arrow

सत्ताधारी र मधेशी मोर्चाको सन्ध्याकालिन बैठक : निर्वाचनबारे के–के भए कुरा ?

logo
प्रकाशित २०७३ माघ ११ मंगलबार
baluwatar-sandhyakalin-baithak.jpeg

काठमाडौं । सत्तारुढ दल र मधेशी मोर्चाका शीर्ष नेताहरुको बैठकले सहमति जुटाएरै संविधान संशोधन, स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन कार्यान्वयन र निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको गरेको छ ।

प्रधानमन्त्रीको निवास वालुवाटारमा बसेको बैठकले सत्ता पक्ष, प्रतिपक्षी दल र मधेश केन्द्रित दलहरुबीच सहमति गरी निर्वाचनको कार्यविधि बनाएर मात्रै निर्वाचन प्रक्रिया थाल्ने निर्णय गरेको बताइएको छ ।  

बैठकले संविधान संशोधनका लागि संसदमा टेबुल भएको विधेयकलाई सबैको सहमतिमा परिमार्जन गर्न छलफललाई तीब्रता दिने र सहमतिकै आधारमा निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।  

यस्तै, बैठकले सहमतिमै राजनीतिक निकास खोज्ने गरी छलफललाई सघन रुपमा अगाडि बढाउने निर्णय गरेको छ । बैठकले सहमतिमै राजनीतिक निकास खोज्न छलफललाई तीब्रता दिने निधो गरेको हो । स्थानीय तहको निर्वाचन, संविधान संशोधन र स्थानीय तह पुनःसंंरचना आयोगले बुझाएको प्रतिवेदनका विषयमा छलफल केन्द्रित भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्कमल दाहालले राजनीतिक निकासका लागि स्थानीय तहको निर्वाचनमा जानेबारे नेताहरुको धारणा मागेका थिए ।

बैठकमा प्रधानमन्त्री दाहाल, गृहमन्त्री बिमलेन्द्र निधि, माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’, मातृका यादव, कांग्रेस नेता रामशरण महत, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, नेताहरु राजेन्द्र महतो, अनिलकुमार झा, हृदयेश त्रिपाठी लगायत सहभागि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ