arrow

स्ववियु निर्वाचन गर्न सबै विद्यार्थी सङ्गठन तयार

logo
प्रकाशित २०७३ माघ ८ शनिबार
TU-fnl.jpg.jpeg
काठमाडौँ । आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न गर्न सरोकारवाला निकाय तयार रहेको बताएका छन् । 
 
नेपाल युवा संस्था सञ्जाल (आयोन)ले आज यहाँ आयोजना गरेको ‘स्ववियु निर्वाचनमा युवा नेतृत्वको भूमिका’ विषयक युवा संवाद कार्यक्रममा विद्यार्थी सङ्गठन र त्रिभुवन विश्वविद्यालयले आठ वर्षसम्म हुन नसकेको निर्वाचन जसरी पनि गराउनु पर्नेमा जोड दिँदै आफूहरु निर्वाचनका लागि तयार रहेको बताएका छन् । 
 
त्रिविका खेलकुद तथा विद्यार्थी कल्याण शाखाका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले स्ववियु निर्वाचन गर्न त्रिवि तयार रहेको भन्दै निर्वाचनको आवश्यक तयारीका लागि जुटिसकेको बताए । उनले त्रिवि स्ववियु निर्वाचनसम्बन्धि नियम विनियम, निर्देशिका र आचारसहिंता बनाउने काममा जुटिरहेको बताए । 
 
कार्यक्रममा युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले त्रिवि स्ववियु निर्वाचन गर्न सदैव तयार रहेकोले विद्यार्थी नेतृत्व तयार देखिनुपर्ने बताए । “हिजो पनि त्रिवि स्ववियु निर्वाचन गर्न तयार थियो । आज पनि छ”–उनले भने।
 
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले आगामी स्ववियु निर्वाचनका लागि आफ्नो सङ्गठनले पनि तयारी थालेको बताए । उनले आफ्नो सङ्गठनले निर्वाचनका मापदण्डका बारेमा केही विमति राखेपनि चुनावमा जाने स्पष्ट पारे। “२८ वर्षको उमेर हदबन्दीका कारणले चुनाव रोकिदैन’–उनले भने , “हामी चुनावभन्दा बाहिर जान सक्दैनौ । स्ववियुको अस्तित्वका लागि चुनावमा सहभागी हुन्छौँ ।” 
 
अनेरास्ववियुका अध्यक्ष नवीना लामाले आफ्नो सङ्गठनको जित र हारको मतलब नै नगरीकन निर्वाचन गराउनु एकमात्र एजेन्डा रहेको बताए । उनले सबै सङ्गठन चुनावको पक्षमा देखिएकाले चुनावलाई मर्यादित र व्यवस्थित बनाउनेतर्फ ध्यान दिइनुपर्ने बताए । 
 
अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष गङ्गा तिमिल्सेनाले आफ्नो सङ्गठन हरेक निर्वाचनमा सहभागी हुँदै आएको भन्दै आठ वर्षदेखि हुन नसकेको निर्वाचनका लागि यसपटक गर्न आफ्नो सङ्गठन तयार रहेको बताए । 
 
तराई–मधेस विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष यादवले कुनै परिस्थितिमा पनि आगामी स्ववियू निर्वाचन सबैले मिलेर गराउनुपर्ने विचार व्यक्त गरे । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ