arrow

अव्यवस्थित नदीजन्य सामग्री उत्खननले सयौं बिगाहा जमिन बाँझिदै

ठेकेदारलाई कारबाही गर्छौं –सहायक प्रजिअ

logo
प्रकाशित २०७३ माघ ८ शनिबार
Bajho_jamin.jpeg
सुरुङ्गा (झापा) । विरिङ खोलाबाट मापदण्ड विपरीत नदीजन्य साम्रगीको उत्खनन गरेका कारण उत्तरी झापाको बुधबारे र खुदुनाबारीको सयौं बिगाहा जमिन बाँझिने अवस्थामा पुगेको छ । बर्सेनि विरिङ खोलाबाट नदीजन्य सामग्री उत्खनन हुँदै आएको र यसवर्ष पनि सोही प्रक्रिया दोहोरिएकाले यहाँका बीस भन्दा बढी पैनी, कुलो सुकेका छन् । जसका कारण यस क्षेत्रको दुई हजार बिगाहा भन्दा बढी जमिनमा धानखेती हुन छाडेको बुधबारे– २ निवासी तुलसा थापाले बताए। उनका अनुसार नदीजन्य सामग्री निकाल्न ठूला स्काभेटर प्रयोग गरेर खोला गहि¥याएका कारण पैनीको मुहान सुकेका छन् । 
 
त्यस क्षेत्रमा सञ्चालनमा आएका पैनीमध्ये नेपालटार पैनी गत वर्षबाट सञ्चालनमा आउन नसक्दा बुधबारे– २ को एक सय ३५ बिगाहा भन्दा बढी जमिनमा धानखेती प्रभावित भएको छ । खोला गहिरिएर पैनीमा पानी नचडेपछि त्यहाँका अधिकांश कृषकले धानको सट्टा अन्यबाली लगाएका छन् । कोही– कोहीले आकासे पानीको भरमा धानखेती गरेपनि सिँचाइ अभावले धान नफलेपछि त्यहाँका कृषक आन्दोलित बनेका छन् । 
 
जिल्ला विकास समिति झापाले जिल्ला अन्तर्गत बहने विरिङ टाङटिङ खोलाको चालु आर्थिक वर्षमा रु तीन करोड २५ लाखमा नदीजन्य सामग्री उत्खनन, सङ्कलन, घाटगद्दी र बिक्री वितरणका लागि ठेक्का लगाएको छ । गौरादह– १ निवासी जगतबहादुर राईको सामसुहाङ विल्डर्सलाई जिविसले विरिङ खोलाको नदीजन्य सामग्री उत्खननका लागि ठेक्का लगाए पनि मापदण्ड भन्दा तीन गुणा बढी गहि¥याएर खोलाबाट नदीजन्य सामग्री निकालेपछि त्यस क्षेत्रमा पानीको समस्या भएको बताइएको छ । 
 
“खोला गहिरिएपछि त्यस क्षेत्रमा सिँचाइका लागि मात्र होइन खानेपानीको मुहान पनि सुकेकाले सिङ्गो गाउँनै समस्यामा परेको छ बुधबारे– २ निवासी नेत्र न्यौपानेले भने ।” उनले भने– “खोला गहिरिँदा इनार र ट्युवेल सुकेर खानेपानीको समस्या आएको छ, सरकारी निकाय बेखबर बन्दा यहाँका झन्डै १५ हजार जनसङ्ख्या प्रत्यक्ष मारमा परेका छन् । 
 
नदीजन्य सामग्री उत्खनन्को ठेक्का लिएको ठेकेदार कम्पनीले मापदण्ड विपरीत काम गरेका कारण पाँग्रे, हात्ती किल्ला, गिद्दे, होक्से, लक्ष्मी विरिङ, सुब्बा, जोरपैनी, नेपालटार पैनी, निरोल्नी पैनी पूर्णरुपमा सुकेका छन् । ती पैनी सुक्दा त्यसक्षेत्रको दुई हजार बिगाहा खेतीयोग्य जमिन बाँझिने अवस्थामा पुगेको बुधबारे गाविस सचिव वासुदेव भट्टराईले बताए । जिल्ला विकास समिति झापाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरीका अनुसार सम्झौताअनुसार बढीमा डेढ मिटरसम्म खोला खोतल्न सकिन्छ 
 
झापाको उत्तर–दक्षिण भएर बग्ने विरिङ् नदीसँग जोडिएका बुधबारे गाविसका– १ देखि ५ नम्बर वडा, शनिअर्जुन नगरपालिका– ३, ५ र खुदुनाबारी गासिवका १, २ नम्बर वडाका करिब दुई हजार हेक्टर जमिनसहित चार हजार भन्दा बढी घरपरिवार प्रभावित हुने अवस्थामा पुगिसकेको स्थानीयवासीको भनाइ छ । 
 
ठेकेदारलाई कारबाही गर्छौं –सहायक प्रजिअ निरौला 
 
खुदुनाबारी १ र २ मा पर्ने विरिङ नदी आसपासका स्थानीयवासी, ठेकेदार र जिविस कर्मचारीबीच विवाद सिर्जना भएपछि जिल्ला अनुगमन तथा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले प्राविधिक टोली गठन गर्नुभएको छ । 
 
विवाद समाधानका लागि प्राविधिक टोली गठन भएसँगै सहायक प्रमुख जिल्ला अधिकारी डम्मरुप्रसाद निरौलासहितको टोलीले सो क्षेत्रको निरीक्षण गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले मापदण्ड विपरीत जथाभावी नदीजन्य सामग्री उत्खननमा संलग्न ठेकेदारलाई कारबाही गर्ने स्थानीयवासीलाई बताएका छन् । उनले अव्यवस्थित उत्खननका कारण पुगेको क्षतिको विवरण सङ्कलनका लागि स्थानीयवासीलाई आग्रहसमेत गरेका छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ