arrow

विद्यालयलाई ३० लाखको जग्गादान, विद्यालय परिसरमा अर्धकदको सालिक

logo
प्रकाशित २०७३ माघ १८ मंगलबार
education.jpeg
बाबियाचौर । बेनी नगरपालिका–१३ तातोपानीमा रहेको सरस्वती माविलाई एक दम्पतीले रु ३० लाख मूल्य बराबरको जग्गा उपलब्ध गराएका छन् । विद्यालयको शैक्षिक एवम् भौतिक विकासका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले गत बिहीबारदेखि सञ्चालित महायज्ञ तथा धार्मिक, शैक्षिक महोत्सवको अवसरमा जग्गा सहयोग प्राप्त भएको हो । 
 
तातोपानी फापरखेत घर भई हाल चितवन टाँडी निवासी टुङ्गलाल अधिकारी र उनकी श्रीमती तारा अधिकारी शर्माले सोमबार करिब दुई रोपनी जग्गादान गर्नुभएको मूल आयोजक समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । 
 
स्थानीय मूल्यांकन अनुसार सो जग्गाको मूल्य रु ३० लाख कायम गरिएको छ । जग्गादाता अधिकारी दम्पतीलाई विद्यालय तथा महायज्ञ आयोजकको तर्फबाट सम्मान गरिएको थियो । 
 
विद्यालय परिसरमा अधिकारीको अर्धकदको सालिक र परिवारका सदस्यको नामावली विवरण रहेको ताम्रपत्र राख्ने निर्णय भएको छ । 
 
यसैगरी, सिङ्गा तातोपानी शैक्षिक एवम् धार्मिक महोत्सव तथा महायज्ञको पाँचौँ दिन सोमबारसम्म जिन्सीबाहेक रु ३८ लाख ८५ हजार सहयोग सङ्कलन भएको प्रचारप्रसार उपसमितिका संयोजक विक्रम बुढाथोकीले जानकारी दिए । सोमबार रु १७ लाख १७ हजार १३ नगद सहयोग प्राप्त भएको हो । 
 
माघ २० गतेसम्म सञ्चालन हुने महायज्ञमा पण्डित नारायण न्यौपानेले कथावाचन गरिरहेका छन् । 
 
सरस्वती माविमा प्राविधिक शिक्षाको विस्तार गर्ने, कक्षा ११ र १२ को पठनपाठन सञ्चालन र शैक्षिक तथा भौतिक विकासका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले महोत्सव सञ्चालन गरिएको व्यवस्थापन समितिका अध्यक्ष विष्णुदत्त उपाध्यायले बताए । 
 
सत्रजना शिक्षक, शिक्षिका कार्यरत विद्यालयमा पाँचजना मात्र दरबन्दीका छन् । १२ जनाको तलब निजी स्रोतबाट व्यवस्थापन हुँदै आएको छ । विद्यालयमा तीनसय २० जना भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ