arrow

पिउने पानीको हाहाकारः हावाबाट पानी सङ्कलन गर्ने प्रविधि बिग्रँदा संकट

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
tap-water.jpeg
तेह्रथुम । गुराँसको राजधानी भनिने तीनजुरे–मिल्के–जलजले क्षेत्रका विभिन्न बस्तीमा पिउने पानीको चरम अभाव खड्किन थालेको छ । सो क्षेत्रमा पर्ने तेह्रथुम र सङ्खुवासभाका सीमावर्ती टुटेदेउराली, घुर्मिसे, आरआर गार्डेन, तीनजुरे पाथीभरा र पाँचपोखरी लगायत बस्तीमा खानेपानीको चरम अभाव भएको हो । 
 
स्वच्छ पिउने पानी नपाउँदा यहाँ आइपुग्ने पैदलयात्री, आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयवासीलाई समस्या भएको घुर्मिसेका डिकबहादुर पौडेलले बताए । “एक दशकदेखि कुहिरोबाट पानी जम्मा गरेर उपभोग गर्दैै आएका थियौँ”, पौडेलले भने, “अहिले कुहिरोबाट पानी जम्मा हुने प्रविधि बिग्रिएपछि हामी यहाँका बासिन्दासँगै पर्यटक, पाथीभरामा आउने दर्शनार्थी र पैदलयात्रीलाई खानेपानीको समस्या छ ।” 
 
प्रायःजसो चौबिसै घन्टा कुहिरोले ढाक्ने यहाँका डाँडाकाँडालाई लक्षित गरी तीनजुरे पाथीभरा नजिकै कुहिरोबाट पानी जम्मा गर्ने जाली राखेर ट्याङ्की र धारा निर्माण गरिएको थियो । 
 
उतिबेला स्वास्थ्यका लागि पानी ९नेवा० नामक संस्थाले रु १८ लाखको लागतमा निर्माण गरिदिएको सो प्रविधिले दुई वर्षअघि सम्म पानी पिलायो । 
 
तर अहिले सो प्रविधिको मर्मतसम्भारका लागि प्राविधिक नहुँदा तथा मर्मत सामग्री महँगो पर्दा आफूहरुलाई पुनः खानेपानी समस्या जस्ताको तस्तै भएको स्थानीयवासीको गुनासो छ । 
 
दुईहजार आठसय मिटरदेखि माथिको उचाइमा रहेका यी स्थानमा पिउने पानीका अरू कुनै मुहान छैनन् । 
 
न त कतैबाट पानी ल्याउन सक्ने अवस्था नै छ । खानेपानीको समस्या भएपछि दशकअघि कुहिरोबाट पानी सङ्कलन गर्ने प्रविधि जडान गरिएको भए पनि अहिले बिग्रिएर पुनः मर्मत गर्न नसक्दा समस्या भएको तीनजुरे पाथीभरा मन्दिर फेदीका व्यापारी युवराज खड्काले बताए । 
 
यी बस्तीका बासिन्दाले एक गाग्री पानी ल्याउन एक घन्टा ओरालो झरेर उकालो चढ्नुपर्ने बाध्यता रहेको छ । 
 
हावाबाट पानी जम्मा हुने प्रविधि मर्मत नभएर बिग्रिएपछि आफूहरुले सास्ती बेहोर्नु परेको स्थानीयवासी धु्रव खड्काले बताए । 
 
प्रविधि बिग्रिएपछि सबैभन्दा बढी तीनजुरे डाँडामा रहेको पाथीभरा भगवती देवीको दर्शन गर्न आउने भक्तजन मारमा परेका छन् । 
 
“मन्दिर छेउको डाँडामा पानी सङ्कलन गर्न जडान गरिएको महँगो मूल्यका दुईवटा जाली थोत्रिएका छन् जसले गर्दा ट्याङ्कीमा पानी जम्मा नै हुँदैन, भक्तजनलाई साह्रै दुःख भयो”, खड्काले भने । 
 
यो क्षेत्रका यी बस्ती कुम्भकर्ण, मकालु, कञ्चनजङ्घा लगायतका हिमाल आरोहण पदमार्गमा पर्छन् । यही मार्ग भएर ताप्लेजुङको पाथीभरा दर्शनका लागि जाने पैदलयात्री पनि धेरै हुने गरेका छन् । 
 
यस्तै, ताप्लेजुङको पाथीभराकै शिला ल्याएर स्थापित यहाँको सानो तीनजुरे पाथीभरा मन्दिरमा पनि दैनिक सयौँको सङख्यामा भक्तजन आउने गरेका छन् । 
 
तर पानी नहुँदा तीर्थयात्रीले पूजाआजापछि खानका लागि पनि बोतलमा बोकेर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासी दावा शेर्पाले बताए । 
 
पानी अभावका कारण पाँचपोखरीका २० परिवार आफ्नै पुरानो थातथलो फर्किएका छन् । पानी नभएपछि दैनिकी गुजार्न तथा गाईगोठ चलाउन र व्यापार–व्यवसाय गर्न समेत समस्या भएपछि उनीहरु गाउँ फर्किएको पाँचपोखरीका डम्बरबहादुर बुढाथोकीले बताए । 
 
पहिले पाँचवटा पोखरी भएको आधारमा यो बजारलाई पाँचपोखरी भनिएपनि अहिले पोखरी सुकेर यहाँका बासिन्दालाई पिउनेपानीकै चरम अभाव भएको हो । 
 
खानेपानी समस्या भएपछि यहाँ बस्दै आएका बासिन्दा धमाधम तलतिर बसाइँ सर्न थालेका छन् । 
 
पूर्वकै आकर्षक गन्तव्य मानिने यी क्षेत्रमा पिउनेपानीको दीर्घकालीन व्यवस्था नभए पर्यटक पनि नआउने निश्चित छ । 
 
तर यहाँका स्थानीयवासीसँगै पर्यटकका लागि समेत सेवा पुग्ने गरी खानेपानीको सहज पहुँच दिलाउन अहिलेसम्म कसैको ध्यानाकर्षण भएको छैन । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ