arrow

मध्यरातमा निजी जेट विमानसहित भागे राष्ट्रपति

logo
प्रकाशित २०७३ माघ ९ आइतबार
gambia-president.jpeg
डाकार (सिनेगल)। गाम्बियाका निवर्तमान राष्ट्रपति याह्या जामेहले राजधानी बन्जुलबाट आफ्ना सरसामान, झोलीतुम्बासहित शनिबार राति नै गिनीको राजधानीतर्फ निर्वासनका लागि पलायन भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । 
 
गाम्बियाको राजधानी बन्जुलमा रहेका सिनेगाली रेडियो समाचारदाताका अनुसार गिनीका राष्ट्रपति अल्फा कोन्डे आफ्नो निजी जेट विमानसहित बन्जुल आएको र निवर्तमान राष्ट्रपति जामेह सोही विमानमा चढी राष्ट्रपति कोन्डेसँगै गिनीको राजधानी कोनाक्राइतर्फ पलायन भएका छन् । 
 
त्यस्तै, निवर्तमान राष्ट्रपति जामेहका परिवार तथा निकट समर्थकहरु पनि मौरिटानियामा दर्ता रहेको अर्को एक विमानमा चढी राजधानी बन्जुलबाट प्रस्थान गरेका छन् । जाँदाजाँदै निवर्तमान राष्ट्रपति जामेहले निजी झोलीतुम्बा भन्दै कडा सुरक्षाकाबीच थुप्रै ट्रकहरुमा टनाटन सर सामान पनि ओसारी साथमै लैजान भ्याएका छन् । 
 
गाम्बियामा सत्ता हस्तान्तरण सम्बन्धमा धेरै दिनसम्मको उतार–चढाव, खिँचातानी र झन्डै सुरु हुन लागेको रक्तपातपूर्ण विद्रोहपश्चात् पश्चिम अफ्रिकी राष्ट्रहरुको सङ्गठनको मध्यस्थतामा निवर्तमान राष्ट्रपति जामेहले अन्ततोगत्वा सत्तामोह त्याग गरेका हुन् । 
 
पश्चिम अफ्रिकी राष्ट्रहरुको संगठनका प्रतिनिधिसँगको अन्तिम वार्ता र छलफलपछि गतः शनिबार बेलुकी उनले सत्ता परित्याग गर्ने घोषणा गरेका थिए । साथै आफुविरुद्ध खनिएर आउने सम्भाव्य खतरालाई दृष्टिमा राख्दै देश छाडेर निर्वासनमा जाने निधोसमेत उनले गरेका थिए  । 
 
निर्वासनमा जानुभन्दा केही समय अघि उहाँले गाम्बियाको सबै राजनीतिक समस्या शान्तिपूर्ण ढङगले सुल्झाउन सघाउने वचनवद्धता व्यक्त गर्नुभएको र यस क्रममा एक थोपा पनि रक्तपात आवश्यक नभएको बताएको जनाइएको छ । 
 
गाम्बियामा शान्तिपूर्ण सत्ता हस्तान्तरण सम्बन्धमा मध्यस्थताका लागि पश्चिम अफ्रिकी राष्ट्रहरुको सङ्गठनको प्रतिनिधिका रुपमा आउनुभएका मौरिटानियाका राष्ट्रपति मोहम्मद औलाद अब्दुल अजिज र गिनीका राष्ट्रपति अल्फा कोन्डे राजधानी बन्जुलमै केही दिनदेखि बस्दै आएका थिए ।
 
कुनै पनि हालतमा सत्ता त्याग नगर्ने, बरु गृहयुद्धमा जाने चेतावनी सहित पहिला हठपूर्वक सत्तालिप्सामा बलजफ्ती टाँसिइ रहेका निवर्तमान राष्ट्रपति जामेहलाई उनिहरु दुबैजनाको प्रयासले अखिरमा मनाएरै छाडेको छ । 
 
राष्ट्रपति जामेह सन् १९९४ को जुलाई महिनामा भएको रक्तपातपूर्ण सैनिक विद्रोहको माध्यमबाट शक्ति हातमा लिई जबर्जस्ती गाम्बियाको शासन सत्तामा आएका थिए । चारैतर्फबाट यसको विरोध भएको र पश्चिम अफ्रिकी राष्ट्रहरुको संगठनको दबाबपछि उहाँले देशमा देखावटी निर्वाचनको प्रणाली बसाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ