arrow

वार्षिक १४ हजार नर्स उत्पादन, आधाबढी बेरोजगार

logo
प्रकाशित २०७३ माघ १५ शनिबार
nurselicensing.jpg.jpeg
काठमाडौँ ।  नेपालमा अहिले नर्सिङ पेसा धेरै युवतीको रोजाइको विषय भए पनि उत्पादन अनुसार अवसर नहुँदा हजारौँ नर्स बेरोजगार बस्नु परेको छ । सीटीईभीटीबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट मात्रै देशमा वार्षिक १४ हजार नर्स उत्पादन हुन्छ तर नेपालमा अवसर नहुँदा हजारौँ नर्सले बेरोजगार बन्नु परेको छ भने हजारौंं नर्स विदेशिएका छन् ।
  
दुई वर्षअघि नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट  बीएस्सी नर्सिङ सकेकी रेश्मा लोहनी अहिलेसम्म बेरोजगार छिन् । उनले रोजगारीका लागि धेरै अस्पताल चहारिन् तर कुनै पनि अस्पतालमा जागिर पाउन सकिनन् । 
 
“जुन अस्पतालमा विज्ञापन खुलेको हुन्छ, त्यहाँ गएर आवेदन भ¥यो, पहिले नै पहुँचवाला नर्सहरू भर्ना गर्ने निश्चित भएर मात्र विज्ञापन खोलेको हुने रैछ”, लोहनीले भनिन्, “मसँगै अध्ययन गरेको साथीले पहुँचका कारण जागिर पाइसक्यो, म भने अझै बेरोजगार छु । ” 
 
नेपालमा अवसर नदेखेपछि रेश्मा अब अस्ट्रेलिया जानका लागि तयारी गर्दै छिन् ।  “मैले टोफेल पनि गरिसकेँ, अब अस्ट्रेलियाको तयारी गर्दैछु”, उनले भनिन्, “नेपालमा यही अवस्था आउनेछ भन्ने पहिले नै थाहा पाएको भए नर्सिङभन्दा अन्य कुनै विषय अध्ययन गर्थें । ”
 
यता नेपाल नर्सिङ काउन्सिलकी रजिस्ट्रार लक्ष्मी राई नेपालमा कैयौँ नर्स बेरोजगार बस्नु परेको विषयलाई सरकारको कमजोरीका रूपमा लिन्छिन् । 
 
 “काउन्सिलले लिने लाइसेन्स परीक्षामा वार्षिक १२ हजारभन्दा बढी नर्सले नयाँ लाइसेन्स लिइरहेका हुन्छन्”, रजिस्ट्रार राईले भनिन्, “लाइसेन्स लिएका ती नर्सलाई नेपालमा रोजगारीको अवसर हुँदैन र बेरोजगार भएर बस्नु परेको छ । ” 
 
कतिपय अस्पतालले नर्सलाई न्यूनतम वेतन नदिएको तथा भोलेन्टरी रूपमा राखिएको भन्दै सरकारले नीति बनाएर देशमा कति नर्स आवश्यक छ, अध्ययन गरेर त्यही अनुसार उत्पादन गर्नुपर्ने राईले बताइन् ।  
 
नेपालमा प्रमाणपत्र स्तरको नर्सिङ शिक्षा सक्न छ लाख तथा बीएस्सी नर्सिङ सक्न १० लाख रुपियाँ लाग्ने गर्छ ।  
 
रजिस्ट्रार राईले लाखौँ खर्च गरेर अभिभावकले नर्सिङ अध्ययन गराए पनि रोजगारी पाउन नसकेको तथा पाइहाले पनि छ, सात हजारमा महिनाभरि काम गर्नुपर्ने अवस्था रहेको जानकारी दिइन् । 
 
रजिस्ट्रार राईका अनुसार विदेश जानकै लागि काउन्सिलमा दर्ता भएका नर्सको सङ्ख्या पनि चार हजार पुगिसकेको छ ।  
 
भक्तपुरकी बीना श्रेष्ठ पनि प्रवीणता प्रमाणपत्र तह (पीसीएल)को नर्सिङ सकेर बसेको तीन वर्ष भइसक्यो ।  
 
उनले पनि हालसम्म कुनै पनि अस्पतालमा रोजगारी पाउन सकेकी छैनिन् ।  श्रेष्ठले भनिन्, “कैयौँ अस्पतालमा बायोडाटा दिइसकेँ, अहिलेसम्म कुनै अस्पतालले पनि बोलाएको छैन । ” 
जापानमा अध्ययनका क्रममा पुगेकी लक्षणा दोङले पाँच सयभन्दा बढी नेपाली नर्स जापानमा अध्ययन र काम गरिरहेको जानकारी दिइन् ।  
 
यता अस्ट्रेलियामा अध्ययनका लागि गएकी सङ्गीता खतिवडाले आफू अध्ययन गरेकै कलेजमा २५ जना नेपाली नर्स रहेको जानकारी दिँदै कुल चारदेखि छ सयको हाराहारीमा नेपाली नर्स अस्ट्रेलियामा रहेको बताइन् । 
  
यसअघि स्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा नर्सका समस्या समाधानका लागि कार्यदल गठन हुने भनिए पनि हालसम्म गठन हुन सकेको छैन ।  
 
बेरोजगारी, श्रम शोषण, भोलेन्टिएर, विभेद, तलब नपाउने, बिरामी र नर्सको अनुपात लगायतका विषयमा नेपाल नर्सिङ सङ्घले आन्दोलन गर्दै आइरहेको छ । (गोरखापत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ