arrow

मनकारी कामः खाजा खर्च कटाएर मिर्गौलापीडितलाई सहयोग

logo
प्रकाशित २०७३ माघ ११ मंगलबार
helping-hands.jpeg
फलेवास । गुप्तेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर एकै परिवारका चार जना मिर्गौलापीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । विद्यार्थीले आफूले खाने खाजा खर्च कटाएर सबै विद्यार्थीसँग आर्थिक सहयोग जुटाएर मिर्गौलापीडितलाई उपचारको लागि सहयोग गरेका हुन् । 
 
जिल्लाको कुर्घा–३ का तिलोचन शर्माका एक छोरा, दुई छोरी र श्रीमतीको मिर्गौलाको उपचारको लागि सहयोग गरिएको हो । 
 
उक्त सहयोग रकम आइतबार एक कार्यक्रमको अवसरमा पर्वत जिल्ला क्षेत्र नम्बर १ का सांसद अर्जुनप्रसाद जोशीको हातबाट रु २४ हजार ३४० हस्तान्तरण गरिएको छ । 
 
हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद जोशीले विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर मिर्गौलापीडितको लागि गरेको काम उदाहरणीय रहेको बताए । 
 
एक परिवारमा समस्या पर्दा विद्यार्थी पनि सक्रिय भएर आर्थिक एवम् अन्य सामाजिक सहयोगमा लागेको भन्दै खुसी व्यक्त गरे । 
 
उनले एकै परिवारका चार सदस्यको मिर्गौला फेल हुँदा परिवारमा हुने पीडालाई कसैले पनि भन्न नसकिने बताए । 
 
उनले मिर्गौलापीडितको लागि सरकारको सहयोग उपलब्ध गराउने भन्दै आफूले स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेको समेत बताए । 
 
रकम बुझ्दै पीडित शर्माले विभिन्न सहयोगी हातको सहाराले उपचार जुटेको जनाउँदै परिवारिक बज्रपातमा विद्यार्थीले पनि ठूलो गुन लगाएको बताए । 
 
सहयोग हस्तान्तरण कार्यक्रममा गुप्तेश्वर क्याम्पसका क्याम्पस प्रमुख रामजीप्रसाद सुबेदी, क्याम्पस ब्यवस्थापन समितिका सदस्य कुलप्रसाद पाध्या लगायतले बिद्यार्थीहरुले मिर्गौला पिडित परिबारको लागि सानो भएपनि सहयोग जुटाएकोमा खुसी ब्यक्त गरे । 
 
बिद्यार्थी तथा सहयोग हस्तान्तरण कार्यक्रमका संयोजक शिशिर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यार्थी दिपेन्द्र पोख्ररेलले पनि मन्तब्य व्यक्त गरेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ