arrow

वित्त बजारमा तरलता अभाव छैन : राष्ट्र बैंक

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
bank-of-nepal-rasta-bank-602x400.jpg.jpeg
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वित्त बजारमा तरलता अभाव नरहेको स्पष्ट गरेको छ । नेपाल बैंकर्स सङ्घले बुधबार आयोजना गरेको कार्यक्रममा केन्द्रीय बैंकले वित्त बजारमा लगानी योग्य रकमको अभाव नरहेको बताएको हो । 
 
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले वित्त बजारमा  ३० अर्ब लगानी योग्य रकम रहेको बताए । “ठूला विकास परियोजनामा लगानी गर्न पर्याप्त रकम नभएको होइन त्यसको उचित व्यवस्था हुन नसकेको हो,” उनले भने । 
 
अधिकभन्दा अधिक निक्षेप आकर्षित गर्न बचत खातामा प्रदान गर्दै आएको ब्याजदर बढाउन आग्रह गर्दै उनले उत्पादकत्व बढाउने क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्था चनाखो हुनुपर्नेमा जोड दिए । केन्द्रीय बैंकले विकासका आयोजनाको काममा अवरोध हुन नदिन पुनर्कर्जाको व्यवस्थासमेत गरेको उनले जानकारी दिए । 
 
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले देशको आर्थिक विकासको संवाहक निजी क्षेत्रलाई कर्जा प्राप्तिमा कठिनाइ भएको गुनासो गर्दै बैंक तथा वित्तीय संस्थाले पर्याप्त कर्जा प्रवाह गर्न नसकेका बताए । जथाभावी ब्याजदर नबढाउन आग्रह गर्दै उनले नुन तेल बेचेजसरी बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न नसकिनेमा जोड दिए । 
 
सङ्घका अध्यक्ष अनिलकेशरी शाहले निक्षेपकर्ताले बचत गरेको रकम उनीहरुलाई फिर्ता दिन बैंक तथा वित्तीय संस्थासँग पर्याप्त रकम भए पनि ठूला विकास आयोजनामा लगानी गर्न बैंकहरुसँग रकम अभाव रहेको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ