arrow

सरकारले निःशुल्करुपमा स्वास्थ्य संस्थामार्फत वितरण गर्ने औषधि खरिद नगर्दा समस्या

logo
प्रकाशित २०७३ माघ २१ शुक्रबार
Salyan-hamrakura.jpg.jpeg
सल्यान । सरकारले निःशुल्करुपमा स्वास्थ्य संस्थामार्फत वितरण गर्ने औषधि खरिद नगर्दा समस्या देखिएको छ । विगत दुई वर्षदेखि केन्द्रबाट आपूर्ति गर्ने औषधि खरिद नभएपछि जिल्लाका स्वास्थ्य संस्थामा औषधि वितरणमा कठिनाइ भएको हो । 
 
जिल्ला स्वास्थ्य कार्यालय, सल्यानले दिएको जानकारीअनुसार जिल्ला स्वास्थ्य कार्यालयले कुल मागको २० प्रतिशत मात्र औषधि खरिद गर्न पाउने भएकाले बाँकी औषधि आपूर्तिका लागि केन्द्र तथा क्षेत्रमा भर पर्नुपर्ने भएको हो ।
 
“सरकारले निःशुल्करुपमा वितरण गर्ने भनिएका ७० प्रकारका औषधिको कुल मागको ५० प्रतिशत केन्द्र, ३० प्रतिशत क्षेत्र र बाँकी २० प्रतिशत जिल्लाबाट खरिद गर्ने व्यवस्था छ, जिल्लाले मात्रै खरिद गरेर आपूर्ति गर्न सक्दैन । 
 
केन्द्र र क्षेत्रबाट आउने औषधि विगत दुई वर्षदेखि अनियमित भएको छ”, जिल्ला जनस्वास्थ्य प्रमुख डा मनिषा रावलले भने । 
 
केन्द्र तथा क्षेत्रबाट औषधि प्राप्त नभए पनि जिल्लामा औषधिको अभाव हुन नदिने जनस्वास्थ्य प्रमुख डा रावलले जानकारी दिए । 
 
“हाल जिल्लाका दुई प्राथमिक स्वास्थ्य केन्द्रसहित सबै स्वास्थ्य संस्थामा आगामी दुई महिनाका लागि पुग्ने औषधि हस्तान्तरण भइसकेको छ, मन्त्रालयबाट औषधि खरिदका लागि थप रु १० लाख प्राप्त भएकोमा सोको टेन्डर पनि भइसकेको छ”, रावलले भने । आगामी दुई महिनाका लागि पर्याप्त औषधि स्वास्थ्य संस्थामा उपलब्ध गराइएको त्यसपछि के हुन्छ भन्ने कुरा अहिले नै भन्न नसकिने रावलले जानकारी दिए । 
 
सरकारले निःशुल्क रुपमा वितरण गर्ने औषधि पाउनबाट सर्वसाधारण वञ्चित हुनुनपरोस् भनेर आफूले सक्दो प्रयास गरेको रावलले जानकारी दिए ।
 
“जिल्लामा औषधि अभाव हुन नदिन संस्थागत तथा व्यक्तिगत रुपमा प्रयास गरेको छु, जसको परिणामस्वरुप थप रकम प्राप्त भएको छ”, रावलले भने । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ