- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । समाज कल्याण परिषद्को बैठकले २०७२ सालको भूकम्पबाट क्षति भएको लैनचौरस्थित परिषद्को कार्यालय भवनलाई मर्मतसम्भार गर्ने निणर्य गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको परिषद्को बैठकले भृकुटीमण्डपमा रहेको परिषद्को कार्यालयको समेत पुनःसंरचना गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थिर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा परिषद्का कर्मचारीको हकहितका लागि समयसापेक्ष कर्मचारी नियमावली तथा निर्देशिका संशोधन गर्नेबारे पनि छलफल भएको परिषद्का सदस्य–सचिव डिल्ली भट्टले बैठकपछि जानकारी दिए ।
बैठकले लामो समयदेखि हुन नसकेको कार्य सञ्चालन समिति र बोर्ड बैठक पनि राख्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा परिषद्का कोषाध्यक्ष, सदस्य र सदस्य–सचिव सहभागी थिए ।
सोही अवसरमा प्रधानमन्त्री दाहालले परिषद्सँग सम्बन्धित विषयवस्तु आवश्यकताअनुसार लागू गर्दै जाने बताउनुभएको सदस्य–सचिव भट्टको भनाइ छ ।
परिषद्ले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थालाई व्यवस्थित गर्ने भनिए पनि अधिकांश गैरसरकारी सङ्घसंस्थाले लामो समयदेखि परिषद्मा प्रतिवेदन बुझाएका छैनन् । आर्थिक वर्ष २०७२–७३ मा करिब ५०० सङ्घसंस्थाले मात्र परिषद्मा प्रतिवेदन बुझाएका छन् ।
परिषद्मा करिब ४२ हजार ३१९ राष्ट्रिय र २३० वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आवद्ध भएका छन् । रासस