arrow

सुन तस्करीमा विभिन्न तह, प्रहरीले भन्न नमिल्ने ‘लियर’ पत्ता लायो

भरिया मात्रै समातिन थालेपछि संगठित अपराध ऐन समातियो

logo
प्रकाशित २०७३ माघ २ आइतबार
gold-plate.jpg.jpeg

काठमाडौं ।  अवैध सुन र विदेशी मुद्रा सहित पक्राउ गरेका तीन चिनियाँ र दुई नेपालीलाई संगठित अपराध निवारण ऐन अनुसार अनुसन्धानका लागि प्रहरीले अदालतबाट म्याद लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रद्युम्न कार्कीका अनुसार उनीहरुलाई संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धानका लागि म्याद लिइएको छ । महानगरीय अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंलाई संगठित अपराधमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले सात दिन हिरासतको म्याद दिएको हो ।

लगातार सुन बरामद भएपछि प्रहरीले अनुसन्धान बढाएको र तस्करीको एक तह पत्ता लागेको एसपी कार्कीले बताएका छन् । यद्यपि, कार्कीले तस्करीको त्यो तहबारे अहिले बोल्न नमिल्ने बताए । उनले भने,  ‘तस्करीका विभिन्न तह (लियर) हुन्छन् । हामीले एक लिययर (तह) पत्ता लगाएका छौं । त्यो तहबारे अहिले भन्न मिल्दैन ।’ पुस १३ गते पछि मात्रै प्रहरीले लगातार तीन पटक ठूलो परिमाणको सुन बरामद गरेको छ । यद्यपि, ती घटनाक्रमको प्रकृति एउटै देखिएको छ ।

सुन र सुन बोक्ने भरिया समातिने त्यसको मालिक पत्ता नलाग्ने । शनिबार बालाजु वृत्तले समातेको १५ किलो सुन बरामदका क्रममा पनि गाडी चालक मात्रै समातिए । यसरी भरियामात्रै समातिने घटना दोहोरिएकाले संगठित अपराध अन्तर्गत नै अनुसन्धान अघि बढाइएको एसपी कार्कीले बताए ।

उनले भने, ‘यसका विभिन्न तह पत्ता नलागेसम्म राजश्व अनुसन्धानकहाँ पेश नगर्ने रणनीति लिएका छौं ।’ शनिबार मात्रै महाशाखा र  प्रहरी वृत्त बालाजुले भिन्दाभिन्दै करिब पौने पाँच करोड नेपाली रुपैयाँ बराबरका विदेशी मुद्रा र १५ किलोग्राम सुन सहित तीन चिनियाँ र दुई नेपालीलाई पक्राउ गरेको थियो ।

अपराध महाशाखाको टोलीले ठमेलबाट भाडाको स्कोरपियो गाडी लिएर गल्छी हुदै केरुङ जादै गरेका दुई महिला सहित तीन चिनियाँ र नेपाली सवारी चालकलाई नागढुङगाबाट पक्रेको हो । महाशाखाको विशेष टोलीले चिनियाँ नागरिक चाङ तोङ फाङ, चौ सलियन, चाउ लियाङ फङ र सवारीचालक  पेम्बा तामाङलाई सुटकेशमा फल्स बटम बनाएर विभिन्न देशका मुद्रा तस्करी गर्न लागेकै अवस्थामा पक्राउ गरेको हो ।

शनिबार बिहान साढे १ बजेतिर चमती क्षेत्रमा टाटा सुमोको इन्जिनमा लुकाएको अवस्थामा १५ किलो सुन सहित चालक भक्तपुरका रविन्द्र भुजेल बालाजु बृत्तको टोलीले फन्दामा परे । केन्द्रीय अनुसन्धान व्यूरो प्रमुख डीआइजी नवराज शिलवालले सुन तस्करीबारे घनघोर अनुसन्धान भइरहेको बताउँदै कुन् कुन् तहको संलग्नता छ भन्नेबारे अहिले भन्न नमिल्ने बताएका छन् ।

उनले भने, ‘विमानस्थल भन्सारका कर्मचारीको संलग्नतापछि यसको लियर विभिन्न तह सम्म पुगेको देखिएको छ ।’ सुरक्षाकर्मी र सुरक्षा निकायकै संलग्नता रहेकोबारे समेत अनुसन्धान भइरहेको डीआइजी शिलवालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ