arrow

मेलम्चीको सुरुङ खन्न बाँकी ५ किलोमिटर मात्रै

logo
प्रकाशित २०७३ माघ १० सोमबार
melamchi.jpeg

चौतारा । मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब पाँच किमी मात्र बाँकी छ । सिन्धुपाल्चोकको हेलम्बु गाविसको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७।५ किमी सुरुङमध्ये हालसम्म २२.५ किलोमिटर सम्पन्न भइसकेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराइले जानकारी दिए ।

राजधानीमा बस्नेलाई आगामी २०७४ सालको बडादसैँ अघि खानेपानी वितरण गर्ने लक्ष्य छ । बाँकी ५ किमी सुरुङ पनि आउँदो असार–साउन महिनासम्म सम्पन्न गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक भट्टराईले बताए ।

विभिन्न छ स्थानबाट सुरुङ खन्ने काम भएको र सिन्धु अडिटदेखि सुन्दरीजलसम्मको ९ किलोमिटर सकिएको छ । हेलम्बु गाविसको मुहान रहेको अम्बाथानबाट ग्यालथुम अडिट र ग्यालथुमबाट सिन्धु अडिट गरी दुई स्थानको ५ किलोमिटर खुल्न बाँकी छ । हाल चार स्थानबाट दैनिक २० मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ ।

अम्बाथानबाट खन्न लागिएको सुरुङ मार्गमा कमसल भू–भाग निस्केको कारण बढी खन्न नसकिएको हो । कडा चट्टानको बदला ग्राभेल जस्तो कमसल ढुङ्गा निस्केको हुँदा सो भाग सकिएपछि दैनिक २५ मिटरसम्म खन्न सकिने कार्यकारी निर्देशक भट्टराईले बताए ।

लार्के र याङ्ग्रीबाट लगिने दोस्रो र तेस्रो चरणको डिजाइनको काम पनि सुरु गरिएको छ । डिजाइनको काम सकिएपछि बजेटको व्यवस्थाका लागि मन्त्रालयमा पेस गरिने र बजेट निकासा भएपछि काम सुरु गरिने भट्टराईले बताए । पहिलो चरणमा दैनिक १७ करोड लिट तथा दोस्रो र तेस्रोबाट थप ३४ करोड लिटर पानी लगिने आयोजनाको लक्ष्य छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ