arrow

प्रचण्ड कमल थापा फकाउँदै, म्यादी सरकारमा नजाने दृढता

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
kamal-thapa-1.jpg.jpeg
काठमाडौं । संविधान संशोधन विधेयक पारित गराउन प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जस्तोसुकै कदम चाल्ने लक्षण ल्याएका छन् । त्यो कदम भनेको राप्रपादेखि साना दललाई सरकारमा सामेल गरेर आफ्नो पक्षमा बहुमत पार्नु हो । 
 
प्रचण्डले समाजवादी जनता पार्टी र अखण्ड नेपाल पार्टीलाई बिहीबार औपचारिक रुपमा सरकारमा हुल्दैछन् । तर राप्रपाले भने तत्काल सरकारमा सदस्यहरु नथप्ने अडान लिएको छ । 
 
राप्रपाका सहायक प्रवक्ता किरण गिरीले तत्काल राप्रपा सरकारमा नजाने बताए । हाम्राकुरासंग उनले ५ नम्बर प्रदेशको मुद्धा नमिलाई सरकारमा नजाने स्पष्ट पारे । 
 
उनले भने, ‘हाम्रो पार्टीलाइन पहाडी जिल्लालाई तराईबाट अलग गराउनु हुन्न भन्ने पक्षमा छ, तसर्थ ५ नम्बर प्रदेश टुक्राउने खेल सफल हुन नदिन पनि राप्रपा अहिले सरकारमा जाँदैन ।’
 
प्रचण्डले भने राप्रपाका अध्यक्ष कमल थापालाई सरकारमा आउन धेरै पटक आग्रह गरिसकेका छन् । राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएसंगै कमल थापाका २५ सिटलाई सदूपयोग गर्न प्रचण्ड लागिपरेका छन् । 
 
त्यस्तै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई पनि प्रचण्डले सरकारमा सहभागी हुन बोलाइसकेका छन् । 
 
संविधान संशोधनको विषय थाँतीमा राखेरै भए पनि स्थानीय निकाय निर्वाचनको मिति घोषणा गर्न प्रतिपक्षी दलहरुले आग्रह गरेका छन् । तर प्रचण्ड भने आफैले ल्याएको संविधान संशोधनको प्रस्तावलाई फिर्ता लिने पक्षमा देखिएका छैनन् । 
 
राप्रपा स्रोत भन्छ, ‘म्यादी सरकारमा गएर अब इज्जत के फाल्नू ।’ नेपाली काँग्रेससंगको भद्र सहमति अनुसार प्रचण्ड सरकारको आयू चैतसम्ममात्र हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ