arrow

अरब घुम्दै प्रचण्ड, अवुधावीमा प्रवासी नेपालीसँग भेटघाट

‘तपाइँहरुको अनुभव र पूँजी नेपालको विकासको आधारशिला हो’

logo
प्रकाशित २०७३ माघ २ आइतबार
Arab-ma-pm.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त इमिरेट्स युएईको आवुधावीमा रहेका नेपालीसँग भेटघाट र छलफल गरेका छन् । दशौं विश्व भविष्य उर्जा सम्मेलनमा भाग लिन अरब पुगेका प्रधानमन्त्री दाहालले रहेको नेपाली दूतावासमा नेपालीसँग भेटघाट गरेका हुन् ।
भेटमा सहभागी प्रवासी नेपालीले वैदेशिक रोजगारीका क्रममा आफूले भोग्नुपरेका समस्या प्रधानमन्त्रीलाई खुलेरै सुनाए ।

छलफलका क्रममा दाहालले भने, ‘मेरो नेतृत्वको सरकारले विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता दिएको छ । हामी निरन्तर त्यसमा क्रियाशील छौं । तपाईहरुले यहाँ हासिल गरेको अनुभव र पूँजी नेपालको विकासको लागि आधारशिला हो, पूँजी हो । तपाईहरुले बगाएको पसिनाको सदुपयोग होस् भन्नेमा सरकार सचेत छ ।’

दाहालले अगाडि भने, ‘राजनीतिक रुपमा राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड गरेको छ ।’ राजनीतिक विकासक्रमबारे बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं, सबैका भावना छन्, राष्ट्रिय एकता हासिल गर्नुछ, कसैलाई पेलेर वा ठेलेर समस्याको हल हुँदैन । सरकार सबैसँग समान रुपले सम्वादमा छ । सम्वाद सकारात्मक दिशामा छ, राष्ट्रिय सहमति बनाएर संविधान कार्यान्वयन गर्नेमा सरकार छ ।’

उर्जा सम्मेलनबारे कुरा गर्दै दाहालले भनेका छन्, ‘उर्जा सम्मेलन हाम्रा लागि धेरै महत्वको छ । जलविद्युतको प्रचुर सम्भावना भएर पनि हामीले सदुपयोग गर्न सकेका छैनौं । अहिले हाम्रो ध्यान यसमा छ । हामीले वैदेशिक रोजगारीबाट आएको पुँजीलाई विकास आयोजनामा केन्द्रित गर्न खोजेका छौं । म विकासका कामलाई केन्द्रमा राखेर विकासका आयोजनाहरुको अनुगमन गरिरहेको छु । राजनीतिक विवादमा अल्झिएर हामीले विकासलाई उपेक्षा गरियो, अब त्यसो गर्नु हुँदैन । ईच्छाशक्तिका साथ नेतृत्वले देशको विकास लागि केही गर्नै पर्छ ।’

ब्लड मनी, पासपोर्टको नवीकरण शुल्क घटाउने लगायतका केही महत्वपूर्ण काम गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भने, ‘हामीले केही गर्न खोजेका छौं । यस्तो अवस्थामा सबैको साथ जरुरी छ । तपाईहरुको साथ पाएको छु, विकास र पूर्वाधार निर्माणमा तपाईहरुको थप सहयोग र सद्भावको अपेक्षा गरेको छु । तपाईहरुले जति पनि कुरा उठाउनु भएको छ । त्यसलाई म कुटनीतिक र राजनीतिक तबरले सम्बोधन गर्नेछु, त्यसमा तपाईहरु विश्वस्त हुनुहोला ।’ भेटमा उर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन, शिष्टाचार महापाल दीपक अधिकारी लगायत सहभागी थिए ।

दाहालको घुमघाम कार्यक्रम
आइतबार विहान आवुधावीमा रहेको शेख जायद ग्राण्ड मस्क (मस्जिद) को भ्रमण पछि प्रधानमन्त्री दाहाल दिउँसो नेपाली दूतावास आबुधाबीले आयोजना गरेको भेटघाटमा सहभागि भए । प्रवासी नेपालीसँगको भेटपछि प्रधानमन्त्री दाहालले समकक्षी शेख मोहमद विन रासिद अल मोक्तुमसँग भेटघाट गर्ने कार्यक्रम छ ।

यस्तै, विश्वको अग्लो भवन बुर्ज खलिफाको भ्रमण गर्ने र दुबईमा नेपाली जनप्रगतिशिल मञ्च युएई र नेपाली विजनेस काउन्सिलको आयोजनामा हुने भेटघाट कार्यक्रममा सहभागि हुने तालिका पनि छ । सोमबार आवुधावीमा रहेको राष्ट्रिय प्रदर्शनी सेण्टरमा सञ्चालन हुने विश्व उर्जा भविष्यबारेको सम्मेलनमा विशेष सम्बोधन र युएईका युवराज शेख मोहम्मद बिन जायद बिन सुल्तान अल नह्यानसँग भेटघाटको कार्यक्रम छ ।

यस्तै, युएईका सहायक प्रधानमन्त्री शेख मनसुर विन जायद अल नह्यानसँग भेटघाट तथा युएईमा रहेका नेपाली कामदारको पारिश्रमिक र सामाजिक तथा पेशागत  सुरक्षाको विषयमा छलफल गर्ने कार्यक्रम छ । मंगलबार युएईको समय अनुसार बिहान १० बजेपछि स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ