arrow

काठमाडौंबासीलाई धुलोको पीडा मेलम्चीको पानी नआएसम्म लम्बिने !

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
dhulo_KTM.jpeg
काठमाडौं । दैनिक जसो धुलोको पीडा सहन बाध्य राजधानीबासीले मेलम्ची पानीको आशामा अझै केही महिना धुलोको समस्या सामना गर्नुपर्ने भएको छ । मेलम्ची खानेपानी आयोजना निर्माणको क्रममा पाईप विच्छ्याउनको लागि सडक खन्दा बनेको धुलोको दीर्घकालीन समाधान गर्न अझै केही महिना लाग्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । 
 
आयोजनाले मेलम्ची आनेपानी आयोजना निर्माणको लागि मात्रै काठमाडौं भित्र २ सय किलोमिटर सडक खन्नुपर्ने बताएको छ र यसरी खनिएको सडकमा पहिले पाईप विच्छ्याएर त्यसमा पानीको चाप परीक्षण गरेपछि मात्रै सडक बनाउने गरिन्छ । 
 
यसरी गरिने पानीको चाप मापन विभिन्न ३ चरणमा गर्ने गरिएको छ । पहिलो चरणमा प्रत्येक एक सय मिटर पाईप विच्याएपछि त्यसमा ट्याङ्करबाट ल्याईएको पानीले कतै चुहिने गरेको छ या त पानी नआउने समस्या छ कि भनेर परीक्षण गरिन्छ । पहिलो चरणको परीक्षण त जसोतसो गरिएको छ । तर, तेस्रो चरणसम्मको परीक्षणको लागि पानीको अभाव हुने देखिएको निर्देशनालयले जनाएको छ । 
 
यसरी पानीको चाप मापन गर्नको लागि आयोजना कार्यान्वयन निर्देशनालयसँग पानीको अभाव रहेकोले यो परीक्षणको काम मेलम्चीको पानी काठमाडौं आएपछि मात्रै सम्भव रहेको निर्देशनालयका एक अधिकारीले बताए । यसरी परीक्षण नगरेसम्म आंशिक सडक निर्माण गरिएपनि पूर्ण रुपमा सडक निर्माण नगरिने निर्देशनालयले स्पष्ट पारेको छ । 
 
निर्देशनालयका आयोजना निर्देशक तिरेश प्रसाद खत्रीले पूर्ण रुपमा सडक कालोपत्र गर्नको लागि ३ चरणको परीक्षण आवश्यक रहेको जानकारी दिए । उनले हाम्रकुरासँग भने ‘हामी ३ चरणको परीक्षण पछि मात्रै पुरै सडक कालोपत्रे गर्नेछौं । तर, अहिले भत्काएको ठाउँमा भने अल्पकालीन रुपमा अहिले नै कालोपत्रेको काम सुरु हुनेछ ।’ 
 
उनले अन्तिम चरणको परीक्षणमा मूल मुहानबाट पानी हालेर परीक्षण गर्नुपर्ने भएकोले अहिले काठमाडौंमा त्यति धेरै मात्रामा पानी पाउन कठिन रहेको बताए । ‘तर पनि हामी बैकल्पिक बाटो अपनाएर ट्याङ्करमा पानी ओसारेर पनि पानी आउनु भन्दा अगाडि नै यो परीक्षण सम्पन्न गर्ने तयारीमा छौं ।’
 
तर, खत्री कै भनाईलाई आधार मान्दा पनि यो सम्भव भने देखिँदैन । उनका अनुसार ट्याङ्करबाट प्रेसर टेष्ट गर्दा साढे ४ फिटको पाईपमा एक सय मिटर प्रेसर टेस्ट गर्दा करिब २०० ट्याङ्कर पानी खपत हुन्छ । जबकी काठमाडौंमा साना ठूला पाईप सहित गरेर २ सय किलोमिटरको हाराहारीमा पाईप विच्याईएको छ । यसरी पानी लैजाने हो भने काठमाडौंमा उल्टै पानीको हाहाकार हुने पक्कापक्की छ ।  
 
उता, आयोजना सम्पन्न भएपछि अर्थात् तेस्रो चरणको प्रेसर टेस्ट गरेपछि भने निर्देशनालयले खनिएको भाग मात्रै होईन कि पुरै सडक कालोपत्रे गरिदिने तयारी गरेको छ । यसको लागि निर्देशनालयसँग कूल एक अर्बको बजेट रहेको छ । यसरी पुरै सडक कालोपत्रे नगरेसम्म काठमाडौं उपत्यकाबासी धुलोको समस्याबाट मुक्त हुन सक्ने आधार छैन । 
 
निर्देशनालयले अस्थाई रुपमा सडक कालोपत्रे गरेपनि सडकको छेउछाउमा रहेको धुलो छोपिने कुनै आधार नरहेकोले पूरै सडक पिच नभएसम्म उपत्यकाबासीले धुलोको सकस्याबाट मुक्त हुने आधार नरहेको हो । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ