arrow

न्यायाधीश सिफारिस : म ‘सत्य’ हेरुँ कि नहेरुँ श्रीमान् !

logo
प्रकाशित २०७३ पुष २९ शुक्रबार
court-news-bb.jpeg

काठमाडौं । संविधानको धारा १५३ बाट पूर्णता पाएको न्यायपरिषद्ले गरेको उच्च अदालतका न्यायाधीश सिफारिसको चौतर्फी आलोचना भएको छ । कानुन व्यवसायीको छाता संगठन र पेशागत संगठनमात्र नभई राजनीतिक दल र जनस्तरबाटै निर्णयको विरोध भएको छ ।

संवैधानिक व्यवस्था र न्यायपरिषद् ऐनकै उपहास गरेको टिप्पणी भइरहेका बेला अलोकतान्त्रिक निर्णय भएको भन्दै पत्रकारले समेत निर्णयबारे असुतुष्टी राखेका छन् । पत्रकार वसन्त प्रकाश उपाध्यायले आफ्नो फेसबुक एकाउन्टमा यसाे लेखेका छन् ।

म ‘सत्य’ हेरु कि नहेरुँ श्रीमान् !

छोरीको जन्मदिनमा आफन्तले दिनुभएका आर्शीवचन सँगालिरहेको मध्यरातमा उच्च न्यायालयका न्यायाधीश नियुक्तिको पत्तो भयो । र, यो परिवेशबीच पहिले हृदयदेखि आफन्तजनप्रति आभार व्यक्त गर्दै केही लेख्न तम्सेँ– मुलुक मध्यरातमा जाग्न थालको धेरै भएको छैन । विस्तृत शान्ति प्रक्रियापछिका थुप्रै महत्वपूर्ण घटनाक्रम हेर्दा मुलुकमा सर्वसाधारण छिट्टै निदाउने र राजनीति चाहिँ रात–विरात जाग्ने गरेको पाइन्छ । अन्यत्र होइन राजधानीबाटै पनि सामाजिक परिवेशको ‘नाइट–लाइफ’ हराइसकेको छ । होटेल–रेष्टुराँ चलाउनेहरुले समयमा नै व्यापार बन्द गर्न थालेका छन् । सट्टामा बरु राजनीतिको पसल मध्यरातमा खुल्ने र उधुम चल्ने गरेको छ । राजनीतिले जब देश, काल, समय र परिवेश हेर्दैन, त्यहाँ केबल ‘बतासे–उपलब्धि’ मात्रै हात पर्छ ।

धर्मनिरपेक्षता, संघीयतादेखि पछिल्लो हाम्रो परिवेश ‘दलीय–ओथारो’बाट प्राप्त भएको होइन । डलर र यूरोका ‘प्लक’ जडानमार्फत् वैयक्तिक स्वार्थको ताप र रापले त्यसलाई ‘एजेण्डा’ बनाइएको हो । यो स्वीकारोक्तिमा जबसम्म हाम्रा मुखले रहस्य खोल्दैन, तबसम्म मुलुकको गणतान्त्रिक ह्याचरीबाट राष्ट्रवादी चल्लाहरु नजन्मने पक्का छ । हाम्रा पिताजीका पालामा राजनीति ‘कुखुरा–पालन’ जस्तो तात्तातो र नाफामुखी थिएन । त्यतिखेर कार्यकर्ताहरु १०×१२ को कोठामा चल्ला झैँ थुनिएर दाना खाएकै भरमा ‘कुखुरी.... काँ...’ गर्दैनथे । परिवर्तनका खातिर अँध्यारो विरुद्ध मात्रै सचेतनाको शंखघोष हुन्थ्यो । अचेल त कार्यकर्ता होइन नेताहरु नै खोरमा थुनिएर दानापानी खोजिरहेका भेटिन्छन् । नभनूँ भन्छु तर भन्नैपर्छ । नदुखौं भन्छु मन दुखाउनै पर्छ । दुई आँखामध्ये एउटा रोइरहेको र अर्कोले खुच्चिङमा आँखा झिम्काइरहेको पटक्कै मन पर्दैन मलाई । हात छन्– दुई । यसलाई देव्रे–दाहिनेमा विभेद गर्न मन लाग्दैन मलाई । मैले हिड्नुपर्छ भन्दैमा अर्कोलाई बाटो छेक्न मन लाग्दैन । तर के गर्नु ? यसले जीवन–जगत् चल्दो रहेनछ । यहाँ त कालो पट्टिले आँखा बाँधिएकी न्यायमूर्तिले नै तराजु ढलपल गराउँदी रहिछिन् । न्यायले नै ‘अन्याय’ गरेपछि कसको के लाग्छ ? मेरी छोरीमा जस्तै मैले भरोसा गरेको तपाइँले नै भनिदिनुस्– ‘म सत्य हेरूँ कि नहेरूँ श्रीमान् !’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ