arrow

दुवईमा प्रधानमन्त्रीले भने, ‘तपाईहरुको पसिनाबाट आर्जेको रेमिट्यान्स सदुपयोग गर्छु’

मधेश बिनाको काठमाडौंको कल्पना गर्न सकिँदैन

logo
प्रकाशित २०७३ माघ ३ सोमबार
PM-dubai.jpeg

दुवई । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेश बिनाको काठमाडौंको कल्पना गर्न नसकिने बताएका छन् । आइतबार दुवईमा प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यसो भनेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, ‘पहाड र मधेशका नाममा क्षेत्रीय ध्रुवीकरण बढ्नु हुँदैन । हिमाल, पहाड र तराईबीचको एकता जोगाउनु हाम्रो पहिलो दायित्व हो । कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर राष्ट्रियता बलियो बनाउन सकिँदैन । मधेशका लागि काठमाडौं र काठमाडौंका लागि मधेश दुवै अभिन्न रुपमा जोडिएका छन् ।

दाहालले अगाडि भने,  ‘मधेश बिनाको काठमाडौंको कल्पना पनि गर्न सकिँदैन । सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रिय एकता र अखण्डताकै लागि हो ।’ सरकारको चासो आर्थिक समृद्धि र विप्रेषण (रेमिट्यान्स)को प्रतिफलयुक्त आयोजनामा लगानी गर्नुमा रहेको प्रधानमन्त्रीले जानकारी दिए । प्रधानमन्त्री दाहालले भने, ‘मेरो नेतृत्वमा सरकार बनेदेखि निरन्तर देश दौडाहामा छु । कसरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ, कसरी राष्ट्रिय आयोजनाहरु छिटो सम्पन्न गर्न सकिन्छ । तपाईहरुको पसिनाबाट आर्जेको रेमिट्यान्स कसरी सदुपयोग र लगानी गर्न सकिन्छ । यसका लागि मैले निरन्तर प्रयास गरिराखेको छु । आज साउदी अरबको विकास र चमत्कार हेर्ने अवसर मिल्यो । संसारका सबैभन्दा ठूला र अग्ला टावरहरु हेरियो । यहाँ मानव निर्मित टावर छ, नेपालमा प्राकृतिक टावर (सगरमाथा) छ । यी दुई वटा टावरलाई जोडेर नेपालको विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ ।’

प्रवासी नेपालीहरुसँग अन्तरक्रियापूर्व प्रधानमन्त्रीले नेपाली व्यवसायीहरुसँग कुरा गरेका थिए । अन्तरक्रियामा प्रधानमन्त्री दाहालले भने, ‘तपाईहरुले नेपालबाट आएर यहाँ व्यवसाय गर्नुभएको छ । हामी नेपालमा पनि लगानीको वातावरण बनाउन प्रयत्नशील छौं । त्यसका लागि मार्च २ र ३ मा काठमाडौंमा लगानी सम्मेलन गर्दैछौं । तपाईहरुले पनि नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश लैजान अनुरोध गर्छु ।’

प्रधानमन्त्रीले प्रवासी नेपालीहरुका समस्या प्रत्यक्ष बुझ्ने अवसर पाएकोमा जोड दिँदै भने, ‘तपाईहरुले आफ्ना समस्या र पीडा राख्नुभएको छ । मैले सरकारको तर्फबाट प्रवासी नेपालीहरुका समस्या समाधानमा निरन्तर कोशिस गरिरहेको छु । अध्यागमनलाई व्यवस्थित गर्ने, गलत काम गर्ने कर्मचारीलाई कार्वाही गर्ने, दुवईमा कन्सुलर कार्यालय खोल्ने विषयमा छिटै निर्णय लिनेछौं । बुझ्नुहोला, सरकार तपाईहरुको साथमा छ, आवश्यक सहयोगका लागि सक्दो कोशिस हुनेछ ।’

उर्जामन्त्री जनार्दन शर्माले नेपालमा विद्युत बजारको समस्या नरहेको भन्दै उत्पादित विद्युत नेपालमै खपत गर्न सकिने र साझा संकल्प गर्ने हो भने १५ वर्ष्भित्र देशलाई समृद्ध बनाउन सकिने बताए । भेटमा व्यवसायी र प्रवासी नेपाली कामदारहरुले नेपालको आर्थिक विकास र विदेशमा नेपालीले भोगिरहेका समस्या प्रधानमन्त्रीलाई सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ