arrow

जब भीम रावलले तराईमा भारतीय झण्डा गाड्ने तयारीको सूचना प्रचण्डलाई दिए...

मोर्चाको आपत्ति, रावललाई कारबाही गर्न माग

logo
राजनीतिक व्यूराे,
प्रकाशित २०७३ माघ ३ सोमबार
rawal-ra-dahal-news.jpeg

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले भारतको पटनामा नेपालको तराई क्षेत्रमा आउँदो वैशाखदेखि भारतीय झण्डा गाड्ने सम्मको निर्णय गर्ने बैठक भएको कुरा उठाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल झस्किए । राष्ट्रपति कार्यालयमा बसेको बैठकमै एमाले उपाध्यक्ष भीम रावले उक्त विषय उठाएका हुन् । राष्ट्रपतिसामु त्यति धेरै बोल्न नसकेका प्रधानमन्त्री दाहालले पछि रावललाई बालुवाटार भेट्न बोलाई विस्तृत कुराकानी गरे ।

गएको पुस १९ गते पट्नामा केवि राजनहित भारतका नेता र मधेस केन्द्रीत दलका दोस्रो तहका नेता सहभागि बैठकले माघबाटै शान्तिपूर्ण आन्दोलन थाल्ने र विस्तारै तराई क्षेत्रमा १ हजार बढी झण्डा गाड्ने गरी तयारी भएको गम्भीर विषय प्रधानमन्त्रीले सुनेपछि रावललाई निवासमै बोलाएका हुन् ।

रावलले हाम्राकुरासँग भने, ‘हो हामीलाई जानकारी आएको कुरा राष्ट्रपतिकै अगाडि मैले प्रधानमन्त्री र दलका शीर्ष नेताहरुलाई राखेको हुँ । त्यसबारे कार्यपत्रै प्रस्तुत गरेको भन्ने चैं होइन ।’ राष्ट्रपति कार्यालयमा भएको बैठकमा जानकारी मात्रै गराएको थिएँ, रावलले थपे, ‘पछि प्रधानमन्त्रीले बालुवाटार बोलाएर विस्तृतमा सोध्नु भो । मैले यो विषय सामान्य होइन । यसबारे चाँडै खोजविन गर्नुस् भने ।’ पछि उहाँले मोर्चाका साथीहरुसँगको बैठकमा सोध्नु भयो होला ।

रावलले पुस १९ गते पटनामा बैठक भएको जानकारी आफुले पाएकै आधारमा प्रधानमन्त्रीलाई विस्तृतमा भनेको बताए । यद्यपि, उनले मधेस केन्द्रित दलका नेताको सहभागिताबारे भने सरकारलाई नै सोध्न भने । ‘खोजी नीति गर्ने सरकारले हो, रावलले भने, ‘राष्ट्र रहने नरहने विषयमा गम्भीर कुरा आएपछि हामी नागरिकले जानकारीमा आएका विषय त सरकारलाई राख्न पाइन्छ नि ! मैले पनि त्यसै गरेको हुँ । यसको पुष्टी गर्ने काम सरकारको हो ।’ मैले प्रधानमन्त्रीलाई यसबारे छानविन गर्नुस् भने, जवाफमा उहाँले यसबारे जानकारी लिई विपक्षीसँग छलफल गर्छु भन्नु भएको थियो, रावलले भने, ‘अहिलेसम्म हामीलाई केही भन्नु भएको छैन ।’

मोर्चाको आपत्ति, रावललाई कारबाही गर्न माग
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सोमबार बसेको सचिवालय बैठकले राष्ट्रपति कार्यालयमै आफुहरुविरुद्ध षड्यन्त्र कुरा गरेको भन्दै आपत्ति जनाएको छ  । सद्भावना पार्टीको कार्यालय बानेश्वरमा बसेको मोर्चाको सचिवालय बैठकले राष्ट्रपति कार्यालयमै केही दलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाविरुद्ध षड्यन्त्र गरेको भन्दै आपत्ति जनाएको हो ।

बैठकले गरेको पाँच बुँदे निर्णयको दोस्रो बुँदामा भनिएको छ, ‘राष्ट्रपति कार्यालय जस्तो गरिमामय स्थानमा तथाकथित केही राष्ट्रवादी भनिदा दलहरुले, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायत मधेशवादी शक्तिहरुविरुद्ध गरिएको षड्यन्त्र निन्दनिय छ । झुठा सूचना सरकारलाई दिई राज्यलाई नै दिग्भ्रमित गर्ने उपर कडा कारबाही गर्न नेपाल सरकारसँग माग गर्दछौं ।’ माेर्चाले रावलाई कारबाहीकाे माग गरेकाे छ ।

प्रधानमन्त्रीले हामीलाई बैठकमा सोध्नु भो : झा
नेपाल सद्भावना पार्टीका नेता राजिव झाले प्रधानमन्त्रीले आफुहरुसँगको बैठकमा पटनामा बैठक भएको विषय सुनाएको बताए ।

राष्ट्रपतिको कार्यालयको बैठकमा तराइमा भारतको झण्डा गाड्ने गरी आन्दोलन हुँदैछ भन्ने कुरा आएको छ के हो भनेर प्रधानमन्त्रीले माघ १ गतेको बैठकमा सोध्नु भो, झाले भने, ‘त्यो बैठकमा म पनि उपस्थित थिएँ । प्रधानमन्त्रीले भन्नु भयो । पट्नामा तपाईहरुका दोस्रो तहका साथीहरु सहभागि भएको कुरा आयो ।’ यस्तो झुठा कुरा राष्ट्रपति, प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, गृहमन्त्री विमलेन्द्र निधि सहभागि बैठकमा एमालेले उठाएको कुरा हाम्रो बीचमा राखियो, झाले हाम्राकुरासँग भने । त्यही भएर हामीले त्यस्तो झुठा कुरा बोल्नेलाई कारबाही हुनुपर्छ भनेका छौं ।  पुस २१ मा राष्ट्रपतिको आहृवानमा बसेको पाँच दलको बैठकमा पूर्व गृह तथा रक्षामन्त्री समेत रहेका रावलले तराई कब्जा गर्ने गरी तयारी भइरहेको बताएका थिए ।

मोर्चा र एमालेका कुरा उस्तै हुन् : दाहाल
प्रधानन्त्रीका प्रशासनिक सल्लाहकार नारायणप्रसाद दाहालले एमाले उपाध्यक्ष रावलले उठाएको विषयमा मधेसी मोर्चाका नेतासँग छलफल भएपनि थप कुनै जानकारी नआएको बताए । उनले भने, ‘प्रधानमन्त्री बाहिर हुनुहुन्छ, केही जानकारी छैन ।’ जहाँ सम्म एमाले र मधेसी मोर्चाबीचको शंकाकाे विषय नौलो जस्तो लाग्दैन ।

उनले थपे, ‘मोर्चाका नेताहरु पटना जानु नौलो कुरा होइन । एमालेले तीललाई पहाड बनाउने नै भयो । दुवै उस्तै हुन् ।  विग्रिने र विगार्ने विषय यसरी हल्का ढंगले आउँदै आउँदैन ।’ हाँस्दै उनले भने, ‘कसैले भन्दे होलान् । यहाँ जाँड खाएर पनि देशका बारेमा कुरा हुन्छन् ।’ यस विषयमा प्रधानमन्त्री आएपछि केही छलफल होला ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ