arrow

नेपालका हिमाल र पहाडसम्म यसरी पुग्दैछ भारत

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
North-east.jpeg
काठमाडौं। नेपाल र भारतबीच राजनीतिक अतिरिक्त विभिद स्तरमा रहेको सम्वन्धलाई थप विस्तार गर्ने प्रयास भारतका तर्फबाट भएको देखिएको छ। नेपाल र भारतको सम्वन्धमा जहिल्यैं पनि तराई मधेश र त्यहाँका नागरिकको भारतसँगको रोटी बेटीको सम्वन्धका कारण बढी चर्चा पाउने गरेको छ। यो सम्वन्ध सदियौ बर्ष अघीदेखि रहि आएको पौराणिक कथनहरुमा पनि छ। नेपाल र भारतबीच यो रोटी र बेटीको सम्वन्ध राजनीतिमा पनि हावी हुँदै जाँदा कतिपय अवस्थामा विवादमा तानिएको छ। 
 
समान खालको भेषभुषा, खानपिन, रहनसहन, धर्म, संस्कृती, परम्पराका कारण तराई मधेश भारतीय पक्षबाट प्रभावित रहेको आरोप लाग्दै आएको छ। तराई मधेशको राजनीति मार्फत भारतले नेपालको राजनीतिमा प्रभाव राख्दै आएको टिप्पणी हुन थालेको पनि धेरै भइसकेको छ। भारतले लगाएको नाकावन्दी र त्यसयता भएका विभिन्न राजनीतिक घटनाक्रममा भारत आरोपित हुँदै आएको छ। संसारभर राष्ट्रवादी चेत बढ्दै जाँदा भारतमा पनि त्यो देखिन्छ। नेपालमा पनि त्यो नहुने कुरै भएन। 
 
नेपालको हरेक राजनीतिक निर्णयहरुमा भारतीय राजनीतिको छायाँ र प्रभाव देख्नेहरु नेपालमा भारतका अतिरिक्त अन्य देशहरु पनि आफ्ना साँस्कृतिक र अन्य आवरणहरुमा भित्रभित्रै पुगिसकेका छन्। तराई मधेशसँग जोडेर निश्चित भेग र मूलका मानिसहरुसँग जोडेर आफूहरुलाई पटकपटक विवादमा तानिएपछि भारतीय पक्ष भने आफ्नो पुरानो रणनीतिमा केहि परिमार्जन गर्दै नेपालको तराइ मधेशका अतिरिक्त पहाड र हिमालसँग पनि नजिकिन खोजेको देखिएको छ। 
 
नेपालको तराई मधेशको भेषभुषा, खानपिन, रहनसहन, धर्म, संस्कृती, परम्परा भारतको उत्तरी राज्यहरुसँग धेरै मिल्दाजुल्दा छन्। त्यसैगरि नेपालको पहाडी र हिमाली खाना र संस्कृती भारतको उत्तर पूर्वी राज्यहरुसँग मिल्दो जुल्दो छ। यहि मिल्दोजुल्दो भेषभुषा, खानपिन, रहनसहन, धर्म, संस्कृती, परम्पराको जगमा भारतीय दुतावासले नेपालमा नयाँ ढंगले सम्वन्ध विस्तार गर्ने तयारी गरेको छ। यसको संकेत उसले उत्तर पूर्वी राज्यहरुका कलाकारहरुलाई नेपाल वोलाएर साँस्कृतिक कला झल्काउने प्रस्तुतीहरु दिन लगाएको छ भने अर्कातिर उत्तर भारतका व्यञ्जनहरु पस्केर नेपालका हिमाल र पहाडी भागहरु भारतसँग मिल्दाजुल्दा छन भन्ने सन्देश पनि दियो। 
 
भारतीय दुतावासको कार्यक्रमहरुमा परम्परागत रुपमा निम्त्याइने तराई मधेशी मूलका नेता तथा अन्य व्यक्तिहरुमा केहि अद्यावधिक गरि अहिले हिमाली र पहाडी मूलका नेता र प्रभावशालीहरुलाई भारतीय दुतावासले निम्त्याउने गरेको छ । यसमा चीनसँग सीमा जोडिएका जिल्लाका सांसद र नेताहरु भारतीय दुतावासका निम्त्याइने नयाँ पाहुना बन्न थालेका छन्। राजनीतिक रुपमा बेलाबेलामा तिक्तता आउने नेपाल र भारतबीचको सम्वन्धमा व्यञ्जनको स्वाद मार्फत भारतले नेपालसँग सम्वन्ध सुधार्न चाहेको देखिन्छ। माघ ५ बिहिवार काठमाडौंमा दुतावासले गरेको कार्यक्रम पनि त्यसकै उपज थियो । भारतीय दुतावासमा थपिएका जनजाती मूलका नेपाली भाषी भारतीय अधिकारीहरु सायद अहिले नेपालको हिमाल र पहाडका नेता तथा प्रभावशाली व्यक्तिहरु मार्फत भारतको बारेमा सकारात्मक छाप नेपाली जनमानसमा पार्न लागिपरेका छन्। तराई मधेशको सन्दर्भसँग मात्र नजिक रहेको टिप्पणीलाई निस्तेज गर्न र नेपालको उत्तरी सीमातिर वढ्दो चिनीयाँ प्रभावलाई केहि मत्थर पार्न पनि भारतीय पक्ष यो नयाँ रणनीतिमा लागेको बुझाइ राख्नेहरु धेरै छन्।
 
खानपिन र संस्कृती मार्फत एक रहेको सन्देश
तराई मधेशमा समान खानपिन र संस्कृती रहेको सन्देश बारम्वार आएकै छ। अब उत्तर भारतको खानपिन र संस्कृती मार्फत नेपाल र हामी धेरै किसिमले एक छौ भन्ने सन्देश दिने प्रयास भारतले गरेको छ। भारतका उत्तर–पूर्बका खानपिन र संस्कृतीलाई नेपालका सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले शुरुवात समेत गरेको छ। कार्यक्रममा सांसदहरु, प्राज्ञिक वर्ग, विद्वत वर्ग तथा काठमाण्डौस्थित विभिन्न कुटनीतिक नियोगका आवासीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 
 
उत्तरी–पूर्वी भारतका मेघालय, मिजोरम, मनिपुर, आसाम, त्रिपुरा, नागाल्याण्ड, अरुणञ्चल प्रदेश र सिक्किमका विविध संस्कृति, परम्परा र जनजिविकाको बारेमा चर्चा भएको कार्यक्रममा मन्त्री केसीले संस्कार, संस्कृती, कला र परम्पराले जोडिएको नेपाल र भारतको सम्वन्ध यस्ता कार्यक्रमले अझ मजबुत र विस्तार गर्ने धारणा राखेका थिए। लोभ्याउने खालको आर्ट एक्जिविसनदेखि खानपिनसम्मका कार्यक्रम पछि उत्तर–पूर्वी भारतका विविध सांस्कृतिक विधाका प्रतिनिधित्व गर्ने चार समुहः सिलोङ्ग च्याम्बर कोयर, टेट्सियो सिस्टर्स, थोइबी मणिपुरी नृत्य र लिली व्याङ्ग कल्चरल एण्ड ड्रामा क्लबले नेपालका काठमाण्डौ, पाटन, पोखरा, बीरगञ्ज, बिराटनगर, धरान, जनकपुर, सिन्धुपाल्चोक र दोलखा गरी ९ स्थानमा प्रदर्शन गर्ने बताइएको छ । सांस्कृतिक कायक्रमको उद्धेश्य उत्तर–पूर्वी भारतका सांस्कृतिक झलकको जानकारी दिदै नेपाली सांस्कृतिक विविधताको जानकारी लिनु रहेको बताइरहँदा नेपाली माझ बढ्दै गएको भारत विरोधी छापलाई यस्ता कार्यक्रमले कम गराउने आशा सम्भवत भारतीय पक्षले राखेका हुनसक्छन्। अझ यसो भनौ यो नेपालको माथिल्लो भूगोलका नागरिकहरुलाई लक्षित गरि मनोवैज्ञानिक रुपमा सकारात्मक सञ्चारका लागि गरिएको कार्यक्रम हो भन्न भने पक्कै सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ