arrow

१८ मेगावाट क्षमताको सोलुखोला जलविद्युत् आयोजनामा छ बैंकको लगानी

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
hydropower-plant-usbr-hoover-1.jpg.jpeg
काठमाडौँ । माथिल्लो सोलुखोला जलविद्युत् आयोजनामा एनएमबी बैंकको अगुवाइमा छ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा आयोजनाको प्रवद्र्धक बेनी खोला पावर प्रोजेक्ट र बैंकबीच ऋण सम्झौतामा हस्ताक्षर भयो । 
 
सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल र प्रवद्र्धकका तर्फबाट प्रोजेक्टका अध्यक्ष पिबी शेर्पाले हस्ताक्षर गरे । 
 
कुल १८ मेगावाट क्षमताको सो आयोजनामा एनएमबी बैंकको अगुवाइमा रु दुई अर्ब २८ करोड लगानी हुने बताइएको छ । 
 
आयोजनाको लागत रु तीन अर्ब २६ करोड रहने छ, जसमा रु ९८ करोड प्रवद्र्धको लगानी रहेको छ भने बाँकी रकम बैंक तथा वित्तीय संस्थामार्फत ऋण लिइएको हो । 
 
आयोजनामा नेपाल बङ्गलादेश बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, विभोर विकास बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गरेका छन् । 
 
कार्यक्रममा नेपाली काँग्रेसका नेता बलबहादुर केसी, नेकपा एमालेका सचिव योगेश भट्टराई, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य लक्की शेर्पा, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंलगायतले शुभकामना व्यक्त गरे । 
 
सोलुखुम्बु जिल्लाको बेनी गाविसमा आयोजनास्थल छ । नदी प्रवाहमा आधारित उक्त आयोजनाबाट वार्षिक १२ करोड ८० लाख युनिट विद्युत् उत्पादन हुने छ । 
 
आयोजना २०७६ माघ १ गते सम्पन्न गर्ने गरी प्रवद्र्धक र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिदबिक्री सम्झौता सम्पन्न भएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ