arrow

विराटचोकमा कोसीहरैचा एक्स्पो हुने, सबैभन्दा ठूलो कारोबार हुने दाबी

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
biratchowk.jpeg
इटहरी । उदीयमान सहर विराटचोकमा आगामी फागुन २१ देखि २७ सम्म विशेष महत्वका साथ कोसीहरैचा एक्स्पो–२०७३ सञ्चालन गरिने कुरा आयोजक समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 
 
उद्योग वाणिज्य सङ्घ विराटचोकको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक मूल समितिका संयोजक एवम् उद्योगी भोलेश्वर दुलालले पूर्वमा नै सबैभन्दा ठूलो व्यापारिक कारोबार हुने एक्स्पो लगाउने तयारी भइरहेको जानकारी दिए । 
 
कृषि तथा औद्योगिक प्रदर्शनीको सम्मिश्रणको सघनता रहने एक्स्पोलाई भव्य र सहभागितामूलक बनाउनका लागि उपभोक्ताले चाहेको वस्तु एकै स्थानमा उपलब्ध गराउने एक्स्पोको मूल ध्येय रहेको पनि संयोजक दुलालले पत्रकारलाई जानकारी दिए । 
६८ लाख रुपैयाँको लागतमा एक्स्पो लगाउने स्थानको तयारी थालिएको जानकारी दिँदै एक्स्पो स्थलमा २०१ स्टल रहने संयोजक दुलालले थप जानकारी दिनुहुँदै एक्स्पोमा नुनदेखि सुनसम्म एकै ठाउँ भने झै उपभोग्य सामानदेखि मनोरञ्जनका साधनसमेत सुलभ मूल्यमा उपलब्ध गराउने भरमग्दुर प्रयास हुने पनि उनले जानकारी दिए । 
 
एक लाख मानिसले एक्स्पो अवलोकन गर्नेछन् भन्ने विश्वास गरिएको सो कृषि तथा औद्योगिक एक्स्पोले १० करोडको आर्थिक कारोबार गर्ने विगतका एक्स्पोको अनुभवबाट अनुमान गरेको उद्योग वाणिज्य सङ्घ विराटचोकका अध्यक्ष नवराज चापागाईंले बताए । 
 
एक्स्पोमा टिकट बिक्री र स्टलबाट मात्र रु एक करोड ४५ लाख आम्दानी हुने पनि अनुमान गरिएको बताइएको छ । 
 
एक्स्पोमा अटोमोबाइल्सका २१ वटा, कृषि उत्पादनका १० वटा, खाद्य परिकारका होटलको २० वटा र अन्य विभिन्न उत्पादनका १५० वटा स्टल रहने तयारी पनि भइरहेको एक्स्पो मूल आयोजक समितिका महासचिव सन्तोष वान्तवाले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ