arrow

एमालेले माग्यो पृथ्वी जयन्तीमा सार्वजनिक विदा

कुनै समय राजा थिए होलान्, तर हाम्रो नजरमा राष्ट्र निर्माण गर्ने नेता : प्रकाश ज्वाला

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
news-aaja-sansad-aa.jpeg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका पोलिटब्यूरो सदस्य एवं संसदको अर्थ समिति सभापति प्रकाश ज्वालाले राष्ट्रिय एकता दिवस अथवा पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने माग पार्टीकै भएको बताएका छन् ।

संसदमा आफुले राखेको धारणा पार्टीकै भएको बताउँदै ज्वालाले हाम्राकुरासँग भने, ‘संसदमा पार्टीको जिम्मेवार व्यक्तिले बोलेपछि, पार्टीकै माग हो भन्ठान्नुस् । पार्टीले आधिकारीक निर्णय गरेको होइन ।’ कुराको सुरुवातमा ज्वालाले आफुले सांसदको हैसियतमा उक्त माग राखेको बताए । यद्यपि, कुरा गर्दै जाँदा उनले संसद सार्वजनिक थलो भएकाले पार्टीको जिम्मेवार व्यक्तिले बोलेपछि पार्टीकै धारणा ठहरिने बताए ।

मंगलबार संसद बैठकको शून्य समयमा बोल्दै ज्वालाले राष्ट्र निर्माता पृथ्वी नारायणलाई सम्झनु राज्यको कर्तव्य भएको बताए । संसदमा उनले भने,  ‘पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाली जनताले आधुनिक नेपालको एकीकरण गरेका हुन् । पृथ्वी नारायण राजामात्रै थिएनन् । राष्ट्र निर्माता हुन् । जसले सून्दर शान्त नेपाल निर्माण गरे । राष्ट्र निर्माताका रुपमा हामीले सम्झिनु पर्दछ । त्यसै कारण सरकारले पुस २७ मा सार्वजनिक विदा दिनुपर्छ ।’ सार्वजनिक विदाको माग गर्दै मंगलबार राजावादी युवाहरुले उपत्यका बन्द समेत गराएका छन् । संसदमा आफुले कुरा राखेपछि सत्तापक्ष र विपक्षका अधिकांश सांसदले ढ्याप ढ्याप पारेका ज्वालाले हाम्राकुरासँग भने ।

एमालेले राष्ट्रियताको कुरा उठाइरहेकाले त्यसैको सेन्टिमेन्ट लिन खोज्या हो ? जवाफमा उनले भने, ‘राष्ट्रियताको केही सवालमा त्यो जोडिएला । तर, हामीले नेपाल एकीकरण गरेकामा उहाँलाई सम्झिने हो । एमालेले उठाएको राष्ट्रियताको आफ्नै महत्व छ । पृथ्वीनारायणको राष्ट्र निर्माणको आफ्नै महत्व ।’ राजाप्रतिको विश्वास फेरि जाग्या हो ? जवाफमा उनले भने, ‘हिजो कुनै दिन पो पृथ्वीनारायण राजा थिए होलान् । हामीले सम्झिने उहाँको योगदान हो । राष्ट्र निर्माण नगरेको भए हामी अहिले विभिन्न परिवर्तनका कल्पना गर्न सक्दैन थियौं । उहाँको भूमिका महत्वपूर्ण छ । सिंगो नेपालको पक्षमा छ । राजनीतिक रुपमा उहाँका केही स्वार्थ थिए होलान् । तर उहाँ राष्ट्र निर्माण गर्ने नेता हो ।’  

पृथ्वीनारायणको दर्शन खोज्न थाल्नु भा हो कि, स्वार्थगत सहानुभूति राख्या ? उनले भने, ‘दर्शनको कुरा दार्शनिकले खोज्लान् । हामीले कुरा गर्ने भनेको राष्ट्र निर्माणको मात्रै हो ।’ अर्थ समितिको सभापति भएका नाताले अर्थशास्त्रसँग पनि पृथ्वीनारायणको दर्शन जोडिएको देख्छु–ज्वालाले भने । पृथ्वी जयन्तीलाई राज्यले उत्सवका रुपमा मनाउनु पर्ने ज्वालाको भनाइ छ ।  

२०६२–०६३ को जनआन्दोलन अघि पृथ्वी जयन्तीको अवसरमा हरेक वर्ष पुस २७ गतेका दिन सरकारले सार्वजनिक विदा दिँदै आएको थियो । लोकतन्त्र वहाली भएको घोषणापछि विना अध्ययन राजसँस्था सँग जोडिएका संरचना र नीति नियम तोडमोड गर्दै सरकारले पृथ्वी जयन्तीको अवसरमा दिइँदै आएको विदा कटौती गरेको हो ।

संघीय संरचना निर्माणको निर्देशसहित पारित भएको संविधानप्रति असतुष्टी बढेसँगै पछिल्लो समय राष्ट्रियताको नारासँगै फेरि पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिन चौतर्फी दबाब बढेको छ । यसअघि राजसंस्थाप्रति आस्था राख्नेहरुले मात्रै पृथ्वी जयन्ती राज्यले नै मनाउनु पर्ने माग गर्दै आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ