arrow

बैंकहरु आफ्नै चलखेलले धरापमा पर्दै !

घर, जग्गा, गाडी, अधिविकर्शमा गरेको अनियन्त्रित लगानीले ‘क्रेडिट क्रन्च’

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
baink-news-aa.jpeg

काठमाडौं । बैंकहरु आफैले चलाएको मुनाफा वृद्धि अभियानकै  कारण क्रेडिट क्रन्चको मारमा परेका छन् । सरकारी स्वामित्व र केही बहुराष्ट्रिय वाणिज्य बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार गर्ने क्षमता धरापमा परेको छ ।

यो अवस्थालाई बैंकरहरुले क्रेडिट क्रन्च भन्ने गरेका छन् । क्रेडिट क्रन्चले सबभन्दा पहिले बैंकहरुको खराब कर्जा बढाउनुका साथै विगतमा सस्तो व्याजदरमा ऋण लिएका व्यक्तिको ब्याजदर बढ्न जान्छ । पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले पहिले त बंैकहरुले तरलता अभावको पुष्टी गरेर देखाउनु पर्ने बताएका छन् ।

पूर्व गभर्नर क्षेत्रीले भने, ‘बजारमा तरलताको अभाव भए नभएको तत्काल औपचारिक पुष्टी गरिनु पर्छ ।’ यद्यपि, बाणिज्य बैँकहरुले थप लगानी गर्न रकम अभाव भइरहेको गीत गाइरहेका छन् । बाणिज्य बैंकहरुले घर, जग्गा, गाडी, अधिविकर्श र पूँजी बजारमा गरेको अनियन्त्रित लगानीका कारण बजारमा तरलता अभाव भएकाे बताइँदैछ ।

अर्थविद् चन्द्रमणि अधिकारीले भनेका छन्, ‘बैंक आफैले अवलम्बन गरेको मुनाफा वृद्धि अभियानका कारण क्रेडिट क्रन्चको मारमा परेका हुन् ।’ अर्थविद् अधिकारीका अनुसार विगतमा अनुत्पादनशील क्षेत्रमा लगानी र ब्याजमा गरिएको चलखेलका कारण बैंकहरुले लगानी र प्रतिफलबीच सम्न्वय गर्न नसकेका हुन् ।

बैंकहरु आफुले कर्जा दिँदा धेरै नाफा लिन खोज्ने र निक्षेप संकलनमा अत्यन्त न्यून ब्याज दिने गलत रणनीतिमा रहेको समेत अर्थविद् अधिकारीको भनाई छ । अधिकारीले यो तरलता भन्दा पनि कर्जा संकट हो भन्दै अगाडि भने, ‘ कतिपय बैंकले मुनाफा बढी हेर्ने, कर्जालाई सुरक्षित ढंगले नलैजाने, उत्पादनशील क्षेत्रमा त्यत्ति लगानी नगर्ने, अनुत्पादनशील क्षेत्रमा बढी लगानी गर्ने, निक्षेपमा त्यही ढंगको ब्याज दिन तयार नहुने र मुनाफाप्रति बढी आकर्षित हुने क्रम बढेकै कारण यो समस्या आएको हो ।’ हिजो बैंकहरु पूँजी वृद्धि नगर्दाको अवस्थामा जति प्रतिशतले मुनाफा लिइरहेका थिए, अधिकारीले थपे, ‘अहिले पूँजी वृद्धि भएको अवस्थामा पनि त्यही अनुपातमा मुनाफा लिने ढंगले काम गरिरहेका देखियो ।’

अर्थविद् अधिकारीले कर्जा र निक्षेपबीचको अनुपातमा बैकले ८० प्रतिशतसम्म लगानी गर्न पाउने पनि बताएका छन् । सरकारी स्वामित्व भएका बैंकहरु अहिले पनि ठिकै अवस्थामा छन्, अधिकारीले भने, ‘निजी क्षेत्रको लगानीमा सञ्चालित बैंकहरुले नगद नै भुक्तानी गर्न नसक्ने अवस्था आइसकेको भन्ने होइन । यद्यपि, लगानी गर्ने क्षमता भने कम भएकै हो । बैंकहरुले आफूलाई रणनीतिक हिसाबले अगाडि बढाएर निक्षेप र कर्जाबीचको सन्तुलन कायम गर्न नसक्नु मुख्य कारण हो ।’

यस्तै, राष्ट्र बैंकले उचित निगरानी, अनुगमन, सुपरिवेक्षण र बैंकहरुलाई नियमन गर्न नसकेको अर्थविद् अधिकारीको भनाई छ ।  बैंकहरु धेरै नाफामुखी हुने गरेपनि नाफा कमाउनका लागि सन्तुलित ढंगले अगाडि बढेका छैनन् । अधिकारीले थपे, ‘३० प्रतिशतको लगानी वृद्धि भएको भन्ने ठाउँमा  अर्थतन्त्रमा त्यसको केही न केही त प्रभाव रहन्थ्यो । त्यो देखिएन । आर्थिकवृद्धिदरलाई त्यसले सर्पोट गर्नु पर्ने र रोजगारीलाई पनि कहीँ कतै सर्पोट गरेको देखिनु पर्ने त्यो देखिएन ।’

मुद्दती निक्षेपमा व्यक्तिगत १२ र संस्थागत १३ प्रतिशतसम्म ब्याज वृद्धि हुँदा पनि बचतमा बैंकहरुले ब्याज नबढाएर कार्टेलिङ गरिरहेका छन् । अभावका बेला समेत बैंकहरुले बचतको ब्याज वृद्धिमा चलखेल गर्न खोजिरहेका छन् । राष्ट्र बैंकले यथार्थ कुराको समयमै मूल्यांकन गर्ने र २ महिना अघिको प्रक्षेपण गर्नसक्ने क्षमता राख्नु पर्ने विज्ञहरुको धारणा छ । मूल्याङ्कनमा राष्ट्र बैंक चुक्न नहुने पनि विज्ञले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ