arrow

दुई दिन बन्द गरिएको हेटौँडाबजार खुल्यो

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
Hetauda_Bazaar.jpeg
हेटौँडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपनगरपालिका–१ र १० मा रहेको हेटौँडा–नारायणघाट सडकखण्डको राप्ती रोडमा स्थानीय सर्वसाधारणका घर भत्काएको विरोधमा स्थानीय व्यापारीले दुई दिनदेखि बन्द रहेको स्थानीय हेटौँडाबजार बिहीबार बिहानदेखि सञ्चालन भएको छ । 
 
मध्यमाञ्चल सडक क्षेत्रीय कार्यालय हेटौँडाले एसियन हाइवेअन्तर्गत पर्ने भनी सडकको दुवैतर्फ २५–२५ मिटरको सडक चौडा गर्नुपर्ने भनी बुधबार सर्वसाधारणका १४ वटा घर र रेडक्रस सोसाइटीको भवनसहित १५ वटा भवन भत्काएको थियो । 
 
यसैबीच, सर्वसाधारण नागरिकको घर र जग्गाको उचित मुआब्जा दिएर मात्रै घर भत्काउनुपर्ने भनी मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार न्यौपानेले क्षेत्रीय सडक डिभिजन कार्यालयलाई माग गरेका छन् ।  
 
यसैगरी, क्षेत्रीय सडक कार्यालय, हेटौँडा उपनगरपालिकाअन्र्तगत रहेको स्थानीय रातोमाटेदेखि स्थानीय चौकीटोल र हेटौँडा–नारायणघाट सडकखण्डमा पर्ने करिब दुई हजार आठ सय घरलाई आगामी १५ दिनभित्र नभत्काउने गरी मालसामान सार्न अनुरोध गरी सूचना प्रकाशित गरेको सो कार्यालयले जनाएको छ । 
 
उक्त सडकखण्डको दुवैतर्फ २५–२५ मिटर छाड्नुपर्ने बाध्यताले गर्दा हजारौँ सर्वसाधारण नागरिक सुकुम्वासी बन्नुपर्ने अवस्था आएको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष न्यौपानेले पत्रकारसम्मेलन गरी बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ