arrow

कोठीडाँडालाई पर्यटकीयस्थल बनाइँदै

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
ilam.jpeg
इलाम । इलामको माईपोखरीस्थित जस्बिरेमा रहेको कोठीडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीय सरोकारवाला सक्रिय भएका छन् । जस्बिरेवासी ऐतिहासिक महत्व समेत बोकेको यस डाँडालाई वनभोज र दृश्यावलोकनको उपयुक्तस्थल बनाउन सक्रिय भएका हुन् ।
 
समुद्र सतहदेखि एकहजार ९५० मिटर अग्लो यो डाँडालाई दृश्यावलोकनका लागि उपयुक्त थलो बनाउन र वनभोज थलोको रूपमा विकास गर्न स्थानीय जस्विरे पर्यटन विकास सरोकार समितिनै बनाएर अघि बढिरहेका छन् । 
 
माइपोखरी गाविसले दिएको रु ५० हजारमा स्थानीयले आफ्नै गोजीबाट रु एक लाख ५० हजार सङ्कलन गरी डाँडामा बाटो पु¥याएका छन् । 
 
डाँडाको वरिपरि बाटो निर्माण गरिरहेका छन्, जसको माध्यमबाट डाँडा वरिपरि घुमेर इलाम जिल्लाको आधाभन्दा बढी रमणीय भू–भाग दृश्यावलोकन गर्न सकिन्छ । 
 
चियाले ढाकिएको यो डाँडामा पार्क, चिल्ड्रेन पार्क निर्माण गर्दै घुम्न र वनभोज खान आउने पर्यटकका लागि आकर्षक थलो बनाउन लागिएको सरोकार समितिका अध्यक्ष गृष्म सुब्बाले बताए । यसका लागि गुरुयोजना बनाउने काम भइरहेको पनि उनले बताए । 
 
वातावरणलाई समेत ध्यानमा राखेर प्राकृतिक रूपमा रमाउन चाहनेको रोजाइ कोठीडाँडा बन्न सकोस् भन्ने उद्देश्यले काम सुरू गरिएको स्थानीय कमल मुखिया बताउँछन् ।  
 
स्थानीय जनजीवन र संस्कृति झल्कने प्रतिमा स्थापना गर्ने र लोप भएर गएको रोटेपिङ बनाएर पर्यटकलाई आकर्षित गर्ने योजना रहेको अध्यक्ष सुब्बाले बताए ।
 
 “स्थानीय स्रोत साधन उपयोग गरेर यसलाई हामी सुन्दर बनाउने योजनामा छौँ”, अध्यक्ष सुब्बाले भने “दातृ निकाय र सरकारलाई हारगुहार गरेर हामी कोठीडाँडालाई पर्यटकीयस्थल बनाउन लागिपरेका छौँ ।” 
 
पर्यटन विकासका लागि कोठीडाँडाका जग्गाधनीले समेत मञ्जुरी दिइसकेकाले यसलाई आवश्यकता अनुसार सुन्दर बनाउन कुनै समस्या नहुने पनि समितिले जनाएको छ । 
 
विसं १९२० मा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले यो ठाउँ मन पराएर कोठी बनाएर केही समय बसेकाले यसलाई कोठीडाँडा समेत भन्ने गरिएको छ । 
 
जङ्गबहादुर राणाका छोरी–ज्वाइँको दरबार भएकाले पनि कोठीडाँडाको ऐतिहासिक महत्व रहेको जस्विरेका पूर्व शिक्षक सूर्य सुब्बा बताउँछन् । 
 
यसको ऐतिहासिकतासँगै जोडेर आकर्षक थलोको रूपमा विकास गर्न स्थानीय जुटेको पनि उनले बताए । 
 
कोठीडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीय जुटिरहेका बेला मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले स्थलगत निरीक्षण गरेर यो डाँडालाई पर्यटकीयस्थल बनाउन आफू पनि सकारात्मक रहेको बताए । 
 
डाँडाको अवलोकनपछि उहाँले यहाँबाट देखिने मनोरम दृष्यले पर्यटकलाई लोभ्याउने भएकाले यसको पर्यटकीय सम्भावना रहेको उनको बुझाइ छ । 
 
स्थानीय पर्यटन सरोकार समितिले निर्देशक द्यौरालीलाई डाँडाको पर्यटन विकासका लागि सहयोग गर्न आग्रह गरेका छन् । कोठीडाँडा जिल्लाको सबैभन्दा बढी भू–भाग दृष्यावलोकनका लागि सबैभन्दा सहज र उत्तम थलो भएको बरबोटे गाविसका पूर्वउपाध्यक्ष गङ्गा भूर्तेलले बताए । 
 
यसलाई पर्यटकीयस्थलको रूपमा विकास गर्नसके इलामको उत्तरी क्षेत्रको पर्यटन विकासमा थप बल पुग्ने सरोकारवाला बताउँछन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ