arrow

सामुदायिक विद्यालयको गुणस्तर सुधार हुनुपर्छ : राष्ट्रपति भण्डारी

logo
प्रकाशित २०७३ माघ २२ शनिबार
Bidhya.jpg.jpeg

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा राज्यले गरेको लगानीको प्रतिफल जनताले पाउनुपर्ने बताएकी छन् । रुपन्देहीको ग्रामीण क्षेत्रमा रहेको हरैया माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहको शनिबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले शिक्षा क्षेत्रको विकासका लागि राज्यले लगानी वृद्धि गनुपर्नेमा जोड दिइन् ।

शान्ति, विकास र आपसी भातृत्वलाई शिक्षाले प्रभाव पार्ने भएकाले बालबालिकालाई यसै किसिमको शिक्षा प्रदान गर्नुपर्ने समेत भण्डारीको भनाइ छ ।  ‘‘देशको अधिकांश विद्यार्थीहरूको पढ्ने सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी रोजगारमूलक शिक्षा प्रदान गर्न आवश्यक छ” राष्ट्रपतिले भनिन् ।
 
राष्ट्रपति भण्डारीले राष्ट्रिय विकासको प्रमुख आधार शिक्षा भएको भन्दै मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेकामा जोड दिइन् । राष्ट्रपति भण्डारीले भनिन्, ‘राज्यले कूल बजेटको जम्मा ४/५ प्रतिशत रकम मात्र शिक्षा क्षेत्रमा बिनियोजन गरेको अवस्थामा व्यावहारिक र जीवनोपयोगी शिक्षामा राज्यले लगानी बढाउन आवश्यक छ ।’

राष्ट्रपति भण्डारीले मुलुकमा पर्यटन विकासका लागि छिट्टै लुम्बिनी गुरूयोजना, निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध परिपथको काम सम्पन्न गर्न आवश्यक रहेको बताउँदै भनिन्, ‘लुम्बिनी विश्व शान्तिको मुहान हो, यसको प्रचार–प्रसार गरी विश्वका पर्यटकलाई भ्रमण गराउनुपर्छ ।’

सामाजिक विकृति र विसङ्गतिको अन्त्य गर्न सबै पक्ष जागरुक र सचेत हुनु जरुरी रहेको बताउँदै बाल हिंसा, दाइजो प्रथा र महिला हिंसा अन्त्य गर्ने अभियानमा यहाँका महिलाको प्रयत्न स्मरणयोग्य रहेको भण्डारीले बताइन्  । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ