arrow

रित्तिए बैंक, लगानीयोग्य पुँजी अभाव, यी छ कारण–

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
nepal-rastra-bank.jpeg
काठमाडौं । लगानीयोग्य पुँजी (तरलता) रित्तिएपछि बैंकहरू थप कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । कर्जाको माग बढे पनि पछिल्लो एकडेढ महिनायता बैंकहरूसँग लगानीयोग्य पुँजी अभाव हुँदै गएको छ । ‘‘पछिल्लो समय कर्जाको माग बढेको छ तर कर्जाको अनुपातमा निक्षेप बढ्न सकेको छैन’, नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘अब बैंकहरू थप ऋण दिनसक्ने अवस्थामा छैनन् ।’
 
पुँजीगत बजेटको करिब दुई खर्ब रकम सरकारी खातामै थन्किनु, बैंकमा कर्जा वृद्धि हुनु, तुलनात्मक रूपमा निक्षेप जम्मा नहुनु, घरघरमा रकम थन्किनुजस्ता कारणले बैंकहरूमा लगानीयोग्य पुँजी अभाव भएको हो । 
 
रेमिट्यान्सको वृद्धिदर घट्नु र भूकम्पपीडितले पाएको रकमसमेत बैंकमा नफर्कनुजस्ता कारणले यो समस्या झनै चर्काएका छन् ।
 
‘विकासे आयोजनाहरूको कार्य तदारुकतासाथ अघि बढ्न नसक्दा अर्थात् खर्च नहुँदा सरकारको ढुकुटीमा दुई खर्ब रुपैयाँ थन्किएको छ, उनी भन्छन्, ‘उक्त रकम खर्च भइदिएको भए यस्तो अवस्था आउने थिएन ।’ त्यसैले लगानीयोग्य पुँजीको चरम अभाव बैंकहरूले झेलिरहनु परेको हो ।
 
उत्पादनमूलकदेखि व्यापारसम्म लगानीका सबै क्षेत्रमा अहिले कर्जाको माग अत्यधिक छ । अहिले सबै वाणिज्य बैंकलाई यसै वर्षभित्र आठ अर्ब चुक्ता पुँजी पुर्‍याउनुपर्ने दबाब छ ।
 
यसका लागि उनीहरूले लगानी बढाए पनि त्यस अनुपातमा निक्षेप आएको छैन । ‘चार वर्षपहिले पनि यस्तै तरलता अभाव भएको थियो । 
 
त्यति बेला तीनचार महिनासम्म बैंकहरूले कर्जा प्रवाह नै रोकेका थिए । तर, त्यति बेला र अहिलेको अवस्था फरक छ, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘अहिले भुक्तानी सन्तुलन (ब्यालेन्स अफ पेमेन्ट) सकारात्मक छ ।’
 
कर्जा प्रवाह बढे पनि निक्षेप अनुपात घट्दा बैंकहरूमा लगानी गर्न नसक्ने गरी तरलता अभाव भएको छ ।
 
सरकारी ढुकुटीमा थन्किएको रकम खर्च भएमा यो समस्या समाधान हुने दाहालले बताए । ‘चार वर्षअघि भने भुक्तानी सन्तुलनसमेत नकारात्मक थियो, त्यसैले ऋण दिन नै रोक्नु परेको थियो, दाहालले बताए ।
 
ऋण प्रवाह रोकिएपछि पुनः बैंकहरूमा अधिक तरलता जम्मा भएको थियो । तरलता बढेपछि निक्षेपमा दिने ब्याज बैंकले घटाएका थिए, जुन अहिलेसम्म पनि कायमै छ । 
 
केही वर्षयता लगानीका अवसरहरू सिर्जना हुँदै जाँदा लगानीमैत्री वातावरण बनेको छ जसले बैंकहरूबाट कर्जा प्रवाह बढ्यो ।
 
नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा निक्षेपमा ब्याज नबढाउँदा बैंकहरू क्रेडिट क्रन्चको अवस्थामा पुगेको बताउँछन् । 
 
‘बैंकहरूले दीर्घकालीन सोच राखेर निक्षेपको ब्याजदर बढाएको भए अहिले यो अवस्था आउने थिएन’, थापाले भने, ‘कर्जाको माग बढ्यो, वित्तीय साधन तरलता जम्मा गर्ने ब्याजदर बढेन ।’
 
केही महिनायता बैंकहरूले निक्षेपमा ब्याजदर बढाएका छन् । तर, यसले निक्षेप आकर्षण गर्न सकेको छैन । वित्तीय संस्थाले दीर्घकालीन सोच र योजना नबनाउँदा समस्या आएको बैंकर्सहरू नै बताउँछन् । 
 
पछिल्लो समय बैंकहरूले मुद्दतीमा साढे ११ र बचतमा चार÷पाँच प्रतिशतसम्म ब्याज दिन थालिसकेका छन् तर पनि क्रेडिट क्रन्च यथावत् छ ।
 
गत असार र साउनसम्म मुद्दती खातामा करिब पाँच प्रतिशत ब्याज दिँदै आएका बैंकले अहिले साढे ११ प्रतिशतसम्म ब्याज दिन थालेका छन् । 
 
तैपनि लगानीयोग्य पुँजी खासै थपिएको छैन । यसको दीर्घकालीन समाधानका लागि कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) हटाउन वा कम गर्न एसोसिएसनले माग राखेको छ ।
 
राष्ट्र बैंकको व्यवस्थाअनुसार कुल निक्षेपको ८० प्रतिशतमात्र कर्जा प्रवाह गर्न पाइन्छ । बाँकी २० प्रतिशत रकम बैंक आफैंले राख्नुपर्छ । यस्तो रकम अहिले पनि बैंकहरूसँग चार खर्ब ८८ अर्ब रकम बाँकी छ ।
 
‘अहिले बैंकहरूको सीडी रेसियो ७९ प्रतिशत पुगिसक्योु, एसोसिएसनका अध्यक्ष अनीलकेशरी शाहले भने, ‘यसले गर्दा कर्जा प्रवाहमा समस्या उत्पन्न भएको छ ।’
 
एसोसिएसनका उपाध्यक्ष ढुंगानाका अनुसार अहिले बैंकहरूसँग तरलता रित्तिएको होइन, लगानी गर्ने पुँजी रित्तिएको हो ।
 
 ‘यसलाई कर्जाका रूपमा लगानी गर्न पाउनुपर्ने हाम्रो माग हो’, ढुंगानाले भने ।
 
तत्काल देखिएको क्रेडिट क्रन्चको अवस्थालाई सम्बोधन गर्न सीडी रेसियोको व्यवस्था हटाउने वा तत्काल त्यो सम्भव नभए खुकुलो पारिदिन एसोसिएसनले माग गरेको छ ।
 
मंसिर मसान्तसम्म बैंकहरूले १३ क्षेत्रका विभिन्न उपक्षेत्रमा १८ खर्ब ३७ अर्ब लगानी गरिरहेका छन् । गत असार मसान्तसम्म यस्तो लगानी १६ खर्ब ८१ अर्ब थियो भने गएको वर्षको मंसिर मसान्तसम्म १४ खर्ब दुई अर्ब लगानी गरेका थिए ।
 
तरलता रित्तिनुका ६ कारण
 
पुँजीगत बजेट खर्च नहुनु ।
रेमिट्यान्सको वृद्धिदर घट्नु ।
भूकम्पपीडितको रकम बैंकमा नफर्कनु ।
कर्जा प्रवाह बढ्नु ।
निक्षेपको अनुपात घट्नु ।
घरघरमा रकम थन्कनु । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ