arrow

काठमाडौंको असनमा ढल फुटेर भेटियो राणाप्रधानमन्त्री वीरशमशेरको इँट

logo
प्रकाशित २०७३ माघ ९ आइतबार
itta.jpeg
काठमाडौं । राणा प्रधानमन्त्री श्री ३ वीरशमशेरकालीन असनको ढल मर्मतसम्भार गर्न भन्दै जथाभाबी भत्काउँदा अहिले राजधानीको यो पुरानो बजार हिँडिनसक्नु गरी दुर्गन्धित भएको छ । यो बजारको मुख्य गल्ली सम्पदा मार्गमा जथाभाबी सात फिट गहिरो खाल्टो बनाइएको छ । महानगरले ढल थुनिएको भन्दै बिनायोजना ४–५ ठाउँमा ठूल्ठूला खाल्टा खनेपछि पुरानो ढल भेटिएको छ । 
 
उक्त पुरानो ढलमा वीरशमशेरकालीन इँट भेटियो तर महानगर र स्थानीयले यो ऐतिहासिक पक्षको बेवास्ता गरे । महानगरपालिका ३० असन बजारको ढल अहिले भताभुंग पार्दा यो ऐतिहासिक र पुरानो बजार सुनसान बन्न थालेको छ । 
 
करिब डेढ सय वर्षअघि निर्माण गरिएको ढल महानगर र राज्यका निकायले समयमा मर्मत नगर्दा अहिले ठप्पजस्तै भएको छ । मर्मतसम्भार भन्दै पुरानो ढल जथाभाबी खन्दा असन नै दुर्गन्धित बनेको काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा पूर्वमन्त्री पीएल सिंहले बताए । ‘
 
ढल बाहिर बगेपछि ऐतिहासिक असन बजार प्र्रभावित भयो तर नयाँ योजना ल्याउन नसक्दा, मर्मत र पुनर्निर्माण गर्न नसक्दा र स्थानीयले पुराना सम्पदालाई बेवास्ता गर्दा ढल अलपत्र बनेको छ’, सिंहले भने ।
 
इन्जिनियरले ऐतिहासिक स्थलको संरक्षणमा चासो नदिई नयाँ योजना ल्याउनु विकासका नाममा विनास हुने उनको आरोप थियो । 
 
पुरातात्विक स्थल जोगाउन सोचेर काम गर्नुपर्ने तर पुर्खाले गरेको कामलाई भत्काउँदा इतिहास मेटिएको भन्दै उनले दुखेसो पोखे ।
 
बन्द भएको भन्दै महानगरले एक महिनायता बिनायोजना जथाभाबी सडकसडकमा प्वाल पारेर ढल निकालेको छ । 
 
जम्मा एक लाख पचास हजार रुपैयाँको न्यून बजेटले असन बजारको पूरै ढल मर्मतसम्भारका नाममा खनिएपछि बजार पूरै दुर्गन्धित बनेको हो ।
 
‘खन्न सुरु गरिएको थियो । पैसा सकिएको भन्दै बन्द गरे । हामी चकित प¥यौं’, ज्याठा ठमेल पर्यटन समितिका संयोजक योगेशकुमार खड्गीले भने ।
 
दुर्गन्धले बजारमा पर्यटकदेखि बटुवासमेतको आवतजावत महिना दिनदेखि पातलिँदै गएको खड्गीले बताए ।
 
राज्यले दरबारस्क्वायर क्षेत्रमा पर्यटक भिœयाउने मुख्य मार्गका रूपमा घोषणा गरेको सम्पदा मार्ग नै ढलमय बनेको छ । 
 
ढल पुनर्निर्माण र मर्मतका लागि महानगरपालिका र सम्पदा विभागमा हारगुहार गरे पनि कुनै चासो नदिएको उनको भनाइ छ । 
 
इतिहास जोडिएको ढलको अस्तित्व नै समाप्त भएको भन्दै उनले यसमा चासो दिन माग गरे ।
 
व्यस्त बजारमध्ये एक मानिने असन बजार दुई वर्षयता ढल पुरिएर केही घरमा निकास नै बन्द भएको छ । कुनाटोल, इनवालटोल, गोसीफल मार्ग, भमलुचोक, ज्वालामाई मार्ग, ज्याठा ठमेल, असन चोक र आसपासका गल्लीमुनि बग्ने ढल बन्द भएका छन् । 
 
अहिले ढल सडकमा बग्दा जनजीवन अस्तव्यस्त बनेको छ । ‘सडकमा हिँड्ने अवस्था छैन । जबर्जस्ती पसल खोलिए पनि सेवाग्राही नआएपछि समस्या भएको छ’, असन टोलसुधार समितिका अध्यक्ष अमूल्य मानन्धरले भने ।
 
ढल बन्द भएको जानकारी लिखित रूपमा काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङलाई गराए पनि कुनै पहल नभएको गुनासो उनले पोखे ।
 
स्थानीयले ढलको समस्या असन बजार पर्ने काठमाडौं क्षेत्र नम्बर ६ का सांसद भीमसेनदास प्रधानलाई माघ ३ गते स्थलगत रूपमै देखाए पनि समधानको प्रयास नभएको गुनासो पोखे । 
 
सांसद प्रधानले काठमाडौं महानगरपालिकाका निर्माण प्रमुख उत्तरकुमार रेग्मीलाई तत्काल काम गर्न भनेपछि उनीहरूबीच चर्काचर्की भएको स्थानीयले बताए ।
 
 ‘तर ऐतिहासिक ढल जीर्णोद्धारका विषयमा शब्दसमेत उच्चारण भएन’, ती स्थानीयले भने ।
 
सांसद प्रधानले तत्काल ढल नियन्त्रण गर्न आग्रह गरे पनि रेग्मीले नीतिनियमका कारण तत्काल काम गर्न नसकिने बताएपछि भेला भएका सयौं सर्वसाधारणले महानगरपालिकाविरुद्ध असन्तुष्टि जनाएका थिए । 
 
ढल व्यवस्थापनका लागि १० महिनाअघिदेखि नै महानगरपालिका, सम्बन्धित सांसद र सम्पदा विभागमा लिखित जानकारी गराए पनि कुनै वास्ता नभएको गुनासो स्थानीय बासिन्दा खड्गीले गरे । 
 
पुरानो ढल र पुरानो बस्तीमा व्यवस्थापनका लागि नयाँ योजना नल्याउनु महानगरपालिकाको ठूलो लापरबाही भएको उनको भनाइ थियो ।
 
३० नम्बर वडा कार्यालयकी प्रमुख कविता राईले समस्या विकराल भएको तर यसको पुनर्निर्माण र जीर्णोद्धारका लागि कुनै कदम अघि नबढाएको बताइन् । 
 
सम्पदा विभागकी प्रमुख अर्चना श्रेष्ठ भने बजेट नभएको कारण देखाउँदै पन्छिइन् । ‘समस्या पहिलेदेखिकै हो । 
 
राणाकालीन ढल भएकाले यसको समाधान माथिल्लो निकायबाटै खोज्नुपर्छ’, उनले भनिन् । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ