arrow

कस्तो वेदनाः एकैघरका चार मिर्गौला पीडित

मिर्गौला प्रत्यारोपण गर्न आर्थिक सहयोग

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
kidney.jpg.jpeg
फलेवास । एकै घरका चार सदस्य मिर्गौैला रोगबाट पीडित बनेको परिवारलाई मिर्गौला प्रत्यारोपण गर्न प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । 
 
पर्वतको कुर्घा गाविस–२ को त्रिलोचन शर्माको परिवारलाई प्रवासी युवाले आर्थिक सहयोग गरेका हुन् । मिर्गौला पीडित परिवारका लागि सहयोग सङ्कलन अभियान चलाइरहेको एकता युवा क्लब, पर्वतको संयोजनमा नेदरल्यान्डमा बस्ने प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । 
 
जनसम्पर्क समिति नेदरल्यान्डका पूर्वअध्यक्ष मनोहरि शर्मा र उपाध्यक्ष विष्णु पोखरेलको अगुवाइमा सङ्कलन भएको रु ६५ हजार पाँचसय १३ पीडित शर्मालाई हस्तान्तरण गरिएको छ । 
 
पर्वतका प्रजिअ शम्भुप्रसाद मरासिनीले सहयोग रकम बुधबार हस्तान्तरण गर्नुभएको हो । केही दिनपहिले जिविस पर्वतले रु ४० हजार सहयोग गरेको छ । 
 
सहयोग हस्तान्तरण गर्दै प्रजिअ शम्भुप्रसाद मरासिनीले पीडित परिवारका लागि सरकारी निकायबाट हुनसक्ने सहयोग गर्न आफू तयार रहेको बताए । 
 
एकता युवा क्लबका अध्यक्ष अच्युत तिवारीले पीडित परिवारको घाउमा मल्हम लगाउन सहयोग सङ्कलन अभियान जारी राख्ने बताए । “अहिले सानो सहयोग सङ्कलन भएको छ”, उहाँले भन्नुभयो, “यसलाई अभियानकै रुपमा अगाडि लैजान्छौँ ।” 
 
शर्माको परिवारका चारजना सदस्यको मिर्गौला फेल भएको छ । एक सन्तानको सोही कारणले ज्यान गइसकेको छ भने परिवारका अन्य सदस्यले प्रत्यारोपणका लागि मिर्गौला दान गरेपछि यो परिवारका सबै सदस्यको एउटा एउटा मात्र मिर्गौला बाँकी छ ।
 
विगत एक दशकदेखि यस्तै समस्या भोग्दै आएका शर्माले आर्थिक सहयोग र आफन्तले दिएको ऋणले अहिलेसम्म चार जनाको उपचार र बाँकी सदस्यको औषधि खर्च चलाउँदै आएको बताए । 
 
“चार÷चार जनाको मिर्गौला प्रत्यारोपण र नियमित औषधि खर्च जुटाउन मुस्किल छ”, उनले भने, “सहयोगी मन र आफन्त नभए परिवारका सबै सदस्यले जीवनको कल्पना पनि गर्न सक्दैनन् ।” 
 
मिर्गौला फेल भएर समयमा उपचार हुन नसक्दा जेठो छोरा प्रकाश पौडेलको ज्यान गइसकेको छ भने छोरी र छोराको मिर्गौला प्रत्यारोपण गरिएको छ ।
 
अहिले श्रीमतीका दुईवटै मिर्गौला फेल भएपछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको छ । 
 
“रोगलाई मानिसको सबैभन्दा ठूलो शत्रु मानेर नै होला, शत्रु लागेपनि रोग नलागोस् भनेर कामना गरिन्छ तर, मेरो परिवारका लागि रोग नै सबैभन्दा ठूलो शत्रु बनेर आयो”, शर्माले भने, “परिवारका सबै सदस्य मिर्गौलाबाट पीडीत हुँदा घरबास उठ्यो ।” 
 
श्रीमती प्रेमकला पौडेलको अहिले डायलाइसिस भइरहेको छ । उनको मिर्गौला प्रत्यारोपण गर्न जरुरी भइसकेको छ । 
 
“डायलाइसिसबाट सधैँ बस्न सकिँदैन”, त्रिलोचनले भन्छन् –“सहयोग पाएमा छिट्टै प्रत्यारोपण गर्ने योजनामा छु, आफूसँग प्रत्यारोपण गर्ने धन छैन ।” 
 
माइली छोरी र कान्छो छोराको मिर्गौला प्रत्यारोपण गरेपनि सङ्क्रमण हुने र नियमित रुपमा औषधि खानुपर्ने समस्या छ । 
 
जेठो छोरा प्रकाशको २०६३ सालमा २६ वर्षको उमेरमा मिर्गौलाकै कारण भारतको मुम्बईमा निधन भएको थियो । 
 
उनलाई मिर्गौला खराब भएको भन्ने जानकारी नभएपछि उपचारकै अभावमा मृत्यु भयो । कान्छो छोरा दीपकको २३ वर्षको उमेरमा मिर्गौला प्रत्यारोपण गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ