संसद चल्यो : स्थानीय तह निर्वाचन विधेयक, २०७३ स्वीकृत

प्रकाशित मिति : २०७३ पौष २५ सोमबार , ४,३४४ पटक हेरिएको

काठमाडौँ । व्यवस्थापिका–संसद्को सोमबार बसेको अर्को बैठकले ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ लाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

विधेयक निर्णयार्थ पेश हुनु अघिको बैठकमा गणपूरक सङ्ख्या नपुगेका कारण प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन । आधा घन्टाको स्थगनपछि बसेको बैठकले प्रस्ताव पारित गरेको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सो प्रस्ताव प्रस्तुत गरे ।

‘निर्वाचन विधेयक, २०७३’ स्वीकृत
संसदले  ‘निर्वाचन (कसुर तथा सजाय) विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ ।

विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै एमाले सांसद पुरुषोत्तम पौडेलले पैसा र बल हुनेले निर्वाचन जित्ने प्रवृत्तिलाई विधेयकले निरुत्साहन गर्नुपर्ने बताए । विधेयकलाई विचार गरियोस् भनी उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रस्ताव प्रस्तुत गरे ।

सो प्रस्तावमाथि भाग लिँदै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले संसदीय व्यवस्थामा उम्मेदवार हुनेबित्तिकै करोडौँ चन्दा उठाएर खर्च गर्ने कार्य रोकिनुपर्छ भने । छलफलमा उठेका सवालमा जवाफ दिँदै उपप्रधानमन्त्री निधिले स्वतन्त्र र शान्तिपूर्ण तथा दबाबरहित निर्वाचन हुनुपर्ने बताउँदै अवाञ्छित क्रियाकलापलाई विधेयकमा दण्डको व्यवस्था गरिएको जानकारी दिए ।

बैठकमा अर्थ समितिका सभापति प्रकाश ज्वालाले ‘बैङ्क तथा वित्तिय संस्थासम्बन्धी विधेयकको सम्बन्धमा समितिको पूरक प्रतिवेदन २०७३ पेश गरे । संसद्को अर्को बैठक यही पुस २६ गते अपराह्न १ बजे बस्नेछ । रासस

नयाँ