arrow

माथिल्लो खोरुङ्गाखोला जलविद्युत् आयोजना निर्माण सुरु

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
Hydro-Power.jpg.jpeg
तेह्रथुम । साढे सात मेगावाट क्षमताको खोरुङ्गाखोला जलविद्युत् आयोजनाको निर्माण सुरु गरिएको छ । मोराहाङ–४ मा निर्माण हुने उक्त आयोजनाको बुधबार सांसद भवानीप्रसाद खापुङले शिलान्यास गरे। आयोजनाको प्रवद्र्धक तेह्रथुम पावर कम्पनीले आगामी २०७६ मङ्सिरभित्र आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । 
 
आयोजनाको कुल लागत १ अर्ब ३७ करोड छ । कम्पनीका कार्यकारी निर्देशक मोहनकुमार डाँगीका अनुसार आयोजनामा माच्छापुच्छ्रे बैंकको अगुवाइमा नेपाल बङ्गलादेश बैंक र जनता बैंकले रु एक अर्ब लगानी गरेका छन् भने ३७ करोड प्रभावित क्षेत्रका बासिन्दा, स्थानीय र प्रवद्र्धक कम्पनीले लगानी गर्नेछन् । आयोजना निर्माणपछि जिल्लाका सबै गाविसमा बिजुली पुग्ने कम्पनी अध्यक्ष भूपतिलाल श्रेष्ठले बताए । 
 
नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच गत मङ्सिर १ गते विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) भइसकेको छ । उक्त आयोजनाबाट उत्पादित बिजुली प्राधिकरणले हिउँदमा ८ रुपैयाँ ४० पैसा र वर्षामा ४ रुपैयाँ ८० पैसामा किन्ने सम्झौता भएको छ । आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनको तेह्रथुम वितरण केन्द्रस्थित ट्रान्समिटरमा जडान गरिनेछ । 
 
जिल्लाका सम्दु, खाम्लालुङ, सङ्क्रान्ति बजार, थोक्लुङ, चुहानडाँडा, छातेढुङ्गा, इवा र ह्वाकु गाविसमा अझै पनि केन्द्रीय प्रसारणको विद्युत् सुविधा पुगेको छैन । सो अवसरमा सांसद खापुङले आयोजना निर्माणले जिल्लालाई विद्युत्भार कटौतीमुक्त बनाउनाका साथै आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ