arrow

नेपाली तारा जो विश्वमा चम्किंए

logo
प्रकाशित २०७३ माघ १ शनिबार
naya_Patrika.jpeg
काठमाडौं।खाडी र मलेसियामा पसिना बगाउने मात्र होइन, विश्व विज्ञानमा सिर्जना गर्ने, समाजमा योगदान गर्ने र राजनीतिमा नेतृत्व गर्ने तहमा पुगिसकेका छन् नेपाली । नेपालीको उमंग बढाउने उनीहरूको कथा नयाँ पत्रिका दैनिकमा विश्वास खड्काथोकीले खबर लेखेका छन् ।
 
प्रबल गुरुङ 
विश्वको फेसन डिजाइनमा प्रवलको उपस्थितिले पूर्वीय एकाधिकार तोडेको छ । काठमाडौंको सेन्ट जेभियर्सबाट एसएलसी पास गरेका प्रबलले दिल्लीमा फेसन डिजाइनर अध्ययन गरेका हुन् । नेसनल काउन्सिल अफ होटेल म्यानेजमेन्ट कलेजमा पढ्न मुम्बई गएका प्रबलले पछि दिल्लीको नेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीमा डिजाइनको कोर्स गरेका थिए । 
त्यसपछिको केही समय उनले दिल्लीका केही संस्थाहरूमा मनीष अरोरासँग डिजाइनमा सहकार्य गरेका थिए । सन् १९९९ मा न्युयोर्कको बाटो तय गरेपछि उनको जीवन नै परिवर्तन भयो । विभिन्न संस्थामा इन्टर्नसिप गर्दै र विभिन्न व्यक्तिसँग सहकार्य गर्दै उनले सन् २००९ मा न्युयोर्कमा एकल फेसन विक र २०१० मा पहिलोपटक रनवे सोसमेत गरे । सन् २०११ देखि प्रबलले शिक्षा फाउन्डेसन नेपाल नामक संस्था सञ्चालनमा ल्याएका थिए । विश्व फेसनको प्रतिष्ठित संस्था फेसन ग्रुप इन्टरनेसनलले प्रबललाई नाइट्स अफ स्टार्स सम्मान दिएको छ । उनलाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले पनि सम्मान गरेको थियो । उनका अधिकांश डिजाइनमा नेपाली संस्कृतिको समेत सम्मिश्रण छ । 
 
सञ्जिता प्रधान 
अमेरिकी राष्ट्रपति बाराक ओबामाले २०१५ मेमा सञ्जिता प्रधानलाई आफ्नो एसियन, अमेरिकन तथा प्यासिफिक आइल्यान्डरसम्बन्धी सल्लाहकारमा नियुक्त गरे । प्रधान पति र छोरासहित सन् २००६ मा अमेरिका गएकी थिइन् । संखुवासभाको चैनपुरमा जन्मिएकी सञ्जिताले धरान विजयपुर बोर्डिङ स्कुलबाट एसएलसी पास गरेकी थिइन् । कृषि क्याम्पस रामपुर चितवनबाट बिएस्सी–एजी सकेपछि उनले भारतबाट एमबिए सकाइन् ।
 त्यसपछि जिटिजेडमा काम गरिन् । अमेरिका पुगेपछि प्रधान बैंकमा कस्टुमर सेल्स रेप्रेजिन्टेटिभ र फाइनान्सियल फर्म मार्केटिङको जागिर छाडेर  रिफ्युजी सर्भिस अर्गनाइजेसनमा स्वयंसेवकका रूपमा समेत काम गरेकी थिइन् । 
 
लुजेन्द्र ओझा 
सन् १९९० मा काठमाडौंमा जन्मिएका ओझाले लैनचौरको योघारी हाइयर सेकेन्डरी स्कुलमा चार कक्षासम्म अध्ययन गरेका थिए । उनले ज्ञानेश्वर पब्लिक स्कुलमा पनि अध्ययन गरेका थिए । सन् २००५ देखि अमेरिका बस्दै आएका उनको पुख्र्यौली घर भने डोटीको महादेवस्थान हो । लुजेन्द्रका बुबा टंक ओझासमेत वैज्ञानिक हुन् । एरिजोनाबाट विद्यावारिधि गरेसँगै टंकलाई वैज्ञानिकका रूपमा अनुबन्धित गरेको थियो । 
लुजेन्द्रले पनि एरिजोनाबाटै प्लानोटरी साइन्स र जियो फिजिक्सबाट ब्याचलर गरेका थिए । सन् २००७ देखि २०११ सम्म एरिजोनामा पढेपछि उनले जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट प्लानोटरी साइन्स र भोन्कानोलोजीबाट विद्यावारिधि गरे । सन् २०१६ देखि उनी जोन्स हकिङ विश्वविद्यालयमा ब्लास्टेन पोस्ट डक्टरल फेलो हुन् । 
 
डा. कुमुद धिताल 
संसारमा पहिलोपटक मृतकको मुटु झिकेर प्रत्यारोपणको शल्यक्रिया डा. कुमुद धितालले गरे । अस्ट्रेलियाको सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत डा. धितालले सन् २०१४ मा तीन मुटु तीनजना बिरामीमा प्रत्यारोपण गरे । त्यसपछि उनले विश्वभर चर्चा मात्र कमाएनन् नेपालीको शिरसमेत उचो बनाए । 
सिड्नीकै ५७ वर्षीया मिसेल ग्रिबिलास र ४० वर्षीय जेन डामेनमा उनले मुटुको सफल प्रत्यारोपण गरेका थिए । आधा घन्टा पहिले चल्न बन्द भएको मुटुलाई पुनः परिचालित र प्रत्यारोपण गर्न सेन्ट भिन्सेन्ट अस्पताल र ‘भिक्टर चाङ कार्डियाक रिसर्च इन्स्टिच्युट’का अनुसन्धाताले सघाएका थिए । त्यसअघि ब्रेन डेथ भएकाहरूको मुटु मात्र प्रत्यारोपण हुँदै आएको थियो । गोर्खा खरिबोटका विष्णुप्रसाद र लक्ष्मी धितालका पुत्र कुमुदको जन्म इटालीमा भएको हो । 
विष्णुप्रसाद राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रममा जागिरेका रूपमा इटली गएका वेला कुमुद जन्मिएका हुन् । विष्णुप्रसाद वि.सं. २००१ को एसएलसी बोर्डटपर हुन् । नेपालको सेन्ट जेभियर्समा सात वर्ष पढेका कुमुदले इटालीपछि बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा मेडिकल साइन्स पढे । उनले सन् २००० मा लन्डन विश्वविद्यालयबाट मस्तिष्क नसाको उपचार विषयमा पिएचडी गरेका थिए । क्याम्ब्रिज विश्वविद्यालयबाट मुटुको शल्यक्रियासम्बन्धी ट्रान्सप्लान्ट फेलोसिप (एफआरसिएस) गरेका उनले अमेरिका र लन्डनमा पनि काम गरेका थिए । 
अहिले उनी अस्ट्रेलियाको सेन्ट भिन्सेन्ट्स अस्पतालमा कार्डियोथोरासिक सर्जन छन् । कुमुद युनिभर्सिटी अफ न्यु साउथ वेल्सका एसोसिएट प्रोफेसर र भिक्टर च्याङ कार्डियाक रिसर्च इन्स्टिच्युटका फ्याकल्टी मेम्बरसमेत हुन् । 
 
अनिश गिरी 
नेपाली बुबा सञ्जय गिरी र रसियन आमा ओल्गाबाट २८ जुन १९९४ मा रसियामा जन्मिएका अनिश गिरीले पटक–पटक विश्व चेस च्याम्पियन उपाधि जितेका छन् । उनले १४ वर्षकै उमेरमा ‘ग्रान्ड मास्टर’को उपाधि पाएका थिए । अनिश बाबुआमासँगै सन् २००२ मा जापानको सापोरामा गए र २००८ सम्म बसे ।
 रसियामा छँदा नै उनी १४ वर्षमुनिको रसियन हाइयर लिगमा च्याम्पियन भएका थिए । त्यसपछि उनको परिवार नेदरल्यान्डमा बस्न थाल्यो । वल्र्ड चेस च्याम्पियन २०१० मा चौथो भएका गिरी २०१३ को वल्र्ड चेस च्याम्पियनसिपमा पहिलो भए । अनिश सन् २०१२, २०१४ र २०१६ को ओलम्पियाडमा लगातार पहिलो भएका हुन् । उनी सन् २०१२ को वल्र्ड सिटिज च्याम्पियनसिपमा र सन् २०१३ को युरोपियन च्याम्पियनसिपमा पनि पहिलो नै भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ