arrow

टेनिसका महान् खेलाडी ‘द फेडेरर’, जित्यो दृढ इच्छाशक्तिले

१८ औं ग्राण्डस्लामसहित कीर्तिमान

logo
प्रकाशित २०७३ माघ १६ आइतबार
fedrerer.jpeg
बाबु नेपाली । स्वीटजरल्याण्डका टेनिस खेलाडी रोजर फेडेरर सामान्यतया लजाउँछन् । उनी अड्कल गररै बोल्नदेखि हाँस्नेसम्म काम गर्छन् । उनको सबैभन्दा ठूलो काम नै खेल्नु हो । अनि खेलेको पैसाबाट विभिन्न च्यारिटीमा सहयोग गर्नु । त्यसका लागि उमेरले छेक्दैन भन्ने प्रमाण पनि दिनु नै छ । 
 
फेडेरर ३५ वर्षका भए । अहिले ब्यवसायिक टेनिस खेल्ने खेलाडीमा सबैभन्दा पाका उनै हुन् । उनको मेहनत देखेर अरु पनि नतमस्तक हुन्छन् । त्यतिमात्र होइन उनीसंग प्रतिस्पर्धा गर्ने कतिपय खेलाडीहरु उनले नै खेलेको देखेर टेनिस कोर्टमा उत्रिएकोसमेत बताउँछन् । 
 
त्यसैले त फेडेररले टेनिसको इतिहासमा सबैभन्दा बढी १८ वटा ग्राण्डस्लाम टेनिसको उपाधि जितेका छन् । उनको मेहनत र लगाब त्यतिबेला सलाम योग्य हुन गएको छ जतिबेला उनी पाँच वर्षदेखि ग्राण्डस्लाम जित्नका लागि प्रतिक्षामा थिए । 
 
फेडेररले सन् २०१२ मा जितेको विम्बल्डनपछि कुनै पनि ग्राण्डस्लाम जितेका थिएनन् । खेल्न भने छाडेनन् । उनी जहिल्यै भन्ने गर्थे ‘जुन मेहनत मैले गरिरहेको छु एक दिन अवश्य ग्राण्डस्लाम जित्ने नै छु ।’ दृढ संकल्प गरेपछि कसैको केही तागत लाग्दो रहेनछ । 
 
अन्ततः फेडेररले अष्ट्रेलियन ओपन जिते । त्यो पनि आफ्ना सबैभन्दा पुराना र सदावहार प्रतिद्धन्द्धी स्पेनका रफाइल नदाललाई हराएर । अष्ट्रेलियामा आइतबार राति जीवनकै उत्कृष्ट एवं बहुप्रतिक्षित ग्राण्डस्लाम जितेपछि फेडेरर कोर्टमै धुरुक्कै रोए । उनले खुसीको आँशु नबगाएको धेरै भएको रहेछ । त्यसैले आँशु पनि बर्बर्ती झारे । 
 
साँच्चै उनले खुसीका आँशु बाँडे । उनका प्रशंसकले पनि आँखा गिला पारे । सम्भवतः यो उनको जीवनको टर्निङ प्वाइन्ट हुन सक्छ । लामो समयसम्म विश्व नम्बर एकको ताज पहिरेका फेडेररलाई नदालले विस्थापित पारेका थिए । त्यसपछि लगातार नदालले १४ ग्राण्डस्लाम जिते ।
 
तर पछि सर्वियाका नोभाक जोकोभिच आए । जोकोभिचलाई पनि अहिले बेलायती खेलाडी एन्डी मर्रेले विस्थापित गरेका छन् । खेल यात्राका क्रममा फेडेरर कहिल्यै निराश भएनन् । त्यसैले त उनले नदाललाई ६–३, ३–६, ६–१, ३–६ र ६–३ ले हराए । तीनमध्ये दुई सेट जित्दा उनी उपाधि नजिकै पुगेका थिए ।
 
तर चौथो सेट सजिलै हारेपछि खेल नदालतर्फ गयो । अन्तिम सेटमा ३–१ ले पछि परेपछि फेडेररका प्रशंसक पूरै निराश भइसकेका थिए । तर फेडेररको इच्छाशक्तिमा कुनै कमी थिएन । फेरि खेलमा फर्किए र अन्ततः निर्णायक सेट ६–३ ले जिते ।
 
अष्ट्रेलियन ओपनमा यसअघि कहिल्यै हराउन नसकेका फेडेररले यसपटक नदाललाई नराम्रैसंग जीवनभर नभुल्ने गरी हराए । बलले भन्दा बुद्धिले बढी खेल्ने फेडेररले त्यही बुद्धि लगाए नदालविरुद्ध पनि अन्तिम सेटमा । 
 
नदाललाई हराएर उनले पाँच पटक अष्ट्रेलियन ओपन जितेको कीर्तिमान रचे । तीन वटा फरक फरक ग्राण्डस्लाममा पाँच पाँच वटा ग्राण्डस्लाम जित्ने कीर्तिमान उनै फेडेररको नाममा रहेको छ । उनले विम्बल्डन टेनिस सात पटक तथा अष्ट्रेलियन र युएस ओपन पाँच पाँच पटक जितेका छन् ।
 
फ्रेन्च ओपनमा केही कमजोर फेडेररले एक पटकमात्र जितेका छन् । फेडेररको महानता त्यतिबेला झल्कियो जतिबेला उनले ट्रफी जितेपछि प्रतिक्रिया दिए । उनले भने, ‘टेनिस निकै प्रतिस्पर्धात्मक खेल हो । टेनिसमा बराबरी कहिल्यै हुँदैन । यदि बराबरी हुने भएको भए आज मैले खुसीसाथ रफासंग ट्रफी बाँड्ने थिएँ ।’ 
 
दुवै खेलाडी कोर्टका सबैभन्दा बढी प्रतिद्धन्द्धी हुन् । तर बाहिर उनीहरु व्यवहारिक छन् । फेडेररले थपे, ‘चार पाँच महिना अगाडि हामीले एकआपसमा भेट्यौं नदालको एकेडेमीमा । तर हामीले फाइनलमा भिड्छौं भनेर सोचेनौं । फाइनलमा नदाल आएकामा खुसी छु । सायद फाइनल हार्दा पनि खुसी नै हुन्थे हुँला ।’
 
फेडेररको यही कलाले नै उनका यो शताब्दीमा सबैभन्दा बढी प्रशंसक छन् ।
 
सलाम फेडेरर । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ