डीएसपीले अपराधी नचिन्दा धन्यै फसाद

प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार , १,७२२ पटक हेरिएको
काठमाडौं । लमजुङको पूर्वी भेगको दोर्दीखोला नजिकै लोंदोखोला छेउ शनिबार सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को सार्वजनिक छलफल कार्यक्रम चलिरहेको थियो । सांसद, प्रजिअ, डीएसपी, राष्ट्रिय अनुसन्धान अधिकृत लगायत मञ्चमा बसेका थिए । त्यही मञ्चको तेस्रो लाइनको छेउमा थिए, ढोडेनी ३, हरिगाउँका ७० वर्षीय गजबहादुर गुरुङ ।
 
उनी ढोडेनी गाविसका पूर्वअध्यक्ष, जिल्ला पञ्चायतका पूर्वसभापति र अहिले मेमेपोखरी विद्युत् सहकारी संस्थाका अध्यक्ष हुन् । प्रजिअ र डीएसपी कार्यालयमा पनि गइरहने गुरुङ अपराधी हुन् भन्ने फोन जब डीएसपी समीरचन्द्र खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीका अधिकारीबाट आयो, उनी झस्किए ।
 
उनले मञ्चबाटै पक्राउ नगरी भोलिपल्ट बोलाएर सीआईबीको जिम्मा लगाउने योजना बनाए । उनले सूचना चुहाएनन्, निगरानी बढाए । 
 
आइतबार प्रहरीले फोन गरेर श्रीमञ्ज्याङ प्रहरी चौकीको सम्पर्कमा जान भनेपछि गुरुङ सरासर त्यहाँ पुगे ।
 
प्रहरीका अनुसार त्यति बेलासम्म उनले आफूलाई पक्राउ गर्नुको कारण बुझिसकेका थिए । ‘गुरुङलाई सीआईबी टोलीले त्यहींबाट पक्राउ गरी काठमाडौं लग्यो,’ डीएसपी खरेलले भने, ‘आफूसँगसँगै बसिरहेका व्यक्ति अपराधी भएको खबर आउँदा झसंग भएँ । त्यसपछि पक्राउ योजना बनाएँ । अदालतले अपराधी ठहर गरेको १५ वर्षपछि पक्राउ परे ।’
 
गुरुङलाई पुनरावेदन अदालत पाटनले लागूऔषध मुद्दामा ०५८ फागुन २१ गते १५ वर्षको कैद फैसला र ५ लाख रुपैयाँ जरिवाना फैसला गरेको थियो । 
 
उनीविरुद्ध खैरो हेरोइन ओसारपसारको आरोप लागेको प्रहरी स्रोतले बतायो । (कान्तिपुर दैनिक)
नयाँ