arrow

ध्वनि प्रदूषणले छट्पटिँदै वीरगन्जः मानसिक विचलनलगायतको समस्या

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
sound-pollution.jpeg
वीरगन्ज । बिहे, भोज, भण्डारा, व्रतबन्ध, सभा तथा धार्मिक पर्वलगायतका समयमा ठूलो स्वरमा विभिन्न गीत सङ्गीत बजाउने डिजेजस्ता उपकरण प्रयोग गर्ने अचेल सामाजिक संस्कार बन्दै गएको छ । 
 
बिहान ४ बजे मन्दिर, मस्जिदमा ठूलो स्वरमा धार्मिक प्रार्थना, बसपार्क क्षेत्रमा गाडीको हर्न र नगरभित्रको सडकमा निन्द्रा खराब गर्ने गरी बाजा बजाउनाले नगरबासी प्रभावित हुने गरेका छन् । 
 
यसैक्रममा वीरगन्जको माईस्थान चोकमा केही दिनयता सञ्चालनमा रहेको सप्ताहव्यापी धार्मिक कार्यक्रममा चारैतिर लाउडस्पीकर राखेर प्रवचन कार्यक्रम गर्नाले त्यस क्षेत्र वरिपरि करिब ५०० मिटर क्षेत्रभित्र रहेका व्यापारी र बटुवा ध्वनि प्रदूषणका कारण प्रभावित हुने गरेको पाइएको छ । 
 
ठूलो स्वरमा बाजा बजाउँदा हामी मात्र होइन, पसलमा आउने ग्राहक समेत प्रभावित हुने गरेकाले सम्बन्धित निकाय गम्भीर हुनुपर्ने माईस्थानका पान व्यवसायी विनयकुमार चौरसियाको गुनासो रहेको छ । 
 
जीउ नै हल्लिने खालको साउन्ड प्रयोग गर्नु, जन्ती जाँदा पार्टीलगायतको काममा गाडीमा प्रयोग हुने ठूलो आवाजको हर्नले कतिपय स्थितिमा शारीरिक क्षति र बहिरो समेत बनाउने गरेको चिकित्सकको भनाइ रहेको छ । 
 
वीरगन्जका वरिष्ठ पत्रकार शङ्कर खतिवडा भन्छन् बिहान र दिनभरिको ध्वनि प्रदूषणको कारण तनाव, झैझगडा, मानसिक विचलनलगायतको समस्या उत्पन्न हुने गरेको छ ।
 
धार्मिक, साँस्कृतिक कार्यको नाममा ठूलो स्वरमा बाजा बजाउनु विकृतिको रुप भएकाले सानो स्वरमा बाजा बजाउनु पर्दछ, उनको भनाइ छ । 
 
कार्यालयको समयमा सडकबाट जाने सवारीसाधनले ठूलो स्वरमा हर्न बजाउँदा दैनिक क्रियाकलापमा समस्या हुने गरेको छ । 
 
नगर क्षेत्रमा रहेका सुरक्षाकर्मीले सक्रियता नदेखाएकाले ध्वनि प्रदूषण बढ्न गएको हो जसको कारण सर्वसाधारणको स्वास्थ्यमा समेत असर पर्ने गरेको छ । 
 
वीरगन्ज नगर क्षेत्रमा ध्वनिको समस्या रहेको स्वीकार्दै पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले ठूलो स्वरमा बाजा बजाउनु यहाँको रीतिरिवाज नै भएको र सम्झाउँदा बुझाउँदा पनि सम्बन्धित पक्षले अटेर गर्ने गरेको बताए । 
 
संस्कृति र संस्कारको नाममा ठूलो स्वरमा माइक बजाएर ध्वनि प्रदूषण गर्नु भनेको जनतामा चेतनाको अभाव हो । 
 
जबसम्म ध्वनि प्रदूषणले मानिसको स्वास्थ्यमा कस्तो असर पर्छ, त्यसबारे चेतना जागृत हँुदैन, तबसम्म यो समस्या दिनप्रतिदिन बढ्दै जानेछ । 
 
निश्चित दायराभित्र रहेर कार्य गर्दा आवाज भएन भने विवाह, पूजा, भोजभतेर, प्रवचन, भजनकीर्तनमा मिठास आउँदैन भन्ने भनाइ आम नागरिकको रहेको छ । 
 
बजारभरिका पोलमा स्पीकर राखी ध्वनि फैलाउने क्रियाकलाप बढेपछि यसबाट प्रभावित हुने मानिसको सङ्ख्या पनि बढ्दै गएको छ । 
 
हाम्रो माग हो, वीरगन्ज नगर ध्वनि प्रदूषणमुक्त सहर हुनुपर्छ, वीरगन्ज नगरबासी एकै स्वरमा भन्छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ