पुनःसंरचनाको आगो बल्ने क्रम खोटाङमा कायमै, बन्दको विकल्प खोज्न आग्रह

गाडी चल्न नदिए अनिश्चितकालीन बन्द गर्ने व्यवसायीको आक्रोश

प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार , १,५५७ पटक हेरिएको
खोटाङ । स्थानीय तह पुनःसंरचना आयोगले प्रस्ताव नै नगरिएको गाउँपालिका बनाउन सिफारिस गरेको भन्दै आन्दोलनमा रहेका खोटाङका सङ्घर्ष समितिलाई सडक बन्द नगर्न राजनीतिक दलले आग्रह गरेका छन् । 
 
महुरेगढीको सट्टामा लामीडाँडा गाउँपालिका बनाइएको भन्दै विरोधमा अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका बुइपा, राजापानी, विजयखर्क, नुनथला लगायतका स्थानीयवासीलाई जिल्लास्थित सात राजनीतिक दलले आन्दोलन खुकुलो पार्न आग्रह गरेका हुन् । 
 
गत शनिबार देखिको अनिश्चितकालीन सडक हडतालले सर्वसाधारणले यात्रा तथा जनजीवन कष्टपूर्ण भएको भन्दै नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा माले, खम्बुवान् राष्ट्रिय मोर्चा र नयाँ शक्तिले आन्दोलनको विकल्प खोज्न बन्दकर्तालाई आग्रह गरेका छन् । 
 
जिल्लास्थित दलले संयुक्त विज्ञप्ति जारी गर्दै सडक बन्दका कारण कष्टपूर्ण बन्दै गएको जनजीवनलाई सहज बनाउने वातावरण सिर्जना गर्न प्रशासनको ध्यानाकर्षणसमेत गराएका छन् । 
 
यातायात व्यवसायीको ध्यानाकर्षण 
 
सडक बन्दका कारण यात्रु मारमा परेको भन्दै खोटाङका यातायात व्यवसायीले पनि समस्याको समाधानका लागि प्रशासनसमक्ष आग्रह गरेका छन् । 
 
जारी सडक बन्दका कारण हजारौँ यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य भएको भन्दै सङ्घले बुधबार स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै तत्काल सडक खुलाउने वातावरण मिलाउन आग्रह गरेका हुन् । 
 
निर्बाधरुपमा सडक सञ्चालन गर्ने वातावरण नबनाए आफैले अनिश्चितकालका लागि सडक बन्द गर्ने यातायात व्यवसायीले चेतावनीसमेत दिएका छन् । 
 
बन्दका बाबजुद बिहीबार सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको यातायात व्यवसायी सङ्घ खोटाङका महासचिव राजकुमार राईले बताए । 
 
आदिवासी जनजातिको पनि विरोध 
 
खोटाङको गाउँपालिकाको सूचीमा सिफारिस नै नभएको नाम आएको भन्दै आदिवासी जनजाति महासङ्घलगायत जातीय सङ्गठनले पनि विरोध जनाएका छन् । 
 
आदिवासी जनजाति महासङ्घ, किरात राई यायोक्खा, नेपाल तामाङ घेदुङ, किरात राई चाम्लिङ खाम्बातिमले संयुक्त विज्ञप्ति जारी गर्दै सबैको मनोभावना समेटेर स्थानीय तहको पुनः संरचना गर्न माग गरेका छन् । रासस
नयाँ