arrow

योजना बन्छन् तर पूरा हुँदैनन्, अब दिगो बनाउने तालिम

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
Jajarkot-hamrakura.jpg.jpeg
जाजरकोट । यहाँका १९ वटा योजनाका उपभोक्ता समितिलाई तालिम दिइएको छ । योजनाको दिगोपन र उपलब्धिमूलक बनाउन उपभोक्तालाई तालिम दिइएको हो । 
 
नेपाल सरकार तथा स्वीस सरकारको आर्थिक सहयोगमा जिल्ला विकास समिति अन्तर्गतको साना सिँचाइ कार्यक्रमले १९ सिँचाइ कुलो योजनाका १०० उपभोक्तालाई निर्माण गुणस्तर, मर्मत, संरक्षणका विषयमा प्रशिक्षण दिइएको हो । 
 
हचुुवामा विकास योजना निर्माणले दिगो नहुने र बजेट मात्र सकिने परिपाटीलाई न्यूनीकरण गर्न उपभोक्तालाई तालिम दिएको कार्यक्रम संयोजक इन्जिनियर महेश ढुङ्गानाले बताए । 
 
यहाँका उपभोक्तामा योजनालाई कसरी दिगोरुपमा प्रतिफल दिने बनाउने भन्ने ज्ञान कमीका कारण अधिकांश योजना छिटो नै भत्किने अवस्थामा पुग्ने देखिएकाले यस्तो तालिम दिनुपरेको ढुङ्गानाले बताए । 
 
एउटै योजनामा पटकपटक बजेट जाने तर निर्माण गुणस्तर नहुने समस्या देखिएको अब तालिमपछि कमी ल्याउन सकिने अपेक्षा लिइएको छ । 
 
उपभोक्तालाई योजनाको डिजाइन इस्टिमेट, निर्माण कार्यको गुणस्तर नियन्त्रण, गुणस्तरीय औजार तथा समग्रीको खरिद, वित्तीय पक्ष, श्रमदान, रकम निकासा तथा व्यवस्थापन, योजनाप्रति अपनत्व, समावेशी सहभागितालगायतबारे प्रशिक्षित गरिएको छ । 
 
तालिम लिएका उपभोक्ताले योजनामा निकासा भएको रकमको सदुपयोग गर्ने बताएका छन् । 
 
कार्यालयसँग सम्झौता भइसकेका योजनाका अध्यक्ष, कोषाध्यक्ष, सचिव, ज्यामी लगायतलाई तीन दिनसम्म उक्त तालिम दिइएको छ । 
 
चालु आवमा ३५० हेक्टर खेतीयोग्य जमिनका १९ सिँचाइ आयोजनाका लागि रु पाँच करोड ३५ लाख खर्च हुनेछ । 
 
योजना अवधिभरका लागि २५० मजदुरको बिमा समेत गरिने छ । यस जिल्लामा स्थानीय उपभोक्ताद्वारा निर्मित अधिकांश योजनाबाट दिगो उपलब्धि नहुने गरेको छ । 
 
सिमेन्ट, छड, काठलगायत कमसल निर्माण सामग्रीको प्रयोग र अदक्ष उपभोक्ता तथा ज्यामीले निर्माण गरेका सिँचाइ कुलो, खानेपानी, भवन र सडक योजना वर्ष नपुग्दै मर्मत गर्न बजेटको माग हुने गरेको छ । 
 
जिल्ला विकास समिति, नगरपालिका, गाउँ विकास समिति, शिक्षालगायत कार्यालय अन्तर्गत सञ्चालन हुने अधिकांश योजनाको निर्माण गुणस्तरहीन हुने गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ