arrow

आज पृथ्वी जयन्ती, प्रचण्ड डराउँदा सरकार अलमलमा, छुट्टाछुट्टै सम्झना

logo
प्रकाशित २०७३ पुष २७ बुधबार
PrithviNarayan-Shah.JPG.jpeg
काठमाडौं । नेपाल एकीकरणका महानायक राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम हुँदैछन् । १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले आफ्नो शासनकालमा चार दर्जनबढी साना साना राज्यलाई जोडेर नेपालको एकीकरण गरेका थिए ।
 
उनको यही विशिष्ट योगदानको कदर गर्दै हरेक पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउँदै आइएको थियो । तर २०६२÷६३ को जनआन्दोलनको आँधिबेहरीमा परी पृथ्वी जयन्ती पनि बढारियो । 
 
१० वर्षदेखि यो दिवस सरकारले नमनाए पनि जनस्तरबाट भने पृथ्वी जयन्ती मनाउने क्रम भने जारी छ । त्यसपछिका वर्षमा राजावादी कहलिएको राप्रपा नेपाल र राजावादीहरुको झुण्ड तथा विद्धानहरुले पृथ्वीनारायण शाहको योगदानको सम्झना गर्दै आएका छन् । 
 
यसपटक सरकारलाई सार्वजनिक बिदा दिनका लागि निकै ठूलो दबाबसमेत परेको थियो । शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले त सरकारले कुनै पनि हालतमा सार्वजनिक बिदा दिने निक्र्योल एक हप्ता अगाडि नै गरेका थिए । 
 
क्यालेन्डरमा नभएको क्रिसमसमा सार्वजनिक बिदा दिएको सरकारले राष्ट्रनिर्माताको जन्मजयन्तीमा झनै बिदा दिने अनुमान सबैको थियो । कतिपय विद्यालय त सार्वजनिक बिदा हुन्छ भन्ने अड्कलमा आज बिदासमेत भएको छ ।
 
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमै सार्वजनिक बिदाको माग गर्न पुग्यो । तर पनि सरकार गलेन । विशेषगरी प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गलेनन् । 
 
प्रचण्डले पृथ्वीनारायणको योगदान भुल्न नभए पनि सार्वजनिक बिदा नै दिन हतार गर्नुनपर्ने स्पष्ट पार्दै सरकारमा रहेका सदस्यहरुको मुख टालिदिएका छन् । 
 
प्रचण्डले मंगलबार भएको एक कार्यक्रममा सशस्त्र द्धन्द्धका बेलामा आफ्ना कार्यकर्ताले पृथ्वीनारायणका शालिक भत्काउन खोज्दा आफूले नभत्काउन कडा निर्देशन दिएको सुनाए । तर शालिक भत्काइए । प्रचण्डले कसैलाई कार्वाही गरेको सुनिएन । 
 
उनलाई अझै पनि पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने हो भने गणतन्त्र लड्खराउँछ कि भन्ने भ्रम छ । उनी गलत जगबाटै यहाँसम्म आएकाले पनि राजसंस्थाको कुनै सदस्यका कुरा गर्नसमेत हिच्किचाउँछन् । 
 
दुई पटक प्रधानमन्त्री भए पनि मुलुकलाई निकास दिन नसकेका प्रचण्ड राजसंस्थाप्रति अझै झस्कन्छन् । आफ्नो राजशी शक्ति गुम्ने खतरा उनमा यद्यपि छ । 
 
जनस्तरबाट पृथ्वीनारायणको सम्झना गर्न भने कसैले रोक्ने हैसियत राखेको छैन । सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा बिहान ११ बजे माल्यापर्ण गर्ने कार्यक्रम रहेको छ ।
 
त्यसैगरी राप्रपा र राप्रपा नेपाल एकीकरण भएपछि बनेको राप्रपाले दिउँसो १ बजे काठमाडौंकै भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गर्ने जनाएको छ । 
 
पृथ्वी जयन्तीका अवसरमा देशका अन्य भागमा पनि विभिन्न कार्यक्रम गरिने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ