arrow

तरुण दल कार्यसमितिले कहिले पाउने पूर्णता ?

भागवण्डापछि सबै चुपचाप, जीतजङ्ग भन्छन्- काम गर्न असहज भइसक्याे

logo
प्रकाशित २०७३ माघ १३ बिहिबार
jitjungbasnet.jpg.jpeg.jpeg

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको महाधिवेशन भएको साढे दुई महिना बितिसक्दा समेत कार्यसमितिले पूर्णता पाउन सकेको छैन ।

महाधिवेशनमा मतदान नगराई शीर्ष नेताको भागबन्डाका आधारमा अध्यक्ष जीतजङ्ग बस्नेत, उपाध्यक्षमा उत्तम चापागाईं, महासचिवमा भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान् गुरुङ चयन भएका थिए । त्यसपछि समितिका अन्य पदमा सहमतिका आधारमा पूर्णता दिने भनिए पनि हालसम्म त्यस सम्बन्धमा कुनै काम भएको छैन ।

सहमतिका आधारमा चयन भएका  पदाधिकारीमध्ये अध्यक्ष बस्नेत पार्टी सभापति शेरबहादुर देउवा, उपाध्यक्ष चापागाई नेता कृष्णप्रसाद सिटौला, महासचिव शाही वरिष्ठ नेता रामचन्द्र पौडेल र कोषाध्यक्ष गुरुङ नेता खुमबहादुर खड्काको भागबन्डामा परेका हुन् ।

तरुण दलको चौथो महाधिवेशन गत कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा भएको थियो । तरुण दलको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन समितिले महाधिवेशनबाट काठमाडौँ फर्केलगत्तै बैठक गरी कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको थियो ।

काँग्रेसले तरुण दल महाधिवेशन सम्पन्न गर्न केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा निर्देशन समिति गठन गरिएको थियो । समितिमा पार्टी केन्द्रीय सदस्य उमाकान्त चौधरी, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, रामकृष्ण यादव, हृदयराम थानी, सरिता प्रसाईं, सदस्य छन् ।

तरुण दलको महाधिवेशनयता निर्देशन समितिको कुनै बैठक त परै जावस् छलफल समेत हुन नसकेको सदस्य यादवले जानकारी दिनुभयो । महाधिवेशन सम्पन्न भएको एक महिनापछि सहमतिमा चयन भएका पदाधिकारीको सपथ ग्रहण भएको थियो ।

कार्यसमितिले पूर्णता नपाउँदा काम गर्न निकै गाह्रो भएको अध्यक्ष बस्नेतले बताए । उनले आफू र पदाधिकारी पनि थोरै भएकाले दैनिक कार्यक्रम तथा सङ्गठनका काम गर्न समस्या परेको गुनासो गरे । उनले भने, ‘अब यसले पूर्णता कहिले पाउने ? ।’ महाधिवेशनपछि तरुण दलमा कार्यसमिति कुल ९५ सदस्यीय हुने र त्यसमध्ये १६ जना अध्यक्षले मनोनित गर्ने प्रावधान राखिएको छ ।

२०१० कात्तिक १० गते तत्कालीन सभापति बिपी कोइरालाको निर्देशनमा स्थापित तरुण दलको संस्थापक अध्यक्षमा सिंहध्वज खड्का थिए । त्यसपछि २०१७ साल पुस १ गते तत्कालीन प्रधानमन्त्री बिपीले तरुण दलको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरिरहेका बेला राजा महेन्द्रले सेनाको बलमा सबैलाई थुनेर ‘कु’गरेका थिए ।

राजाले दलमाथि प्रतिबन्ध लगाएका अवस्थामा तरुण दल पनि विघटन हुनपुगेको थियो । २०५४ मा नेपालगन्जमा भएको काँग्रेसको महासमिति भेलामा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गरेका थिए । त्यसपछि तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव र उदयशम्शेर राणा अध्यक्ष भइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ