arrow

संविधान कार्यान्वयनमा संचारमाध्यमको भूमिका खोजे प्रधानमन्त्रीले

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
PM-NTV-PRO.jpeg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनसँगै स्थानीय निकायको निर्वाचनमा सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्न सञ्चारमाध्यमसँग अपिल गरेका छन् । नेपाल टेलिभिजनको ३२औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले संविधानको संशोधनसँगै स्थानीय निकायको निर्वाचन गर्ने सरकारको योजनामा सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्न अनुरोध गरे ।

‘हामी संविधान कार्यान्वयनको अत्यन्त महत्वपूर्ण चरणमा छौँ, संविधानप्रतिको स्वीकार्यतालाई बढाउन संशोधनको प्रक्रिया अगाडि बढाइएको छ, संविधान कार्यान्वयनसँगै सिङ्गो मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सञ्चारमाध्यमको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ’–प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री दाहालले २०४१ सालमा परियोजनाको रूपमा स्थापित भई २०४२ सालबाट नियमित प्रसारण सुरू गरेको नेपाल टेलिभिजनले अबका दिनमा सरकार र जनताबीचको पुलको रूपमा काम गर्दै जाने विश्वास गरे । प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको मूल्य र मान्यताअनुसार सञ्चारमाध्यमको निष्पक्षता, सम्पादकीय स्वतन्त्रताको राज्यले सधैँ सम्मान गर्दै आएको समेत प्रस्ट पारे ।

नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरको शुभारम्भ गर्दै आमजनतालाई सूचना तथा जानकारी उपलब्ध गराउने सन्दर्भमा नेपाल टेलिभिजनले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । त्यसैगरी टेलिभिजन डिजिटललाइजेसनको शुभारम्भ गर्दै प्रधानमन्त्रीले डिजिटलाइजनसँगै नेपाल टेलिभिजनको गुणस्तरीयतामा समेत विस्तार हुने विश्वास लिए ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सहर केन्द्रितभन्दा पनि ग्रामीण क्षेत्रका विशेषगरी उत्पीडित समुदायका सवाललाई आम सञ्चारमाध्यमले उठान गर्नुपर्नेमा जोड दिए । मुख्यसचिव सोमलाल सुवेदीले नेपाल टेलिभिजनले व्यावसायिक प्रतिस्प्रर्धासँगै दुरदराजका मानिसका अनुहारलाई टिभीसम्म ल्याउनुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ