arrow

रोजगारीमा सरकारको नयाँ लक्ष्यः ६ महिनामा ६० हजार रोजगारी

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
nepali.jpeg
काठमाडौं । सरकारले आगामी छ महिनाभित्र ६० हजार बेरोजगार युवालाई रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र साना किसान विकास बैंकको क्षेत्र विस्तार गर्दै ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने सरकारको योजना छ ।
 
अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको ‘समृद्ध नेपालको लागि दीगो आर्थिक विकासको तत्कालीन कार्यान्वयन कार्ययोजना २०७३’ मा ठूला आयोजनाहरूको कार्यान्वयन, पुनर्निर्माण कार्यमा तिब्रता दिएर रोजगारी सिर्जना गरिने उल्लेख छ । 
 
यस्तै, स्वरोजगार कार्यक्रमहरूको विस्तार, वित्तीय पहुँचको विस्तार र अन्य सामाजिक कार्यक्रमहरूको विस्तार गरी आन्तरिक रोजगारी बढाइने जनाएको छ ।  
 
बैंकको पहुँच गाउँसम्म
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले रोजगारी सिर्जना गर्न बैंकिङ पहुँचको विस्तारसँगै ग्रामीण क्षेत्रमा लक्षित वर्गलाई कर्जा प्रवाह गरी विपन्न वर्गलाई माथि उठाउने नीति अंगिकार गरिने बताए । 
 
उनले युवा स्वरोजगार कोषमार्फत ५० हजार र साना किसान विकास बैंकको कार्यक्षेत्र विस्तारबाट १० हजारलाई तत्काल थप रोजगारी सिर्जना गर्ने दावी गरेका हुन् । 
 
त्यसका लागि ७५ जिल्लामै कोषको कार्यक्षेत्र विस्तार गरिनेछ भने ‘एक इलाका एक नमूना योजना’ र ‘एक इलाका एक व्यवसाय र एक परिवार एक रोजगार’को नारालाई कार्यान्वयन गरिनेछ । 
 
युवाहरुलाई शीघ्र ऋण र तालिम
यी कार्यक्रम कार्यान्वयन गर्न हालको कार्य प्रणालीलाई सरलीकृत गरी आयोजना, शैक्षिक प्रमाणपत्र वा सामूहिक जमानीमा शीघ्र ऋण दिनुका साथै ऋण लिने युवाहरूलाई व्यावसायिक सीप विकास तालिम केन्द्र, घरेलु तथा साना उद्योग विकास समिति र कार्यालयहरूबाट तालिम दिइने योजना सरकारको छ । 
 
साना किसान विकास बैंकमार्फत साना किसानलाई तरकारी खेतीमा प्रोत्साहन गर्न तरकारी खेती कर्जा कार्यक्रम सुरु गराइने उल्लेख छ । 
 
चालू आर्थिक वर्षमा ३४ हजार हेक्टरमा तरकारी खेती विस्तार गर्ने योजनामा उल्लेख छ । (कारोबार दैनिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ