arrow

पृथ्वी जयन्तीमा शीर्ष नेताकाे जमघट, कसले के भने ?

logo
प्रकाशित २०७३ पुष २७ बुधबार
chiyapan-ma-neta-ka-gff.jpeg

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २९५ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा जलपान तथा शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गर्दा दलका शीर्ष नेताहरुको जमघट भयो ।

काँग्रेस, एमाले, माओवादी केन्द्र, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, सुरक्षा निकायका प्रमुख, मन्त्रिगण, सांसद, बुद्धिजीवी, चिकित्सक, सञ्चारकर्मी लगायत जमघट भए ।

यसैगरी, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा राजदूतहरु पनि कार्यक्रममा उपस्थित थिए । आगन्तुक अतिथिलाई राप्रपाका कार्यकारी अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जबरा, वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ लगायत केन्द्रीय पदाधिकारीले स्वागत गरे ।

राप्रपा नेपालले हरेक वर्ष पुस २७ का दिन आयोजना गर्दै आएको कार्यक्रम दुई पार्टीबीच एकीकरण भएपछि झन् भव्य भएको बताइएको छ । कार्यक्रममा कलाकार यम बराल, मीरा राणा लगायतले राष्ट्रिय भावनाका गीत तथा सङ्गीत प्रस्तुत गरे ।

राष्ट्रिय एकतामा जोड
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय एकताका लागि राजनीतिक मूल्य र मान्यता स्थापना गर्न आवश्यक रहेको बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘विसं २०६२–६३ पछि सार्वजनिक विदा दिने विषयमा स्पष्ट नीति बन्न नसक्दा मन्त्रिपरिषद्को वुधबार बसेको बैठकले यसको अध्ययनका लागि समिति गठन गरेको छ । यसले इतिहास, सबै भाषाभाषी, जनजातिका मागको समेत अध्ययन गरी विदाका विषयमा उचित सुझाव दिनेछ ।’

प्रधानमन्त्री दाहालले पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी राष्ट्रिय एकताका आधारका रुपमा बलियो केन्द्रीकृत राज्य स्थापना गर्नुभएको बताए । दाहालले थपे, ‘बहुजाति, बहुभाषी र बहुसंस्कृति रहेको नेपाललाई थप बलियो बनाउन आवश्यक छ ।’

नेकाका सभापति एवं पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले राष्ट्रिय एकताका लागि पृथ्वीनारायण शाहले पुर्‍याएको  योगदानको स्मरण गर्दै विभाजित राज्य रजौटाहरुलाई एकीकरण गरेको श्रेय शाहलाई दिए । देउवाले भने,  “पृथ्वीनारायण शाहका योगदानबारे जति बोले पनि सकिँदैन ।”

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहका योगदानलाई आफ्ना स्वार्थसिद्धिका निम्ति प्रयोग गरिनुहुन्न र शाहले तत्कालीन नेपाली जनताको चाहना र माग अनुसार नेपालको एकीकरण गर्नुभएको हो, भने ।

आफू प्रधानमन्त्री छँदा पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिन गरिएको सहमतिको प्रयास सार्थक नभएको ओलीले सुनाए । एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधव नेपालले अहिले राष्ट्रलाई एकतावद्ध गर्न खाँचो रहेकामा जोड दिए । रासस

Image may contain: 3 people, people standing

Image may contain: 2 people, people standing and beard

Image may contain: 4 people, people standing

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ