गर्ने जगटीभित्र पस्न निषेध गरिएको छ
  • कुनै पनि महिला व्रतालु वा अन्य व्यक्तिहरु (पुरुष व्रतालु बाहेक) धलंपुलीभित्र पस्न निषेध गरिएको छ ।
  •  रजस्वला भएकी महिला व्रतालुहरुले भोजन गरिसकेका अन्य व्रतालुहरुसँग छोईछिटो भएमा छोईएका अन्य व्रतालुले समेत भोलि बिहन छुट्टै नुहाईवरि साँवागणसँग जल नलिएसम्म अन्य व्रतालुहरुसँग छुट्टै बस्नुपर्दछ । पुरुष व्रतालुहरुको हकमा भने धलंपुली बाहिरै सुत्नुपर्नेछ ।
९. पुरुष व्रतालुहरुले पालना गर्नुपर्ने नियमहरुः
  •  पुरुष व्रतालुहरुले कुनै पनि किसिमका रातो टिका तथा रातो वस्त्र लगाउन पाउने छैनन् ।
  • नित्य पूजा गर्न अगाडि सम्पूर्ण पुरुष व्रतालुहरुले चन्दनको टिका लगाएको हुनुपर्नेछ । ३३ कोटी देवतालाई अश्वमेघ यज्ञमा निमन्त्रणा गरिने २०७३ माघ २७ गते व्रत साङ्गे २०७३ माघ २८ गते मिगाः पूजा २०७३ माघ २९ गते (व्रतालुहरुले माघ गाउने) शिवरात्रि २०७३ फाल्गुण १३ गते (व्रतालुहरु जाग्राम बस्ने दिन) माथि उल्लेखित नियमहरु बाहेकका कुनै समस्या आएमा वा आफूलाई विस्तृत जानकारी चाहिएमा मूल पुरोहित, साँवागण र कजि (व्रत नाईकेसँग सोधपूछ गर्नुपर्नेछ ।
परापूर्वकालदेखि चल्दै आएको एवं भगवान विष्णुको आदेशमा माता पार्वतीको आज्ञा अनुसार तीनलोकमा नै स्वस्थानी माताको व्रत बसाल्न स्वर्गलोकमा नारद ऋषि र मत्र्यलोकमा सप्तर्षी एवं पाताललोकमा अस्वस्थामा ऋषिलाई पार्वती माताले पठाउनु भएको थियो । किंवदन्ती एवं पुराणको अनुसरण गर्दै अहिलेसम्म पनि यो स्वस्थानी माताको व्रत बस्ने परम्परा चलिआएको छ । सोही अनुरुप भगवान विष्णुको स्वरुप श्री माधवनारायणको प्रतिमालाई साक्षी राखि यो व्रत प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म निरन्तर रुपमा चल्दै आईरहेको छ । यस वर्ष पनि स्वस्थानी व्रत वस्न आउने सम्पूर्ण व्रतालुहरुलाई स्वागत गर्दै सनातनकालदेखि चलिरहेको यस व्रतका नियमहरुलाई अनिवार्यरुपमा पालना गरि स्वस्थानी माताको कृपा पात्र बन्नुहुनेछ भनि आशा गरेका छौँ ।
 
स्वस्थानी माधवनारायण व्रत साङ्गेका दिन चाहिने सामग्रीहरु
सनातनदेखि चलिआएको यस व्रतको साङगेका दिन व्रतालुहरुले व्रत साङ्गे पूजाको लागि निम्न लिखित सामानहरुको व्यवस्था गर्नुपर्नेछ । नियमहरु यसप्रकार छन्–
  • ताय् (धानको लावा)
  • आखे १०८ (केलाएको चामल)
  • जाकी (अक्षता)
  • ईता (दीप बत्ती)
  • क्वखं मगागु लः (कागले ननाघेको जल)
  • पञ्चरङ्गी ईता (पञ्चरङ्गी दीप)
  • जजंकाः (देवतालाई लगाईदिने डोरो)
  • ईता १०८ (दीप बत्ती १०८)
  •  जजंकाः १०८ (डोरो १०८)
  • पलेस्वां (कमलको फूल)
  • उफोस्वां (नीलकमलको फूल)
  • धन स्वां –धन फूल(कन्दर्भ)
  • कपु स्वां (कर्पुर पाती)
  • गुण केरा स्वां (गुणकेशरी फूल)
  • द्वाफो स्वां (वेली फूल) १०८
  • चाँदीको द्वाफो स्वां (फूल)
  • सि स्वां (सुनाखरीको फूल)
  • सिन्हं स्वां (नारायण पाती)
  • जाई स्वां (जाईको फूल)
  • ताः स्वां (१०८ प्रकारको फूल)
  • अन्य सक्ने जत्ति विभिन्न प्रकारको फूल
  • फलफूल विभिन्न किसिमको
  •  वयर
  • सेती वयर
  • खाईसी (तिते अमिलो)
  • नैक्या (नरिवल)
  • लकस (पानी अमला)
  • गुतः (दुवो)
  • अम्ब (अमला)
  • जत्ता नैक्या (जत्ताधारी नरिवल)
  • चिःग्वगु ग्वँय् (सानो सुपारी) ८
  • तःग्वगु ग्यँय् (ठूलो सुपारी)– १
  • विवाहितको महिलाको लागि मात्र) १०८ टुक्रा सुपारी, पान १०८, 
  • वस्त्र १ (होम गर्न लुगाफाटो घीउमा भिजाएर ल्याउने) , पञ्च पलाः (पञ्च पल्लव),
  • कलं पका (कपडाको ध्वजा)
  • सा दुरु (गाईको दूध)
  • सा च्वः (गाईको गहुँत)
  • गोवर ल्हातय् फयातःगु (गोबर भुइँमा नझर्दै हातमै थापेको)
  • बेल पत्र
  • पञ्चरङ्गी मरी (पञ्चरङ्गी रोटी)
  • तुलसी पत्र
  • सिदा भाग –५
  •  निस्ला भाग –५
  • पूजा क्वतः (पूजा थाली)
  • सिन्हँ म्हू (फुसे्र सिन्दूर सहितको गजुर भएको भाँडो)
  • त्वादेवा (पानस)
  • घण्टी (गं चा)
  • पञ्चरङ्गी धागो (पसुकाः)
  • पञ्चरङ्गी मोटो धागो (ग्वयँकाः)
  • कलेगोम्प (माटोको कलश) कजी÷कजिनी÷पूरोहित बाजे र माधवनारायणलाई चढाउनै पर्ने साथै आफ्नो परिवारजन ईष्टमित्रलाई फूल प्रसाद बाँड्नुपर्ने हुन्छ आवश्यकता अनुसार कलशको व्यवस्था गर्ने । यही कलश साटफेर गरि मीत लाउन प्रयोग गरिने
  • तिइ पँ (निगालो) (कपडा राखेर झण्डा बनाउन प्रयोग गरिने) कलस सरह
  • काकचा पु (सल्लाको बियाँ) (कलस सरह)
  • सेता कपडा बाला (कलस सरह)
  • अत्तर बनाई भोगटेमा राखेर लैजाने
  • सलिंचा आवश्यकता अनुसार
  • सुकुन्दा गणेश सहितको
  • पञ्चरङ्गी ईता (पञ्चरङ्गी दीप)
स्वस्थानी माधवनारायण व्रत बारे केही जानकारी
माधवनारायण मूल पूजारीः सुदन राज राजोपाध्याय
हिन्दू शास्त्र एवं किम्वदन्ति अनुसार भगवान विष्णु स्वयंले माता पार्वतीलाई स्वस्थानी माताको व्रत बस्ने विधी ज्ञानोपदेश दिनुभयो र स्वयं नारायणले पूर्ण ज्ञान, व्रत कथा र व्रत साङ्ग्गे पनि गुरु स्वरुप भई माता पार्वतीको स्वस्थानी व्रत पूर्ण गरिदिनुभयो । माता पार्वतीले स्वस्थानी (अष्टमातृका, त्रिदेवी, लक्ष्मी, सरस्वती, गायत्री, शक्ति) माताको व्रत फलस्वरुप श्री महादेव स्वामी पाईन् र गुरु नारायणको आशिर्वादमा कैलाश पाईन् । सोही अनुरुप अहिलेसम्म गुरु श्रीश्रीश्री माधवनारायण भगवानलाई साक्षी राखि यो व्रत निरन्तररुपमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यस साँखु शालिनदीमा माधवनारायणको व्रत गर्दै आएको हो । 
 
भगवान विष्णुको आदेशमा माता पार्वतीको आज्ञा अनुसार तीनलोकमा नै स्वस्थानी माताको व्रत बसाल्न स्वर्गलोकमा नारद ऋषि र मत्र्यलोकमा सप्तर्षी एवं पाताललोकमा अस्वस्थामा ऋषिलाई पार्वती माताले पठाउनु भएको थियो । किंवदन्ती एवं पुराणको अनुसरण गर्दै अहिलेसम्म पनि यो स्वस्थानी माताको व्रत बस्ने परम्परा चलिआएको छ । सोही अनुरुप भगवान विष्णुको स्वरुप श्री माधवनारायणको प्रतिमालाई साक्षी राखि यो व्रत प्रत्येक वर्ष पौष शुकल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म निरन्तर रुपमा चल्दै आईरहेको छ । यहाँ माधवनारायणको नाम कसरी रहन गयो भन्ने कुरामा ध्यान दिनु जरुरी छ । भगवान नारायण (माधव नारायण)को १२ महिनामा १२ वटै नामबाट पूजा गर्नुपर्छ । शक्ति स्वरुपा माता लक्ष्मीको नाम पनि महिना अनुसार फरक फरकै हुन्छ । जुन तल उल्लेख गरिएको छ–
१) बैशाखमा मधुसुदन नारायण र घृति लक्ष्मी हुन्छ ।
२) जेष्ठमा त्रिविक्रम नारायण र इच्छा लक्ष्मी हुन्छ ।
३) आषाढमा वामन नारायण र महिमा लक्ष्मी हुन्छ ।
४) श्रावणमा श्रीधर नारायण र रति लक्ष्मी हुन्छ ।
५) भाद्रमा ऋषिकेश नारायण र माया लक्ष्मी हुन्छ ।
६) असोजमा पद्मनाभ नारायण र धिमा लक्ष्मी हुन्छ ।
७) कार्तिकमा दामोदर नारायण र महिमा लक्ष्मी हुन्छ ।
८) मंसिर महिनामा केशव नारायण र श्री लक्ष्मी हुन्छ ।
९) पौष महिनामा नारायण र वागिश्वरी लक्ष्मी हुन्छ ।
१०) माघ महिनामा माधव नारायण र कान्ति लक्ष्मी हुन्छ ।
११) फाल्गुणमा महिनामा गोविन्द नारायण र क्रिया लक्ष्मी हुन्छ ।
१२) चैत्रमा विष्णु र शान्ति लक्ष्मी हुन्छ ।
 
साथै पुरुषोत्तम महिनामा नारायणको नाम पुरुषोत्तम र लक्ष्मी माताको नाम श्री लक्ष्मी रहन्छ । माघ महिनामा नारायणको नाम माधव हुने भएकोले माधवनारायणको पूजा गर्ने चलन चलेको हो । तर यस व्रतमा स्वस्थानीको मात्र पूजा नगरि स्वयं भगवान माधवनारायणको व्रत, पूजा, उपासना गरिन्छ । यसको तात्पर्य गुरु ब्रम्हा, गुरु बिष्णु, गुरु देवो महेश्वर, गुरु साक्षात् परमब्रम्ह तस्मै श्री गुरुवे नमः हुन जान्छ । यो व्रत अन्य व्रत जस्तो सरल नभई कठिन अवश्य छ । तर स्वस्थानीको व्रतले आफ्नो मनोकांक्षा अवश्य पूरा हुन्छ ।
 
४०९ वर्ष अगाडिको स्वस्थानी कथा परिचय
प्रकाशमान श्रेष्ठ सक्व
त्यत्तिबेला हालको जस्तो ठूलो र भद्दा स्वस्थानी कथा थिएन । कथाका पुस्तकहरु पनि हालका जस्तै छ्यास्छ्यास्ती पाइँदैनथे । छाप्ने मेशिनको आविष्कार नै नभएको बेलामा स्वस्थानी ब्रत बस्ने व्यक्तिहरुले आफ्ना पण्डित अथवा अक्षर लेख्न जान्नेलाई पुस्तक तयार गर्न लगाउँदथे । त्यसकारण कथा र कथाका मूलपात्रहरुको नाम र स्थान विशेष पनि फरक फरक पर्दथे । हाल जस्तो स्कन्द पुराणको केदार खण्डे माघ महात्मे नभएर लिङ्ग पुराण भनि व्याख्या गर्दथे । त्यस्तै सृष्टी एवम् चौध भुवनको कथा, दक्षप्रजापति र उसका छोरीहरुको कथा, सतीदेवी र शिवको विवाह, अग्नि प्रवेश, पार्वती जन्म तथा तारकासुर र जालन्धरका कथा जस्ता देवासुर संग्रामका वर्णन पनि हुँदैनथे । त्यसबेलाका मूलकथा मात्र शिवभक्त नामको ब्राम्हण र ब्राम्हणीले गाईको गोबरबाट जन्मेको छोरी गोमा र गोमाको विवाह असी वर्षको ब्राम्हणसँग भई नवराज पुत्र
जन्मेको कथा वर्णन गरिएको पाइन्छ । नवराज राजा भई नवराजको ब्राम्हणीले स्वस्थानी व्रत प्रसादलाई लात्ताले हानी अपमान गरेको पापले नदिमा बाह्र वर्ष पुरेर बस्न पुग्छिन् भने अर्को बाह्र वर्ष खोलाको किनारमा कुष्ठरोगले थला परेर बस्छिन् भन्ने कुराको ब्याख्या गरिएका छन् । कालान्तरमा नवराजले आफ्नो राज्यमा सत्तल बनाई प्रतिष्ठा कर्म गर्ने अवसरमा ब्राम्हण भोजनको निमन्त्रणामा आएका कपिलदेव ब्राम्हणको उपदेशबाट स्वस्थानी व्रतको उपासना गर्दा पुनर्जीवन प्राप्त गरेको, नवराजसँगै राज्याभिषेक गरि वर्ष वर्षमा नवराज र उसकी ब्राम्हणीले सदा सर्वदा त्यस धर्म व्रत बस्दा भए पनि व्याख्यान गरिएका छन् ।
 
पुरानो उक्त हस्तलिखित स्वस्थानी कथाको सुरुवात स्कन्द कुमारले आज्ञा गरेको नभई स्वयं शिवजीले पार्वतीको आग्रहमा स्वस्थानी कथा भनेको भनी उल्लेख गरिएका छन् । हेरौँ चारसय नौ(४०९) वर्ष अगाडि लेखिएको स्वस्थानी कथा प्रसंग स्वस्थानी व्रत नियमावली कसरी वर्णन गरिएका छन् । ऊँ नमः ।। शुद्ध स्पटिकं संकासं त्रिनेत्रं ध्यानलुपिनं ।। प्रणम्य शिलसा पृच्छत् पाव्र्वती पलमेश्वलं ।। यसरी पार्वतीले एकदिन श्री महादेव आराधना गरी शीर झुकाई नम्र भई नमस्कार गरि सोधिन्– हे महादेव, तपाइँ सर्वज्ञ, भूत, भविष्य, वर्तमान सम्पूर्ण ज्ञान भएको
चन्द्रमा शीरमा राखि शोभायमान भएका तपाइँलाई थाहा नभएको कुरा त्रैलोक्यमा केही पनि छैन । त्यसकारण त्रैलोक्यमा दुर्लभ व्रत केही भए त्यसको आदेश दिनु पर्यो‍ । हे प्रभो, तपाइँले गोप्य गरि राखेको त्यस्तो व्रतको बारेमा प्रकाश पार्नु हवस् ।। भगवानुवाच, साधु साधु ।। हे पार्वती ! तिमीले जतनगरी सुन, यस उत्तम व्रतको अनेक अर्थ, फल प्राप्त हुने यो व्रतको बारेमा अरुलाई जानकारी नै गराएको छैन, जुन तिमीले स्नेहपूर्वक व्रत गरेकी थिईन् । यो स्त्रीजनहरु मिलेर गर्ने स्वस्थानी सम्पूर्ण व्रतहरुको राजव्रत हो । माघ शुक्ल चतुद्र्दश्यां नारीभिब्व्रतमाचरेत ।।
स्वस्थानी परमेशीन्यां नवराज प्रकिर्तितं ।। 
 
माघ शुक्ल चतुर्दशीको प्रातःकालमा स्नानगरि विधीपूर्वक सेता वस्त्र धारण गर्ने । एक भक्त पालना गर्ने, पञ्च इन्द्रीय स्थिर गरी रात्रिमा जमिनमै पराल ओछ्याएर सुत्ने । पूर्णिमाको ब्रम्हमूहूर्त बेलामा उठेर विधीपूर्वक स्नान गरी सम्पूर्ण सामग्री जम्मा गर्ने । नालिभिम्र्मण्डल कृत्वा पुष्प धुप फलण्वितं ।। दीप ताम्बुल नैवेद्ये तता धन्तु प्रपादये ।। स्त्रीजन सबै जम्मा भई व्रत बस्ने स्थानमा गाईको गोबरले लिपेर मण्डलाकारमा बस्ने । व्रत सुरु गर्ने फूल, धुप, फलफूल, दीप, पान, नैवेद्य, अर्घ दिने सामान सहित तयार गरि धर्म शुरु गने ।। हे पार्वती, यो व्रतमा अरु देवताको धम्र्म शुरु गर्ने होईन । तिम्रो र मेरो प्रतिमा भए प्रतिमा मूर्ति अगाडि व्रत सुरु गर्ने, नभए मण्डल बनाएर यो धर्म व्रत गर्ने । एक सय आठ थरिका फूलहरु जम्मा गर्नुपर्दछ, सकेन भने आठ प्रकारका फूलहरु जम्मा गर्ने, त्यही प्रमाण अनुसार फलफूल, हरियो भिजाएको केराऊ आदि सामान सक्दो सरजाम तयार गर्नुपर्छ । तिमी र म शिव पार्वतीको श्रद्धापूर्वक प्रदक्षिणा गरी ब्राम्हण भोजन गराई दक्षिणा दिनुपर्दछ । भक्तिपूर्वक जगदीश्वरी पूजा गरी यो ब्याख्यान कथा सुन्ने । रोटी पकाउने विधी यस प्रकार छन्– गहुँको पीठोको अक्षत् रोटी पकाउन तीलको धुलो, सखर मिसाएर घ्युमा पकाएर एकसय आठवटा रोटी परमेश्वरीमा भक्ति भावनापूर्वक निवेदन गरि चढाउने । यो रोटी चढाउन निवेदन गरेपछि धम्र्मध्यान गर्ने, मन र कर्मले वाचाले तीन प्रकारको ध्यानले परमेश्वरी स्मरण गर्ने । व्रतको विचार गरी श्रद्धापूर्वक धर्मव्रत सुरु गर्ने, पढेर, ध्यान गरेर, सोचेर, तीनप्रकारले श्लोक साधना गरी परमेश्वरीको मूर्ति ध्यान गर्ने । शुद्ध सुवर्ण वर्णकी कमलको फूलको पात जस्ता तीन वटा आँखाहरु भएकी शोभाएमान भई सिंह वाहन, अनेक अलंकारलेयुक्त चारवटा हातमा नील उत्पल, अभरबर, खडग, चमर दायाँबायाँ लिएकी यस्तो मूर्ति स्वस्थानीको स्मरण गर्ने । त्यस्तै शिवको मूर्ति यस्तो छ, साँढे मुख्य वाहण, चार हात र त्रिनेत्र बराबर दुवैको शिव शक्ति स्वरुप मूर्तिहरु ध्यान गर्नुपर्दछ । यसरी व्रत बस्नेले ध्यान गर्ने, अर्घ दिने, मूलमन्त्र जप गर्ने, स्तोत्र पाठ गरी बिसर्जन कार्य गरि मण्डलमा चढाएको सम्पूर्ण वस्तुहरु नदीमा बगाउने कार्य गर्नुपर्दछ ।  पकाएका रोटीमध्ये आठवटालाई सेतो कपडामा राखि धागोले बेरेर पोको पार्ने । स्त्रीजनहरुले आफ्ना स्वामीलाई दिनको लागि राम्रो सगुन कपडाले छोपी पूजा गर्ने । यो रोटीहरु आफ्ना स्वामीलाई समर्पण गरी चढाउने, वीर्यवान स्वामी नभए छोरालाई दिने, छोरा नभएमा मीत छोरालाई दिने, मीत छोरा नभएमा आफ्ना गोष्ठी ईष्टमित्र जनमध्येलाई दिने, आफ्ना गोष्ठी ईष्टमित्र नभएमा नदीमा बगाईदिने ।। आठवटापछि बाँकी एकसय वटा आफैले प्रसाद लिई खाने रातभरि जाग्राम बस्ने, भोलिको
प्रातःकालमा स्नान पूजा गरि नमस्कार गरि व्रत बिसर्जन गर्ने । व्रत विधी यस प्रकार गर्नुपर्दछ– हे पार्वती देवी, यस व्रतको फल संख्या मैले मात्र पनि वर्णन गर्न सक्दिनँ । अनेक फल दिने यस स्वस्थानी व्रतको प्रभावले धर्म, अर्थ, मोक्ष, परमगति प्राप्त हुन्छ निश्चय । यो व्रत वर्ष वर्षमा बसेमा अक्षय पूण्य प्राप्त हुन्छ । यस स्वस्थानी व्रतको फल सामान्य होइन । एकसय गोदान गरेको पूण्य हुन्छ । एकहजार अलंकारयुक्त गाईदान गरेको पूण्य हुन्छ । अन्नदान, कोटानकोटी दान पूण्य प्राप्त हुन्छ । बस्त्र दान, रत्न दान, सुवर्ण दान, तील दान, जमिन दानको फल प्राप्त हुन्छ । त्यस्तै अश्वमेघ यज्ञ, राजसुय यज्ञ आदि कल्पकल्प गरेको यज्ञको पूण्य फल सम्पूर्ण स्वस्थानी व्रत गर्नेले प्राप्त गर्दछ निश्चय ।। यो समस्त व्रतको पनि शिरोमणी व्रत हो । विशेष स्त्रीजनलाई यस स्वस्थानीदेवीको व्रत बस्नाले माथि उल्लेख गरेका सु–फलहरु प्राप्त हुन्छन् । एक मन, एकचित्त गर्नुपर्दछ । काम, क्रोध, लोभ र मोह त्याग गरि व्रत बस्नाले सम्पूर्ण फल प्राप्त हुने निश्चय छ सन्देह नलिनु भनि श्री महारुद्रजीले पार्वतीदेवीलाई आदेश दिनुभयो । पुनर्वार पार्वतीदेवीले सोध्नुभयो, हे ईश्वर– यस व्रतको कथा सुन्न साहै्र मन लाग्यो, सर्वप्रथम यस व्रतको प्रकाश कसले गरे ? सर्वप्रथम यसको व्रत कसले गरे ? त्यो सम्पूर्ण कुरा भन्नको लागि म अनुरोध गर्दछु । साथै मैले त्यस कथा सुन्न योग्य भएकी भए विस्तारपूर्वक आदेश प्रसन्न हवस् भनी पार्वतीले सोधिन् । श्री भगवान महारुद्रजीले यस स्वस्थानी व्रतको कथा विस्तारपूर्वक आदेश गर्नुभयो । हे पार्वती– परापूर्वकालमा ब्राम्हपूरी भन्ने बगरमा शिवभक्त नामको ब्राम्हण षटकर्मले संयुक्त भई बसेका थिए । त्यो ब्राम्हण अनेक शास्त्रार्थले पूर्ण भई धेरै ज्ञानको जानकारी भएका थिए । उसकी स्त्री पतिव्रता सती थिइन् । यी स्त्री पुरुष धनसम्पत्ति अनेकले सम्पूर्ण भई गंगाको तीरमा बास गरि बसेका थिए । पूर्वजन्मको विपाक कर्मको प्रभावले तिनीहरुको सन्तान भने थिएन । दुःखी भई गंगाको तीरमा बसिरहँदा यौटी गाई आएर उनीहरु नजिकै आएर गोब्यार्इ‍न् । त्यो देखी दुवै आश्चर्य मानी हेरिरहे । त्यस पछि गोबरबाट यौटी कन्या प्रकट भईन्, अति लक्षणलेयुक्त देखि आफ्नो भाग्यले पाएको भन्ठानी कन्या लिएर घर लगी जातकर्मादी गरि गोमा भनि नामाकरण गरि पाली राखे । त्यो कन्या चन्द्रमाको कला बढेसरी ठूलो भई शील स्वभाव समेत बढेको देखेर स्वर्गको इन्द्रलाईनै त्रास बढ्यो । त्यसपछि इन्द्रले शिवजीसँग प्रार्थना गरेको कथा वर्णन गरिएको छ । उक्त कथामा शिवभक्तको धर्मदान देखेर इन्द्र तर्सेको, शिवजीको श्रापले गोमाको असी वर्षे बुढो शिवशर्मासँग विवाह भएको, नवराज पुत्र पाएको, परदेश गएको, शिवशर्माको मृत्यु संस्कार गरेको, दुःखी गोमाले आशव ऋषिको उपदेशले स्वस्थानी व्रत बसेको, नवराज छोरोसँग पुनर्मिलन भएको, आठवटा अक्षत रोटी प्रसाद नवराजलाई दिएको, स्वस्थानी खुसी भई राजा हुने वरदान दिएको, नवराजकी ब्राम्हणीले स्वस्थानीको निन्दागरी प्रसाद कुल्चेको, नदिमा खसेको, चौबीस वर्षसम्म कुष्ठरोगी भएको, कपील व्राम्हण भेटेको र स्वस्थानी व्रतको आदेश दिएको, व्राम्हणीले पुनर्जीवन पाएको तथा नवराजसँग पुनर्मिलन भई सुखसँग दिन बिताएको, यसरी विस्तारपूर्वक पार्वतीलाई श्री महादेवजीले आदेश दिनुभयो ।
 
हे पार्वती– त्यस्तो स्वस्थानी व्रत महिमा जानी जस्ले व्रत बस्दछ उसको जन्म सार्थक भई लक्ष्मी, सन्तान, सम्पत्ति, अनेक पशुधन, पुत्रपुत्री, विद्या, ज्ञानी, आयुर्वल सम्पूर्ण प्राप्त हुन्छन् । जसले यो स्वस्थानी कथा भन्छ र जस्ले सुन्छ ती दुवैको समस्त पाप निदान हुनेछ । विधवा नभई पति सौभाग्य सर्वदा प्राप्त हुन्छ भनि महादेवले आफ्नी पार्वतीलाई स्वस्थानी व्रत कथा फल प्राप्ती सम्पूर्ण सुनाए । ईति लिङ्ग पुराणे । स्वस्थानी व्रत कथा समाप्त शुभमस्तु । सम्वत् ७२३ माघ शुक्ल पक्ष श्री पञ्चम्या तिथौ घटि पूव्र्व भद्र नक्षत्र ४ पलिघ जोग शुक्रवासरे त्यस दिन कथा लेखि सम्पूर्ण गरि सिध्याएँ । लिखिती मानसकाल राम सुवार भयो । शुभमस्तु सर्वदा ।। 
नयाँ