arrow

सरकार विवाद कुल्चदै निर्णय गर्दै : न्याय सेवामा वढुवा र जिम्मेवारी हेरफेर

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
cabinet-prachanda.jpeg

काठमाडौं । सरकारले न्याय सेवामा वढुवा र जिम्मेवारी हेरफेर गरेको छ । केही दिन यता सरकारले धमाधम नियुक्ति र जिम्मेवारी हेरफेरलाई तीब्रता दिएकामा न्याय क्षेत्र पहिलो प्राथमिकतामा परेको छ । वुधबार मात्रै उच्च अदालतका ७८ न्यायाधिशले एक साथ सपथ लिएका थिए । दुई जनाले सपथ लिन बाँकी छ ।  

प्रधानन्यायाधीश सुशीला कार्कीले वरिष्ठलाई सर्वोच्च अदालतको रजिष्ट्रार बनाउने प्रचलन मिचेको भन्दै न्याय सेवा आयोगको बैठकमै विवाद भएको थियो । वुधबार बसेको आयोग बैठकमा कार्कीले सर्बोच्चका वरिष्ठतम् सह–रजिष्ट्रार नहकुल सुवेदीको साटो कनिष्ठ निरौलालाई रजिष्ट्रार बनाउन प्रस्ताव गरेपछि विवाद भएको थियो । प्रधानन्यायाधीश कार्कीको प्रस्तावमा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले समेत असहमति जनाएका थिए । यद्यपि, विवादबीच सरकारले काम फत्ते गरेको छ ।

वढुवा र पदस्थापन
विहिबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय सेवाका चार जना सहसचिवलाई विशिष्ठ श्रेणीको सचिव तहमा बढुवा गरेको छ । विवादबीच न्याय सेवा आयोगले सिफारिस गरेका सहसचिवहरु विशिष्ठ श्रेणीमा बढुवा भएका हुन् । उनीहरुको बढुवासँगै न्याय सेवामा पदस्थापन पनि भएको छ । महान्यायाधिवक्ता कार्यालयका सह–न्यायाधिवक्ता किरण पौडेल नायव–महान्यायाधिवक्तामा बढुवा भएका छन् ।

यस्तै, सर्वोच्च अदालतका सह–रजिष्ट्रार नहकुल सुवेदी बढुवा भई न्यायपरिषदको सचिवमा पदस्थापन भएका छन् । सर्वोच्च अदालतकै सह–रजिष्ट्रार नृपध्वज निरौला बढुवा भई सर्वोच्च अदालतकै रजिष्ट्रार भएका छन् । कानून मन्त्रालयका सहसचिव राजीव गौतम मन्त्रालयकै सचिवमा बढुवा भए । यसैगरी, सह–न्यायाधिवक्ता राजनप्रसाद भट्टराई बढुवा भई बेपत्ता आयोगको सचिव भएका छन् ।

भट्टराईले न्यायाधीश नियुक्तिप्रति अुन्तुष्टी जनाउँदै आएका थिए । न्याय सेवा आयोगको सिफारिसमा सरकारले फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक महेन्द्र उपाध्यायलाई सर्वोच्च अदालतको सह–रजिष्ट्रारमा सिफारिस गरेको छ ।

यस्तै, विमल पौडेल र भद्रकाली पोख्रेल समेत सर्वोच्च अदालतको सह–रजिष्ट्रारमा सरुवा भएका छन् । न्याय परिषदका सहसचिव देवेन्द्र ढकाललाई श्रम अदालतको मुद्दा हेर्ने अधिकारी तोकिएको र उच्च अदालतको बुटबल इजलाशका रजिष्ट्रार भीमकुमार श्रेष्ठलाई विशेष अदालतको रजिष्ट्रारमा सरुवा गरिएको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन् ।

हालैमात्र चारजना विशिष्ठ श्रेणीका कर्मचारी उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि खाली रहेका ठाउँमा चार जनाको बढुवा भएको हो । सर्वोच्चका तत्कालिन रजिष्ट्रार श्रीकान्त पौडेल, न्यायपरिषदका सचिव कृष्ण गिरी, कानुन मन्त्रालयका सचिव टेकप्रसाद ढुंगाना र बेपत्ता आयोगका सचिव महेश शर्मा पौडेल न्यायाधीश भइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ