arrow

गाँजाखेती छाडी तरकारी खेतीमा रमाउँदै

logo
किरण भट्टराई,
प्रकाशित २०७३ माघ २ आइतबार
kisan-naya-photo.jpeg
मकवानपुर। केही वर्षअघिसम्म गाँजाखेतीमा लागेका मकवानपरका केही गाउँका बासिन्दा अहिले अदुवा र तरकारी खेतीमा रमाउन थालेका छन् । जिल्लाको नामाटार, कालिकाटार, भार्ता, गोगने, राकसिराङ, खेराङ, काकडा, सरीखेतलगायतका स्थान गाँजाखेतीका लागि बदनाम थियो । तर अहिले उल्लेख्य मात्रामा गाँजाखेती घट्दै गएको छ । गाउँलेमा आएको चेतना र प्रशासनले गरेको कडाइका कारण गाँजाखेतीमा कमी आएको हो । 
 
विसं २०५५पछि मकवानपुरमा गाँजाखेतीले तीव्रता पाउन थालेको हो । सशस्त्र युद्धका कारण सुरक्षा निकाय गाउँ जान नपाएको मौका छोपी गाउँलेले गाँजाखेती गर्न थाले । गाँजाको अलावा अफिमखेती समेत हुन्थ्यो । पछिल्लो पाँच वर्षदेखि प्रहरी प्रशासनले गाँजा फँडानी अभियानलाई तीव्रता दिएपछि अहिले न्यून हुँदै गएको छ । गत वर्ष मात्रै प्रहरीले जिल्लामा दुई सय बिघा जमिनमा गाँजा फँडानी गर्‍यो । 
 
स्थानीयवासी वीरबहादुर सिङ्तानले पहिलेपहिले भारतीयले जग्गा भाडामै लिएर गाँजाखेती गर्ने गरेको बताउनुभयो । नामाटारमा गत वर्ष गाँजा फँडानी गर्दा प्रहरी उपरीक्षक धिरजप्रताप सिंहको नेतृत्वमा रहेको लागुऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीमाथि पहाड माथिबाट ढुङ्गामुढा हुन थालेपछि प्रहरीले गोली चलाउनुपरेको थियो । 
 
ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले भन्नुभयो–“पहिलेपहिले त यहाँ फँडानी गर्न आएको प्रहरी टोलीलाई गाउँलेले पानीसम्म खान दिँदैनथे । पसलमा गयो केही सामान किन्न दिँदैनथे ।” उहाँले अहिले परिस्थिति फेरिएको छ भन्दै गाउँलेले आफैँ गाँजाखेतीविरुद्ध अभियान सञ्चालन गरिरहेका छन् भने। 
 
ब्यूरोको प्रहरी टोलीले स्थानीयवासीसँगको सहकार्यमा केही दिनअघि गाँजाखेतीविरुद्ध नामटारमा बृहत् कार्यक्रम नै आयोजना गर्‍यो । एकातर्फ प्रशासनको कडाइ अर्कोतर्फ गाँजाको विकल्पमा अदुवा खेतीबाट गाँजामा भन्दा राम्रो कमाई हुन थालेपछि स्थानीयवासीको आकर्षण अदुवाखेतीतर्फ हुन लागेको कालिका उच्चमावि, नामटारका सहायक प्रधानाध्यापक रामप्रसाद कालाखेतीले जानकारी दिए । 
 
एक गाउँलेले भने–“हामीले १० कट्ठामा गाँजाखेती गर्दा  पाँच लाख सम्मको आम्दानी हुन्थ्यो, सोही जग्गामा अहिले अदुवाखेती गर्दा  १० लाखसम्म कमाइयो । गत वर्ष अदुवाको मूल्य एक किलोको १ सय ५० सम्म पुगेकाले सो बराबरको रकम कमाएका गाउँले यो वर्ष घटेर किलोको रु २५ मात्रै हुँदा निराश भएका छन् । 
 
मकवानपुरमा अदुवाखेतीसँगै आलु, मूला, लगायतको खेतीको राम्रो उब्जनी हुन्छ । अदुवाको मूल्य घटेको तथा गाउँको बाटो र यातायातको समस्या हुँदा आफूहरुले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएको स्थानीयवासी बताउँछन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ