arrow

तुइन विस्थापनको संख्या बढ्दै, दुई करोडमा आठ वटा झोलुङ्गे पुल

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
suspension-bridge.jpeg
रुकुम । पहाडी जिल्ला रुकुममा गत आर्थिक वर्षमा मात्र आठ वटा नयाँ झोलुङ्गे पुल निर्माण भएका छन् । जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय, गाविसलगायतका निकायको आर्थिक सहयोगमा जिल्लाका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माण भएका हुन् । 
 
सरकारले तुइनलाई विस्थापित गरेर सबै ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यक्रम सुरु गरेपछि जिल्लामा गत आवमा मात्र आठवटा झोलुङ्गे पुल निर्माण भएको जिल्ला विकास समिति रुकुमले जानकारी दिएको छ । 
 
जिल्लाका विभिन्न ठाउँमा रहेका खोलामा पुल निर्माण भएपछि यहाँका सर्वसाधारणलाई आवतजावत गर्न निकै सहज भएको छ । 
 
योसँगै जिल्लामा अहिलेसम्म ९० वटाभन्दा बढी झोलुङ्गे पुल निर्माण भइसकेको र १२ वटाभन्दा बढी पुलको निर्माण कार्य सुरु भएको जिल्ला विकास समिति रुकुमका सूचना अधिकारी चिन्तामणि दाहालले जानकारी दिए । 
 
सरकारले खोलामा रहेका तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएसँगै जिल्लामा झोलुङ्गे पुल निर्माण गर्ने कार्यक्रमले प्राथमिकता पाएर तीव्र गतिमा पुल निर्माण कार्य भइरहेका छन् । 
 
आगामी दिनमा पनि जिल्लाका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई तीव्रता दिने लक्ष्यका साथै जिल्लाका सबै आवश्यक ठाउँमा सर्वेक्षण गर्नुका साथै केही ठाउँमा निर्माण कार्य समेत सुरु भएको सूचना अधिकारी दाहालले बताए । 
 
गत आवमा मात्र आठवटा पुल निर्माण गर्नका लागि रु दुई करोडभन्दा बढी लगानी गरिएको उनको भनाइ रहेको छ । 
 
गत आर्थिक वर्षमात्र झोलुङ्गे पुल निर्माण भएपछि जिल्लाका १५ भन्दा बढी गाविसका सर्वसाधारण लाभान्वित भएको बताइएको छ । 
 
सबै पुल उपभोक्ता समितिमार्फत निर्माण भएपछि स्थानीयको आर्थिक अवस्थामा समेत सुधार भएको जिविसले दाबी गरेको छ । 
 
झोलुङ्गे पुल निर्माण भएपछि विशेष गरेर महिला, बालबालिका, वृद्धवृद्धालगायतलाई आवतजावत गर्न सहज भएको छ ।
 
विद्यार्थीलाई विद्यालय जान, किसानलाई घाँसदाउरा ल्याउन पनि सहज भएको स्थानीयको भनाइ रहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ