www.deltrox.com
नयाँ
कुरा

दश दिनभित्रै चुनावको मिति घोषणा हुन्छ : खनाल

प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार, १४८२ पटक हेरिएको

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले आगामी जेठको दोस्रो हप्ताभित्रै चुनाव गर्नेगरि सरकारले दश दिनभित्र चुनावको मिति घोषणा गर्ने खुलासा गरेका छन्। बिहीबार रिपोटर्सर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रधानमन्त्रीका सल्लाहकार खनालले यस्तो बताएका हुन्। उनले भने,‘आजको दश दिनभित्र हामी चुनावको मिति घोषणा गर्छौं, त्यसपछि संशोधन विद्येयकलाई पारित गरेर अघि बढ्छौं, राजनीतिक जटिलता संसदमा टेबुल भएको विद्येयक पारित भएपछिमात्रै हल हुन्छ।’ उनले सकेसम्म जेठको पहिलो हप्ताभित्रै चुनाव गर्ने सरकारको तयारी रहेको स्पष्ट पारे। खनालले जेठसम्म स्थानीय तहको चुनाव भए मंसिरसम्म दुई वटा निकायको चुनाव एकचौटि गर्न सकिने समेत विश्वास दिलाए। 
 
उनले भने,‘सरकार संशोधन विद्येयक पारित गराएर मात्रै चुनावी प्रक्रियामा जान्छौं, सरकार अब छिट्टै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा छ, अब सबै चुनावमा केन्द्रित हुनुपर्छ।’ उनले स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन सरकारले बुझिसकेको उल्लेख गर्दै प्रतिवेदनलाई लिएर केही झिनामसिना मतभेद भएपनि त्यसलाई दलीय सहमतिमा टुँगो लगाएर नयाँ पूर्नसंरचनासहित चुनावमा जानुपर्नेमा जोड दिए। 
 
सल्लाहकार खनालले संविधान कार्यान्वयन गर्ने सरकारको प्रमुख दायित्व रहेकोले त्यसको लागिपनि निर्धारित मितिभित्रै तीन वटै निकायको चुनाव गर्ने कुरामा सरकार लागिपरिरहेको बताए। उनले भने,‘आगामी ०७४ माघ ७ गतेभित्रै तीनवटै निकायको चुनाव गरेर मुलुकलाई अब आर्थिक समृद्धिको बाटोमा लैजानुपर्छ, सरकार अहिले त्यतातिर गम्भिर भएर लागिपरिरहेको छ।’प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुविर महासेठले सरकारले संविधान संशोधन विद्येयकको नाममा चुनाव नगर्ने षड्यन्त्र गरिरहेको आरोप लगाए। महासेठले भने,‘सरकार कहाँ छ ? नेपालमा हो कि बाहिर छ ?, प्रचण्डजी सही अर्थमा हाम्रो प्रधानमन्त्री हो कि वा कसैबाट निर्देशित हो ?’
 
उनले मधेशी मोर्चालाईपनि विश्वासमा लिनुपर्ने कुरामा कुनै दुई मत नरहेको उल्लेख गर्दै भने,‘मोर्चालाई विश्वासमा लिनुपर्छ, तर मोर्चा आँफैमा एक रुपता वा अडानमा एक देखिँदैन्, दिनुहँ कुराहरु चेन्ज भैरहेका छन्, उहाँहरुपनि निर्देशित हुनुहुन्छ, यो अपवित्र गठबन्धनको सरकार हो।’उनले वर्तमान सरकार चुनाव गराउने पक्षमा नरहेको जिकिर गर्दै भने,‘प्रधानमन्त्री चुनाव गराउने पक्षमा हुनुहुन्न, देउवाजीलाई हतार छ, तर प्रचण्डजी सत्ता लम्ब्याउने पक्षमा हुनुहुन्छ।’ नेता महासेठले सरकारले आगामी जेठमा चुनाव गराउँछु भनेर बोलेका कुराहरु बाहिर आएपनि त्यसमा आफूहरुलाई विश्वास नलागेको बताए। उनले सरकारले संसदमा दर्ता गराएको संशोधन विद्येयक नै अवैधानिक भएकोले त्यसलाई तत्काल फिर्ता गर्नुपर्ने माग गरे। यद्धपी उनले जतिसक्दो चाँडो चुनावको मिति घोषणा गर्नुपर्ने आफूहरुको माग रहेको बताए। 
 
उनले निर्वाचनलाई संशोधन विद्येयकसँग जोड्न नहुने समेत जिकिर गरे। नेता महासेठले भने,‘संशोधन विद्येयक फिर्ता गरौं, निर्वाचनको मिति घोषणा गरौं, र सहमतिमा अघि बढौं, यही नै अहिलेको उत्तम विकल्प हो।’ उनले सरकार संविधानको धारा २७४ नै खारेज गरेर भएपनि अघि बढ्ने मनशायमा रहेको कुरा बाहिर आएकोप्रति चिन्ता व्यक्त गर्दै भने,‘यस्तो गलत काम नगरियोस्, अब प्रचण्डजीलाई मेरो प्रधानमन्त्री नै अब अन्तिम हो भनेर लागेको छ भने त केही कुरै भएन, होईन भने तपाई जनयुद्ध गरेर क्रान्ति गरेर आएको नेता हो।’    
                               
उनले संशोधन विद्येयक राष्ट्रको हितमा नभएकोले यसको विपक्षमा जनमत हुँदाहुँदैपनि वर्तमान सरकार जसरी हुन्छ प्रस्ताव पारित गर्ने खेलमा लागेको बताउँदै भने,‘सांसद किनेबेच गरेर विद्येयक पारित गर्न खोजेको हो भने त हाम्रो भन्नु केही छैन, तर एमाले अन्तिसम्म पनि लडाईको मैदानमा उभिन्छ, देश र जनताको पक्षमा उभिन्छ।’

सम्बन्धित समाचार

Scroll To Top