arrow

उपत्यकावासीलाई सचेत, जमिनमुनिको पानी घट्दा जमिन भासिने खतरा

logo
प्रकाशित २०७३ माघ ३ सोमबार
kathmandu-valley.jpeg
काठमाडौं । काठमाडौं उपत्यकाको जमिनमुनि पानीको सतह हरेक वर्ष घट्दै गएको छ । जनघनत्व बढ्दै जाँदा जमिनमुनिबाट अत्यधिक पानी निकाल्न थालिएकाले उपत्यकाको जमिन भासिने खतरा भएको विज्ञहरूले बताएका छन् । 
 
भूमिगत जलस्रोत विकास समितिका सिनियर डिभिजन हाइड्रोजियोलोजिस्ट सुरेन्द्रराज श्रेष्ठका अनुसार आकाशबाट पर्ने पानी जमिनमुनि जति रिचार्ज हुन्छ, त्योभन्दा धेरै गुणा बढी  निकालिएको छ ।
 
 ‘रिचार्ज हुने पानीको मात्राभन्दा अत्यधिक पानी तानिएकाले सन्तुलन मिलेको छैन, यसबाट भयाभह अवस्था आउन सक्ने सम्भावना छ,’ श्रेष्ठले भने ।
 
समितिका अनुसार कीर्तिपुरमा ०५८ सालमा जमिनभन्दा आठ मिटरमुनि पानी भेटिन्थ्यो, तर ०७१ वर्षपछि ११ मिटरमुनि मात्रै पानी भेटिएको छ । 
 
ललितपुरको लुभुमा ०५८ सालमा पानीको सतह ३० मिटर मुनी थियो भने ०७१ सालमा ४० मिटर मुनि पुगेको देखिएको छ । 
 
मुलपानीमा ०५८ सालमा ३१ मिटर मुनि पानीको समत थियो, ०७१ सालसम्म पुग्दा ३४ मिटर मुनि पुगेको छ । त्यस्तै, पेप्सीकोलामा ०६५ सालमा ३० मिटर मुनी पानी भेटिन्थ्यो भने ०७१ सालमा ३८ मिटर मुनी पुगेको छ । 
 
यी क्षेत्रको नमुना परीक्षणका आधारमा विज्ञले उपत्यकाको सतह भासिन सक्ने विश्लेषण गरेका छन् ।
 
उपत्यकाको जमिन बालुवा र गेग्रानले बनेको कमजोर भु–बनावट भएकाले भासिने खतरा रहेको श्रेष्ठले बताए ।
 
 ‘जमिनमुनीबाट पानी निकाल्ने तर, पानी जाने अवस्था नभएमा स्वातह खाली भएको भाग भासिन सक्छ, काठमाडौं उपत्यकाको अहिलेको अवस्था यही हो’ उनले भने । 
 
भौगोलिक भूवनावट अनुसार जमिनमुनी पानी रिर्चाज हुन्छ । काठमाडौं उपत्यकामा सबैभन्दा धेरै पानी रिचार्ज हुने क्षेत्रमा अत्याधिक घरहरु बनेपछि  समस्या बढेको हो । 
 
पछिल्ला बर्षहरुमा बर्षा कम भएकाले जमिनमुनी पानी थोरै मात्र रिचार्ज हुने गरेको छ । तर, पानी तान्ने क्रम बढिरहेको छ ।
 
 ‘काठमाडौ उपत्यकामा वार्षिक एक हजार ५ सय मिलिमिटर वर्षा हुन्छ, आकाशको पानी रिचार्ज भई जमिन जाने हो’ श्रेष्ठले भने । 
 
विज्ञहरुका अनुसार उपत्यकाबाट हरेक वर्ष ७० लाख घनमिटर पानी साना ठुला ट्यूवबेल, इनारबाट तान्ने गरिएको छ ।
 
कुन कुन क्षेत्रमा कति घट्यो पानीको सतह
भुमीगत जलस्रोत विकास समितिले पानीको सतह मापन गर्न  उपत्यकाभर ३० वटा डिप ट्यूववेल राखेको छ । 
 
जसअनुसार ०५८ देखि ०७१ सालसम्म चार स्थानको पानीको सतह मापन गरेको छ । विज्ञहरुका अनुसार बाग्मती नदिको दायाँबायाँ क्षेत्रमा धेरै आकाशे पानी रिचार्ज हुन्छ ।
 
सबैभन्दा धेरै रिचार्ज हुने क्षेत्रमा टोखा, बुढानिलकण्ठ, सुन्दरीजल, गोकर्ण, बासबारी, धोविखोली क्षेत्र, साँखु, चोभार र फर्पिङ हुन् । यी क्षेत्रमा पनि अहिले जनघनत्व बढेको छ भने धेरै घर बनाइएको छ ।
 
उपत्यकाको पानीको अवस्था कस्तो  छ ? 
उपत्यकामा जमिन  सतहका खोलाको पानी प्रदुषित छ । तर इनार र साना ट्यूवेलबाट निकाल्ने पानी प्रदुषित मानिन्छ । तर जमिनमुनीबाट डिप ट्यूववेलले निकालेको पानी अरु भन्दा स्वच्छ मानिन्छ ।  
 
डिप ट्वुव वेलबाट निकालिने पानीमा आईरन र नाईट्राईड जस्ता तत्व पाइने र  प्रशोधन गरेमा खान पनि सकिने छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ